समाज

साउदी राजकुमार फैसलको भ्रमण: वैदेशिक रोजगारबारे नेपालले उठाउनुपर्ने विषय

अतिन आचार्य |
चैत १, २०७८ मंगलबार ९:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- साउदी राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउद दुईदिने औपचारिक भम्रणका लागि काठमाडौँमा छन्। त्रिभुवन विमानस्थलमा राजकुमारसहित विदेश मन्त्री साउदलाई सोमबार परराष्ट्र सचिव भरत पौड्यालले स्वागत गरेका थिए । आज दिउँसो साउदी विदेश मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार मंगलबार बिहान उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन् । भेटवार्तापछि नेपाल र साउदी अरबबीच जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।


साउदी अरब नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो । १३ वर्षमा साउदी अरबमा सात लाख बढी नेपाली कामदार रोजगारीका लागि गएका छन् । खाडी मुलुकमध्ये साउदी अरब पनि वैदेशिक रोजगारीका लागि नेपाली कामदार जाने गरेका छन् । मलेशिया, युएईपछि साउदीमा बढी नेपाली कामदार रहेको मानिन्छ । वर्षेनि १० हजार भन्दा बढी नेपाली कामदारले साउदीका लागि नेपाली भूमि छोड्ने गरेको सरकारी तथ्यांकले देखाउँछ ।

मेशन, ब्लक मेकर, प्लास्टरमेन, कार्पेन्टर, मेकानिकल हेल्पर, इलेक्ट्रिकल हेल्पर, स्टिल पिक्स्चर, टायल फिक्स्चर, प्लम्बर, पाइप फिटर, वेल्डर, स्काफोल्डर, एसी मेकानिक, लाउन्ड्री म्यान, वासर मेन, शप एसिष्टेन्स, सेक्युरिटी म्यान, वेटर, अस्सिटेन्ट कुक, सेल्स म्यान र इलेक्ट्रिसियनलगायतका नेपाली कामदार जाने गरेका छन् । 

साउदीमा कतिपय कामदारले समयमा पारिश्रमिक नपाउने जस्ता समस्याहरू यथावत छन् । भारत, श्रीलङ्का, पाकिस्तान, फिलिपिन्सलगायत देशका कामदारका तुलनामा नेपाली कामदारको न्यून पारिश्रमिक प्राप्त गर्छन् ।

साउदीमा काम गर्न जाने अदक्ष कामदारले साउदी रियाल १ हजार रियल भन्दा कम पारिश्रमिक पाउने गरेका छन् । कामको प्रकृतिअनुसार उनीहरूको पारिश्रमिक थोरै रहेको श्रमिकले गुनासो गर्छन् । 

साउदी अरब जाने नेपाली कामदारले न्यूनतम पारिश्रमिक ३० हजार पाउनुपर्ने सरकारले निर्णय गरेको थियो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरबमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्ने प्रस्ताव तयार पारी मन्त्रिपरिषद्को बैठकमा पेश गरेको थियो । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको विशेष सक्रियतामा मन्त्रालयले उक्त प्रस्ताव तयार भएको थियो । 

कार्यस्थलमा मृत्यु, काम गर्दागर्दै घाइते भएका कामदारले उचित उपचारखर्च पाउन लामो समयसम्म कुर्नुपपर्ने बाध्यता छ । श्रमिकले उचित पारिश्रमिक पाएका छैनन् । नेपालबाट व्यवसायीले कामदार पठाउने गरे पनि उनीहरूले भने जस्तो काम नपाउदा श्रमिकहरू मर्कामा परिरहेका छन् ।

 साउदी राजकुमार तथा विदेशमन्त्री फैसलले आज परराष्ट्र मन्त्री डा. नारायण खड्काले विशेष भेटवार्ता गर्ने कार्यक्रम रछ । भेटमा वैदेशिक रोजगारमा गएका नेपालीहरूको गुनासो र समस्या पनि उठाउनुपर्ने देखिन्छ ।

रेमिट्यान्सले चलेको मुलुकमा नेपालीहरूको सुरक्षामा सरकारले चासो र चिन्ता लिनुपर्ने उनीहरू कामदारहरू बताउँछन् । कामदारले पाउने तलब सरकारले निर्धारण गरे अनुसार भए/नभएकोबारे पनि छलफल हुनुपर्ने उनीहरूको भनाइ छ । 

आजको मन्त्रीस्तरीय भेटवार्तामा नेपाली कामदारको लागि रोजगारी साउदी मुख्य गन्तव्य रहेकाले वार्तामा कुरा समेटिने मन्त्रालयका एक उच्च अधिकारीले बताए । नेपाली कामदारले भोगिरहेका समस्याको विषयमा उठान हुन सक्ने उनको भनाइ छ ।

'साउदीका मन्त्रीसँग नेपालको विभिन्न आयामका विषयमा छलफल हुन्छ,' ती अधिकारीले भने,' मुख्यतया नीतिगत छलफल हुनेछ । वार्तामा वैदेशिक रोजगारको विषयमा पनि कुरा उठ्छ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x