समाज

श्रममन्त्री श्रेष्ठ आबुधावीमा, आज नेपाल-युएई संयुक्त समितिको बैठक हुँदै

इकागज |
चैत १, २०७८ मंगलबार १०:५४ बजे

काठमाडौँ- नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज यूएईको राजधानी आबुधावीमा हुँदैछ । नेपाल-युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा.अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नेछन् ।

उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम-सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ भने यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे पनि छलफल हुनेछ ।


वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायतका विषयमा पनि छलफल हुनेछ ।  साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरूको समस्या समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।

श्रममन्त्री श्रेष्ठ र युएईका समकक्षीबीच भेटवार्ता हुँदै

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा.अव्दुलरहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्‍न आयामबारे छलफल हुनेछ । सो अवसरमा मन्त्री श्रेष्ठले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे आफ्ना समकक्षीसँग छलफल गर्नुहुनेछ ।

मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार युएईको राजधानी आबुधाबी आइपुगेको हो । आबुधाबी विमानस्थलमा मन्त्री श्रेष्ठ नेतृत्वको टोलीलाई संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए । बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नेछन् ।


Author

थप समाचार
x