समाज

साउदी विदेश मन्त्री फैसलले नेपाली कामदारको बारेमा के भने ?

' मृत्युदण्ड पाएका नेपालीले छुट नपाउने, जेलमा रहेका राहत पाउन सक्ने '

अतिन आचार्य |
चैत १, २०७८ मंगलबार १९:५६ बजे

काठमाडौँ- साउदी राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउदले दक्ष नेपाली कामदार पठाउन आग्रह गरेका छन् । नेपालको दुई दिने भ्रमणका क्रममा नेपाल आएका साउदले मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खडकासँग भेटघाटमा उनले नेपाली कामदारहरू इमान्दारी हुने भनेर प्रंशसासमेत गरेका थिए ।

'साउदी अरबको विकासमा नेपालीको ठूलो योगदान रहेको विदेश मन्त्री साउदले जनाएका थिए,' फैसलको भनाइ उदृत गर्दै परराष्ट्रमन्त्रीको भेटवार्तामा सहभागी श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले भने,' अदक्ष कामदार नपठाउनुहोस । सीप सिकाएर मात्र कामदार पठाउनुहोस ।'


साउदी अरब रोजगार नेपाली कामदारका लागि आकर्षक गन्तव्यस्थल मानिन्छ । दैनिकजसो साउदीका लागि एक हजार बढीले नेपाली भूमि छोड्ने गरेका थिए । कोभिड-१९ महामारी पछि वैदेशिक रोजगारीमा जानेको कमी आएको थियो । पछिल्लो समय संक्रमणको संख्या घटेपछि बिस्तारै सहजै हुँदै गइरहेको छ ।

भेटवार्तामा फैसलले नेपाली कामदारलाई सीप सिकाउन तालिम केन्द्र खोलेर दक्ष बनाउन आग्रह गरेका थिए । अदक्ष कामदारहरूका लागि साउदीमा असहज हुने गरेको फैसलले जानकारी दिएको उनले बताए । तालिम केन्द्रमा सीप मात्र नसिकाइ त्यहाँको संस्कृति पनि सिकाएर पठाउनलाई उनले जोड गरे ।

साउदीको जेलमा रहेका नेपाली कामदारलाई रिहा गर्न परराष्ट्रमन्त्री खड्काले फैसलसँग आग्रह गरेका थिए । उनले फैसलसँग नेपाली कामदारको लागि साउदीमा कोटा संख्या बढाउनलाई प्रस्ताव गरे ।

भेटवार्तामा मृत्युदण्ड पाएका नेपाली कामदारलाई छुट दिने विषयमा कुरा नभएको सहसचिव घिमिरेले जानकारी दिए । ज्यान मारेको विषयमा उनीहरूले कुरा गर्न नचाहेको उनले बताए ।

साउदी राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउद दुईदिने औपचारिक भम्रणका लागि काठमाडौँमा छन् । त्रिभुवन विमानस्थलमा राजकुमारसहित विदेश मन्त्री साउदलाई सोमबार परराष्ट्र सचिव भरत पौड्यालले स्वागत गरेका थिए ।

आज दिउँसो साउदी विदेश मन्त्री साउदले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । बिहान उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग द्विपक्षीय वार्ता गरेका छन् । भेटवार्तापछि नेपाल र साउदी अरबबीच जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर भएको थियो ।

यो पनि

साउदी राजकुमार फैसलको भ्रमण: वैदेशिक रोजगारबारे नेपालले उठाउनुपर्ने विषय

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x