समाज

रेड कर्नर नोटिस जारी गरेर दुबईबाट दलाललाई घिसारेर लान्छु : मन्त्री श्रेष्‍ठ

इकागज |
चैत २, २०७८ बुधबार १२:१० बजे

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले युएईमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र पार्ने व्यक्तिलाई कारबाही गरिने बताएका छन् । मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग गरेको अन्तरक्रियामा उनले केही दिनमा नेपाली नागरिकलाई अलपत्र पार्ने दलाललाई घिसारेर लैजाने बताए ।

'रेड कर्नर नोटिस जारी गरेर दुबईबाट दलाललाई घिसारेर लान्छु,' मन्त्री श्रेष्ठले भने,' भिजिट भिसामा ल्याएर अलपत्र पार्ने  हाम्रो नेपालीहरू हुन् । यहाँका शेखले ल्याएका होइनन् ।'


मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा युएईबाट नेपाल झिकाउने तयारी गरिएको बताए ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइसकेको उनले बताए । गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि नजोगिने उनको ठहर छ ।

नेपाली नागरिकलाई अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भनेर श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएका थिए ।

नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका डिएसपीलाई पनि सहभागी गराएको उनले बताए ।

मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्न आफूले युएई सरकारसँग पनि आग्रह गरेको बताए । अलपत्र परेका नेपालीहरूलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई उनले आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरूलाई नेपाल फिर्ता गर्न युएई सरकारसँग सहयोगको आग्रह गरेको बताए  ।

 


Author

थप समाचार
x