समाज

साढे तीन दशकपछि नेपाल र सिसेल्सबीच श्रम सम्झौता गर्ने सहमति

इकागज |
चैत ४, २०७८ शुक्रबार २१:२० बजे

काठमाडौँ-  नेपाल र गणतन्त्र सिसेल्सबीच श्रम सम्झौता हुने सहमति भएको छ  ।

श्रम,रोजगार तथा सामाजिक मामिला मन्त्री कृष्णकुमार श्रेष्ठ र​ प्याट्रिका फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई ट्ङ्गोमा पुर्‍याउन संयुक्त कार्यदल गठन गर्ने सहमति समेत भएको छ  ।


गणतन्त्र सिसेल्सको भ्रमणमा रहेका श्रेष्ठले प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गरेका थिए  । द्विपक्षीय भेटवार्तामा उनीहरूबीच नेपाल र सिसेल्सको द्वि​पक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको हाे ।

न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्ती लगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्नेछ । कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा‍. थानेश्वर भुषालले नेतृत्व गर्ने बताइएकाे छ ।

वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरू लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिएका थिए । सिसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताएका थिए ।

अहिले १  हजार २ सय ५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेका छन् । मन्त्री फ्यानकोटले सिसेल्स सरकार द्विपक्षीय श्रम सम्झौता गरेरै नेपालीहरुलाई ल्याउन इच्छुक रहेको बताएका थिए । सिसेल्समा सुरक्षागार्डका रुपमा धेरै नेपाली कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही श्रमिकहरु कार्यरत छन् ।

द्विपक्षीय भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाको साथै सिसेल्सको प्रहरी सेवामा पनि नेपालीहरुलाई रोजगारी दिन सकिने बताएका थिए । नेपाल र सिसेल्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।


Author

थप समाचार
x