समाज

काठमाडौँमा लिफ्टसहितका आकाशे पुल आवश्यक

सुरेन्द्र बजगाईं |
चैत ५, २०७८ शनिबार १७:५८ बजे

ग्राफिक्स : यमन मानन्धर

काठमाडौँ– निर्माण सम्पन्न भएको डेढ वर्षपछि माइतीघरको आकाशे पुल काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन् । स्थानीय चुनाव नजिकिँदै गर्दा मेयर शाक्य विभिन्न आयोजनाको शिलान्यास र उद्घाटनमा व्यस्त छन् । 

आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष काठमाडौँ महानगरले ८–९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताएका छन् । 


मेयर शाक्यले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराए । 

मेयर शाक्यले भने, ‘अहिले पनि धेरै ठाउँमा माग आइरहेका छन्, सबै माग सम्बोधन गर्न नसकिरहेको अवस्था पनि छ । नीति पनि छ, कार्यक्रम पनि छ र बजेट पनि छ तर सडकको पेटी साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या छ ।’

काठमाडौँ महानगरपालिकाका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापा पनि महानगर भित्र भएका आकाशे पुल बालबालिका, बुढाबुढी, भारी बोक्ने, अपाङ्गता भएका मानिस मैत्री नभएको स्वीकार्छन् । 

काठमाडौँ महानगरपालिकामा जम्मा जम्मा १३ वटा आकाशे पुल छन् । विगत ५ वर्षमा महानगरले ४ वटा र सडक विभागले एउटा गरी जम्मा ५ वटा आकाशे पुल बनेका छन् । 

महानगर भित्र जम्मा १३ वटा मात्रै आकाशे पुल भए पनि उक्त पुलबाट लाखौँ यात्रुले बाटो काट्नु पर्छ । यस्ता पुलहरूलाई अत्याधुनिक, समयसापेक्ष र प्रविधि मैत्री बनाउन नसक्दा काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले चुनाव ताका काठमाडौँलाई ‘स्मार्ट सिटी’ बनाउने भनेर देखाएको आफ्नै सपनाले गिज्याउँदै छ । 

यात्रु मैत्री छैनन् आकाशे पुल

फुटपाथमा नै बनाइएको उक्त पुलले बाटो हिँड्ने बटुवालाई असहज भएको भन्दै आलोचना र विरोध हुँदै आएको छ । त्यसो त काठमाडौँका कुनै पनि पुलहरू यात्रु मैत्री नै नभएको राष्ट्रिय अपाङ्ग महासंघका प्रमुख मित्रलाल शर्मा बताउँछन् । 

‘काठमाडौँका कुनै पनि आकाशे पुल अपाङ्गता मैत्री हैन मानव मैत्री नै छैनन् । ती आकाशे पुलहरू यात्रुलाई सकस थप्ने खालका छन्’ शर्माले भने ‘तन्नेरीहरूले केही हिँडेर नै भए पनि आकाशे पुल चढेर बाटो काट्न सक्छन् । जेब्रा क्रसिङबाट बाटो काट्न सक्छन् । तर बालबालिका, बृद्धबृद्धा, बालबालिका तथा अपाङ्गता भएकाहरू आकाशे पुल चढ्न सक्दैनन् ।’ 

काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित आफ्नो पालामा सिढींमात्र भएको आकाशे पुल बनाएर गल्ती गरेको स्विकार्छन् । 

‘मैले पुल बनाएर गल्ती गरे । नेतृत्वमा पुनर्मुल्याङ्कन गर्ने क्षमता हुनु पर्छ ।’ शाक्य भन्छन्, ‘आकाशे पुलमा २ घुम्ती घुमेर माथि जानु पर्छ । फेरी हिँडेर घुम्दै तल झर्नु पर्छ । बालबालिका, अपाङ्गता भएका, बृद्धबृदा र भारी बोक्ने मानिस कसरी  त्यो ओरालो उकालो गर्ने ?’

आकाशे पुल चढ्न नसक्नेहरू पुल तलबाट बाटो काट्न खोज्दा दुर्घटनामा पर्छन् । यही पुल नभएको भए त धेरै मानिस बाटो काटिरहेको समयमा होसियार भएर गन्तव्यमा जान पाउँथे । त्यसका लागि बरु धेरै ठाउँमा जेब्रा क्रसिङको व्यवस्था गर्न सकिन्थ्यो । सवारी चालकले पनि एकै पटक धेरै मानिस बाटो काट्दै छन् भने पछि गाडी बिस्तारै हाँक्ने शाक्य बताउँछन् । 

‘एक जना भरिया गह्रुँगो भारी बोकेर त्यो पुलको उकाले चढ्न सक्दैनन् । उसको मानसिकता म सामान्य मानिस हुँ । तलबाट गयो भने केही हुँदैन भनेर तलबाट जान्छ । यसरी जाँदा भएको दुर्घटनाको जिम्मा महानगरले लिनु पर्छ’ उनी थप्छन्,  ‘१०१ प्रतिबद्धतामा अहिले भएको आकाशे पुलमा एलिभेटर (लिफ्ट) प्रयोग गर्ने एजेन्डा पनि थियो । लिफ्ट लगायत शौचालय, खानेपानी लगायतका सुविधा राख्न सकिन्छ । यसो भयो भने त सबै अनुकूल हुन्छ ।’

र्‍याम्प र लिफ्ट राखौँ 

मेयरको उम्मेदवारी दिने क्रममा अहिलेका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँलाई स्मार्ट सहर बनाउने बाचा गरेका थिए । स्थानीय चुनावको समयमा काठमाडौंलार्ई स्मार्ट सहर बनाउने बाचा गरेका शाक्यले आफ्नो कार्यकाल सकिन २ महिना बाँकी छदा समेत ३० वर्ष अघिकै शैलीका फलामको पुल बनाएर उद्घाटन गर्दै छन्  ।  

आकाशे पुललाई यात्रु मैत्री बनाउनको लागि  र्‍याम्प वा लिफ्ट बनाउन सकिने शर्मा बताउँछन् । 

काठमाडौँ महानगरपालिकाका पूर्वाधार विभाग प्रमुख राम बहादुर थापाका अनुसार एउटा आकाशे पुल बनाउँदा ७५ लाख रुपैयाँ हाराहारी खर्च भएको छ । 
‘अपाङ्गता भएका मानिसले ह्वील चेयर गुडाउनको लागि र्‍याम्प बनाउनु पर्छ’ थापा भन्छन्, ‘यसरी र्‍​याम्प बनाउनको लागि धेरै ठाउँ चाहिने भएकाले बनाउन नसकिएको हो ।’ 
गत आर्थिक वर्ष मात्रै महानगरले कुल विकास बजेटको ३६ प्रतिशत मात्रै खर्च गरेको थियो । हामीलाई लिफ्ट बनाउन समस्या छैन । महानगरसँग बजेट पनि छ । तर सञ्चालन र निरन्तर मर्मत सम्भार गर्न समस्या भएका कारण यस्तो संरचना नबनाएको पूर्वाधार विभाग प्रमुख थापा बताउँछन् । 

आकाशे पुल तल हुने दुर्घटनाको जिम्मा महानगरले लिनुपर्छ – पूर्वमेयर स्थापित

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर स्थापित आफू मेयर भएको बेलामा आफू सँग पर्याप्त बजेट नपाएको बताउँछन् । महानगरसँग पूर्वधार विकासका लागि पर्याप्त मात्रामा बजेट छ । तर विकास निर्माणको काम गर्न सक्ने क्षमतामा कमी भएको कारण यहाँ भएका लाखौँ मानिसले राजधानीमा विकास देख्न पाएका छैनन् । विभिन्न शीर्षकमा करोडौँ राजस्व सङ्कलन गरे पनि राजधानीका हिँडडुल गर्ने लाखौँ पैदल यात्रीले सास्ती खेप्नु परेको उनको भनाई छ । 

केशव स्थापित‘एक जना भारी बोक्ने भरिया गह्ररुंगो भारी बोकेर त्यो पुलको उकाले चढ्न सक्दैन । उसको मानसिकता म सामान्य मानिस हुँ । पुल तलबाट गयो भने के होला र? भन्ने मानसिकताका करण उनीहरू तलबाट हिँड्छन्’ पूर्व मेयर स्थापितले अगाडि भने ‘यसरी आकाशे पुलको तलबाट हिँड्दा एकदमै धेरै दुर्घटना हुन्छन् । अदुरदर्शीताको कारण भएको यस्तो दुर्घटनाको जिम्मा महानगरले लिनु पर्छ ।’ 

अर्को, पाँच सय मिटरको दूरीमा पुल राख्नु आफैंमा व्यवहारिक नभएको उनको भनाई छ । ‘आफ्नो ठीक्क पारीपट्टी गन्तव्य भएको मानिसले त ५ सय मिटर पुलमा पुग्न र फर्कनको लागि त्यति नै हिँड्नु पर्छ,’ स्थापितले भने, ‘यो मानिस अनुकूल हुँदै भएन । कमसेकम यस्ता पुल सय डेढ सय मिटरमा हुनु पर्छ ।’ त्यसो भयो भने मानिस छिट्टै आफ्नो गन्तव्यमा पुग्न  सक्ने स्थापितले बताए । 

उनी महानगर भित्र अहिले जस्तै फलामको कुरूप करङ जस्तो पुल सहरको सौदर्यको हिसाबले पनि उचित नभएको बताउँछन् । विदेशमा जाँदा सुविधा सम्पन्न र कलात्मक पुल उपयोग गरेको बताउँदै तउनी काठमाडौँका फलामका पुल हटाएर लिफ्ट सहितका सुविधासम्पन्न पुल बनाउनुको विकल्प नभएको बताउँछन् । 

चोक सुधार गरे समस्याको समाधान हुन्छ –किशोर थापा

पछिल्लो केही दशक देखि मानिसहरूको सहरी क्षेत्रमा बसाई सर्ने क्रम बढ्दो छ । यो समस्या काठमाडौँको मात्रै नभएर विश्वव्यापी समस्या हो । यसरी सहरी क्षेत्रमा बसाई सर्दा उक्त स्थानको विकास निर्माणले धान्न सक्दैन । यसका साथै रोजगारीको अवसर पनि कम हुन्छ । 

काठमाडौँमा पनि भएको त्यही छ । यहाँ मानिसहरू बसाई सरेर त आए तर रोजगारीको अवसर पाएनन् । त्यसैले मानिसहरू फुटपाथ नै ओगटेर सडक व्यापार गर्दै छन् । अझ अव्यवस्थित पूर्वाधार निर्माण भएका चोकहरू निकै नै अस्तव्यस्त छन् । त्यसैले उपत्यकामा भएका चोकहरू सुधार गर्नु पर्ने पूर्व सचिव, सहरी योजनाविद् तथा गत स्थानीय चुनावमा काठमाडौँको मेयरका उम्मेदवार किशोर थापा बताउँछन् । किशाेर थापा

‘महानगरको चोकहरूमा सुधार गर्न आवश्यक छ । यहाँका चोकमा कता आकाशे पुल राख्ने, कता फ्लाई फ्लाई ओभर बनाउने, चोकहरूलाई अलिकति फराकिलो गर्ने, ट्राफिक लाइट कहाँ कसरी राख्ने भनेर कसैको पनि ध्यान पुग्न सकेको छैन ।’ उनी चाबहिल चोकको उदाहरण दिँदै भन्छन् ‘चाबहिल चोक धेरै गन्जागोल छ । तर व्यवस्थापन गर्नका लागि ठाउँ पर्याप्त स्थान पनि छ । सही योजना बनाएर काम गर्ने हो भने चाबहिल चोकलाई आकर्षक बनाउन सकिन्छ । तर नेतृत्वको ध्यान त्यतातिर ध्यान गएन ।’ 

आकाशे पुल बनाएर चोकलाई साँघुरो बनाइएको छ । सहरी योजनाविद् थापा आकाशे पुल नबनाई पनि चोक सुधार गर्न सकिने बताउँछन् । 

‘आकाशे पुल बलियाहरूका लागि मात्रै हो ’ उनी भन्छन्, ‘बच्चा, वृद्ध र अपाङ्गता भएकाहरूको उक्त पुल भनेको आकाशको फल  भएको छ । त्यसैले आकाशे पुले खासै उपयोगमा आउन सकेको छैन । मानिसहरू ज्यानको माया मारेर भए पनि सडकबाट बाटो काट्न बाध्य छन् । ’ 

आकाशे पुलको कारण सडक दुर्घटना बढेको छ – सिताराम हाछेथुँ

​काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था २९ वर्ष हेरेका सिताराम हाछेथुँ पनि आकाशे पुल बलियो मानिसको लागि मात्रै भएको स्विकार्छन् । 

‘हामी कहाँ भारी बोकेर गुजारा गर्ने मानिस पनि धेरै देखेको छु । यस्तो अव्यवस्थित पुलको कारण उनीहरूलाई पनि राजधानीमा काम गरेर खान गाह्रो छ’ उनी ३०औ वर्ष पहिलेको संरचना हटाउनु पर्ने सुनाउँदै भन्छन्, ‘काठमाडौँ देश कै राजधानी हो । अझ स्मार्ट सहर पनि भन्छन् । ३० वर्ष पहिलेको जस्तो भौतिक निर्माण बनाएर कसरी स्मार्ट सहर बन्छ ।’

सीताराम हाछेथुँसबै मानिसले बाटो सहज रूपमा बाटो काट्न सक्ने खालको संरचना बनाउनु पर्छ । यहाँ त अशक्त, बुढाबुढी, काम गर्ने मजदुर बालबालिकाले बाटो काट्न मुश्किल छ । उनीहरू आकाशे पुल तलबाट बाटो काट्न बाध्य हुन्छन् । यस्तो हुँदा उपत्यकामा सडक दुर्घटनाको संख्या उच्च छ । त्यसैले हाछेथुँ काठमाडौँमा लिफ्ट सहितको आकाशे पुल आवश्यक  भएको बताउँछन् । 

‘अहिले उपत्यकामा बनेका आकाशे पुल सहरको दृश्यावलोकनका लागि मात्रै सीमित भएको छ’ उनी भन्छन्, ‘एक जना स्वस्थ मानिस आकाशे पुलबाट बाटो काट्दा ३ देखि ५ मिनेट लाग्छ । असक्त मानिसलाई झनै समय लाग्छ वा चढ्न नै सक्दैनन् । त्यसैले उनीहरू दुर्घटना हुन्छ भन्ने थाहा पाउँदा पाउँदै सडकमा जेब्रा क्रसिङ नभएको ठाउँबाट पनि बाटो काट्छन् ।’


Author

सुरेन्द्र बजगाईं

अर्थतन्त्र र सामाजिक विषयमा कलम चलाउने बजगाईं संवाददाता हुन् ।


थप समाचार
x