समाज

म्यादी प्रहरीकाे लाइनमा विदेश जान लागेकादेखि गृहिणीसम्म

अतिन आचार्य |
चैत ६, २०७८ आइतबार १५:५१ बजे

काठमाडौँ - चैत महिना मध्यान्हको घाम, गर्मी छ । काेही समूह बनाएर भुइँमा बसेका छन् । कोही भने हातमा फाइल लिएर ओहोरदोहोर गरिरहेका छन् । कतिपयले त फारामले अनुहारमा पर्ने घाम छेकेर लाइन बसिरहेका छन् । टेकुस्थित महानगरीय प्रहरी परिसरमा गृहिणी र भूतपूर्व सुरक्षाकर्मीदेखि बेरोजगार युवाहरू लाइनमा छन्।

'फाराम सकिएको हो?, कहाँ पाइन्छ?'  परिसरको गेटबाट प्रवेश गर्दै गरेकी महाराजगञ्जकी अम्बिका सापकोटाले गेटमा उभिएका प्रहरीलाई सोधिन्। प्रहरी सेवाको स्थायी जागिर खान नभई उनी म्यादी प्रहरीमा भर्ना हुन आएकी हुन् ।


सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचनका लागि एक लाख म्यादी प्रहरीमा भर्ना लिने गरी सूचना निकालेकाे छ। उपत्यकाका महानगरीय प्रहरी परिसरमा आवेदन दिन सकिनेछ । त्यस्तै देशभरको जिल्ला प्रहरी कार्यालयमा पनि म्यादी प्रहरीकाे लागि आवेदन दिन सकिनेछ।

समाजमा महिलाहरू पनि खुलेर काम गर्न थालेकाले म्यादीमा भर्ना हुन आएको सापकोटा बताउँछिन् । महिला पनि आत्मनिर्भर बन्न सक्छन् र त्यसको उदाहरण बन्न पनि काम गर्न निस्केको उनको भनाइ छ ।

'परिवारको सहमति र सहयोगमा आउन सकेको हुँ,' उनी भन्छिन्,' काम गर्नका लागि आफूमा निर्भर रहने गर्छ।' सबैले अहिले पनि अनुमति पाउने अवस्था नरहेको उनले प्रष्ट पारिन् । आफ्नो लागि काम गर्न बाहिर निस्कने आँट गर्नुपर्ने उनको भनाइ छ ।

घरमा बस्दा समय खेर गएकाले केही समय भए पनि अम्बिका जागिर खाने मनसायले म्यादीको फाराम भर्न पुगेकी हुन् । म्यादी प्रहरीमा लिखित परीक्षा र शारीरिक परीक्षण हुन्छ । म्यादी प्रहरीमा आवश्यक योग्यता पुर्‍याउन सक्ने भएर फर्म भर्न आएको उनी बताउँछिन् ।

त्यसैगरी बाजुराका रमेश भुजेल पनि म्यादी प्रहरीकाे फाराम भर्ना लाइनमा बसेका छन् । उनी लाइन बसेको आधा घन्टा भइसकेको छ । 'यो देशमा सेवा लिनका लागि लाइन बस्ने झन्झटबाट कहिले मुक्ति पाइने हो? प्रश्‍न गर्छन उनी ।

वैदेशिक रोजगारीका लागि उनी काठमाडौँ आएका हुन् । युएई जान आए पनि तत्कालै विदेश जाने सम्भावना नरहेकाले म्यादी प्रहरीमा भर्ना हुन आएको उनले बताए । 'काठमाडौँमा बस्दा पैसा कमाइ पनि हुने, देशको सेवासमेत गर्न पाइन्छ, ' उनले भने ।

प्लस टु पास गरेका रमेशले विभिन्न सञ्चार अनलाइन मिडिया र फेसबुकबाट सूचना थाहा पाएका थिए । उनी साथीसहित तीन जना प्रहरीमा भर्ना हुन आएका हुन् ।

'दुःख गरेर फर्म भरिएको छ, दुःख गरेअनुसार भर्ना हुन पाए राम्रो हुन्थ्यो,' आफ्नो दुःखेसो पोख्दै भन्छन्,' वैदेशिक रोजगारीमा जानका लागि ल्याएको खर्च पनि सकिएको छ । खर्च अभाव भएर म्यादीमा भर्ना हुन आएको हुँ ।'

त्यस्तै बालाजुबाट आएका रविन्द्र खड्का आफू बेरोजगार भएकाले म्यादी प्रहरीमा भर्ना हुन आएकाे बताउँछन् । प्लस टु पास गरेका २३ वर्षीय उनी जागिर मात्र खान नपाई देशको सेवा गर्न पाइने भएकाले आएका हुन् ।

आल्मुनियम कारखानामा काम गर्ने रविन्द्र म्यादी प्रहरीमा आवश्यक योग्यता पुग्‍ने विश्‍वाससहित आएका हुन् । मुलुकमा स्थायी रोजगार पाउने वातावरण नभएकाले अस्थायी जागिर खोज्न भौतारिनु परेको उनको भनाइ छ ।

लाइनमा उभिएका गृहिणी,  भुतपूर्व सुरक्षाकर्मीदेखि बेरोजगार युवाहरू छन् । सबैको चाहना म्यादी प्रहरी हुनु नै हो । केही समयका लागि कामको अनुभव र थोरै आम्दानी होस भन्ने हेतुले उनीहरू परिसर आएका हुन् ।

म्यादी प्रहरीमा भर्ना हुन नेपाली नागरिक हुनुपर्नेछ । नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर नठहरिएको हुनुपर्नेछ । राजनैतिक दलको सदस्य नरहेको हुनुपर्नेछ ।

साधारण लेखपढ गर्न जान्ने शारीरिक रुपमा स्वस्थ्य र तन्दुरुस्त रहनुपर्नेछ । म्यादी प्रहरीले कुल ४० दिन काम गर्नुपर्नेछ । उक्त दिन सम्मको म्यादी प्रहरीलाले ४३ हजार ४४० पारिश्रमिक पाउने छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x