समाज

मधेश प्रदेशमा २१ हजारभन्दा बढी म्यादी प्रहरी खटाइने

पहिलो दिनमै ५ हजारभन्दा बढी आवेदन दर्ता

सुभाष कर्ण |
चैत ७, २०७८ सोमबार ११:० बजे

जनकपुरधाम - आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि मधेश प्रदेशमा २१ हजारभन्दा बढी म्यादी प्रहरी खटाइने भएको छ । स्थानीय तह निर्वाचनको सुरक्षार्थ सरकारले सातवटै प्रदेश र उपत्यका गरी देशभर कूल १ लाख म्यादी प्रहरीको दरबन्दी स्वीकृत गरेकोमा मधेस प्रदेशमा मात्र २१ हजार ६ सय ९८ जना म्यादी प्रहरी भर्ना गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरीका प्रवक्ता तुलबहादुर कार्कीका अनुसार धनुषामा ३ हजार ४ सय ८६, सप्तरीमा ३ हजार १ सय ३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७ सय ३६, रौतहटमा २ हजार ५ सय ८९, बारामा २ हजार ५ सय २८, सिरहामा २ हजार ३ सय ३१ र पर्सामा १ हजार ८ सय १ जना म्यादी भर्ना गरिनेछ ।


भर्ना खुलेको दिन धनुषासहित प्रदेशका अन्य जिल्लाहरूमा आवेदन दिनेहरूको भीड लागेको छ । आइतबारदेखि म्यादी प्रहरीका लागि भर्ना खुल्ला गरिएकोमा पहिलो दिन मात्रै प्रदेशभरिमा महिला र पुरुषगरी ५ हजार दुई सय १४ वटा आवेदन परेको प्रवक्ता कार्कीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मधेस प्रदेशका ८ जिल्लामा कुल संख्याको करिब २२ प्रतिशत म्यादी खटाइने छ । निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको अन्तिम विवरण सार्वजनिक गरेपछि संख्यामा केही तलमाथि पर्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भर्ना भएका म्यादी प्रहरीले कुल ४० दिनको काम पाउनेछ । सो अवधिमा तिनीहरूले मासिक ३० हजार २ सय ४० रुपैयाँको दरले पारिश्रमिक पाउनेछ । पारिश्रमिक बाहेक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्नेगरी ६ हजार, यातायात खर्च वापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने छ ।

छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुनेछ भने अन्तिम नतिजा २२ चैतसम्म प्रकाशन गरिनेछ भने उत्तीर्ण भएकाहरूको प्रशिक्षण चैत २८ गतेदेखि हुने प्रहरी प्रधान कार्यालयको सूचनामा भनिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x