समाज

शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा रेल उद्घाटन गर्ने

सुभाष कर्ण |
चैत १५, २०७८ मंगलबार १८:५६ बजे

जनकपुरधाम– करिब डेढ वर्षपछि किनेर थन्किएको जयनगर–जनकपुरधाम (कुर्था) सञ्चालनका लागि राखिएको रेल अन्ततः शनिबार उद्घाटन हुने भएको छ ।

नेपाल तथा भारतका प्रधानमन्त्रीले संयूक्त रुपमा भारतको दिल्लीबाट रेलको भर्चुअल उद्घाटन गर्नेछन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार चैत १९ गते दिल्लीबाट रेलको भर्चुअल उद्घाटन गर्ने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताएका छन् ।


थन्किएर रेल बिग्रिन थालेको भन्ने चौतर्फी आलोचना हुन थालेपछि फागुन १ गतेदेखि बिना यात्रुको “ड्राई रन” को रुपमा नियमित रुपमा सञ्चालन हुँदै आएको छ । ड्राई रन रेल सञ्चालनमा मासिक ३० लाख रुपैया खर्च हुँदै आएको छ । उद्घाटन भएपछि रेल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा यात्रु बोकेर चल्ने छ ।

कम्पनीका महाप्रबन्धक झाले रेल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन् । ‘भौतिक पुर्वाधार पहिला नै तयार भइसकेको छ, कर्मचारी व्यवस्थापन पनि पछिल्लो अध्यादेश अनुसार पछिल्लो महिना नै ज्यालादारी नियुक्त गरिसकिएको छ ।’ उनले भने ।

रेल सञ्चालनकै लागि गत चैत ८ गते राष्ट्रपति कार्यालयबाट रेलवे अध्यादेश जारी भइसकेको छ । कानून नभएपनि पछिल्लो जारी अध्यादेशलाई नै टेकेर रेलको उद्घाटन गर्न लागिएको झाले जानकारी दिए।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x