पहिलोपटक रेल चढेका विद्यार्थी भन्छन् :
'रेल पहिले सिनेमा र किताबमा देखेका थियौं, आज चढ्न पायौं'
जनकपुरधाम- लामो प्रतिक्षापछि नेपालमा रेल सेवा सञ्चालनमा आएको छ । शनिबार भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट भर्चुअल माध्यममार्फत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि रेलको उद्घाटन गरे ।
भारतीय सरकारको सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरसम्मको रेल सेवा नेपाल र भारतका दुवै देशका प्रधानमन्त्रीले दिल्लीबाटै हरियो झण्डा देखाएपछि जयनगरबाट रेल खुलेपछि नियमित सञ्चालनमा आएको हो ।
करिब ८ वर्षपछि जनकपुरधाम जयनगर रेल सञ्चालनमा आएपछि स्थानीयवासी निकै उत्साहित देखिएका छन् । स्थानीयभन्दा पनि विद्यार्थीहरु झन खुशी देखिएका छन्।
रेल उद्घाटनपछि जयनगरबाट आउने जनकपुरधाम (कुर्था) आउने क्रममा प्रत्येक हल्ट र स्टेशनमा विद्यालय पोशाकमा सजिएका विद्यार्थीहरु नेपाल भारतको झण्डासहित र स्थानीयवासीले फूलको गुच्छा लिएर नागरिक अभिन्दन गरेका थिए । हल्टहरुमा अभिनन्दनका लागि आएका केही विद्यार्थी रेल चढेरै जनकपुरधाममा आयोजित उद्घाटन समारोहमा सहभागी हुन आए ।
रेल चढेका विद्यार्थीहरु निकै खुशी भए । जीवनमा पहिलो चोटी रेल चढ्दा उनीहरु निकै उत्साहित देखिए । रेल चढेका विद्यार्थीहरु मध्ये अधिकांशले जीवनमा पहिलो चोटी नै रेल चढेका हुन ।
आफ्ना खुशी व्यक्त गर्दै मावि परवाहामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी सुनिल यादवले भने ‘हामीले त किताब र केही फिल्ममा मात्रै हेर्न पाएका थियौं रेल कस्तो हुन्छ भनेर ।’ केही महिनाअघि परवाहा स्टेशन हुँदै गइरहेको रेल देख्दा रेल कस्तो हुन्छ भन्ने चाहना पुरा भएको उनले प्रतिक्रिया दिए ।
केही समयको भएपनि आफ्नै मुलुकको रेलमा चढन पाउँदा निकै आनन्ददायी क्षण भएको विद्यार्थीहरुको भनाइ छ । नियमित सञ्चालनमा आएपनि अब जनकपुर आउन जान रेल चढने क्रम जारी रहन्छ । तर, जीवनमा पहिलोचोटी रेल चढेको यो क्षण आफ्नो लागि अविस्मरणीय रहने उनको बताए।
त्यस्तै जनकपुरधाम स्थित मोनाष्टिक स्कूलका कक्षामा ५ मा अध्ययनरत विद्यार्थी सुमित साहले सानो छँदा एकचोटी बुवाआमासँग भारत गएको बेला रेलमा चढेका थिए, तर उनमा त्यो क्षण त्यति स्मरण छैन । ‘तर आज आफ्नै देशको रेल चढ्न पाउंदा निकै खुशी छु ।’ उनले भने, ‘नेपालमा रेल चल्छ भन्ने आशै थिएन । तर आज रेल चढ्दा मेरो खुशी लागेको छ ।’
त्यस्तै कुर्था स्थित माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत विद्यार्थी विजय साहले नेपालमा पनि रेल चल्थ्यो भन्ने कुरा सुन्ने अवसर मात्रै पाएकोमा आज चढने अवसर पाउँदा निकै खुशी बताए ।
यस्तै मंगराहास्थित आदर्श जनता माध्यमिक विद्यालय मंगराहाका कक्षा ५ का छात्र सुबोध मण्डलले अहिलेसम्म रेल चढ्नु भनेको कल्पनाबाहिरको भए पनि आफै वास्तविक जीवनमा चढ्न पाउँदा यो कहिल्यै नबिर्सने प्रतिबिmया दिए । ‘चढ्नु त के हेर्न पनि पाएको थिइँन, किताब र फिल्ममा रेल हेर्दा निकै रहर हुन्थ्यो’ उनले भने, ‘बल्ल आज रेल चढ्दा मेरो खुशीको सीमा नै छैन, बोलेर भन्दा भावले मात्र व्यक्त गर्न सक्छु ।’
जयनगरबाट जनकपुरधाम हुँदै कुर्थासम्म प्रत्येक हल्ट स्टेशनमा दर्जनौ सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुले नेपाली रेललाई नेपाल भारतको झण्डासहित स्वागत गर्दै रेल चढन अवसर पाएका थिए ।
रेल्वे सेवा सञ्चालन भएपछि विद्यार्थीहरुका साथै स्थानिय उत्साहित भएका छन । रेल्वे जनकपुरधाम आउँदा स्टेशनमा हजारौंको संख्यामा रहेका सर्वसाधारण उत्साहित देखिएका थिए । स्थानीयवासीमा छुट्टै किसिमको खुसीयाली देखिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया