सीपविनै विदेशिन्छन् महिला : न भनेजस्तो काम, न तलब
मकवानपुर - उमेर २१ वर्ष । शिक्षा दश कक्षा पास । काखमा २ वर्षीय छोरा । परिवारमा सधैँ किचलो । आर्थिक अवस्था कमजोर । पैसाकै निहुँमा घर झगडा भैइरहन्छ । हातमा कुनै सीप छैन ।
श्रीमान्सँग सम्बन्ध पनि राम्रो छैन । 'माइतीघरमा बस्दै आएको छु । राम्रो कमाइ भए श्रीमान्को पनि माया पाउँथे होला । छोरा माइतीमा छोडेर साउदी जाने तयारीमा छु । साउदीको एउटा स्कुलमा सेक्युरिटी गार्डमा काम मिल्ने पक्का भएको छ । मासिक ६९ हजार तलब थाप्ने हो, टन्न पैसा कमाउने, छोरालाई राम्रो स्कुल पढाउने हो, अनि श्रीमान्ले आफैं खोज्नेछन् मलाई ।' ९ महिनाअघिको भेटमा माथि उल्लेखित सपना सुनाएर साउदी गएकी मकवानपुरगढी गाउँपालिका–५ कि एक महिला अहिले साउदीको निजी घरमा सफाइ मजदुरको काम गर्छिन् । मासिक नेपाली ३२ हजार ७ सय रुपैयाँ तलब थाप्छिन् ।
महत्वाकांक्षी सपना देखेर साउदी गएकी उनी अहिले तत्काल नेपाल फर्कन पाए हुन्थ्यो मनस्थितिमा छिन् । 'साह्रै तनाव हुन्छ, बाबु (छोरा) को खूब याद आउँछ, नेपालमै मकै भुटेर ठेलामा बेचेको भए पनि यत्ति त कमाउँथेँ नि, बिरानो ठाउँमा आएँ, न भनेजस्तो काम पाएँ, न तलब भनेजस्तो' उनले म्यासेन्जरमा दुखेसो पोखिन् ।
कामको शिलशिलामा आफूले पटक पटक यौन हिंसा खेप्नु परेको पीडाले उनी आफ्नो भविष्यसँग अत्तालिएकी छिन् । 'सुखै सुखमा पैसा कमाउँछु भनेर आएको । यहाँ (साउदी) आएपछि आफ्नै शरीर आफ्नो नरहने भो' उनले भनिन् ।
१६ चैत २०८७ मा जिल्ला प्रशासन कार्यलय मकवानपुरमा भेटिइन् थाहा नगरपालिका-१२ कि १७ वर्षीया एक किशोरी । कक्षा ११ सम्म अध्ययन गरेकी उनी पनि विदेश जाने तयारीमा थिइन् । गाउँले काका पर्नेसँग राहदानी बनाउने क्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भेटिएकी यी किशोरीसँग कुनै कामको विशेष सीप छैन ।
सोही दिन भेटिइन् मकवानपुर बागमती गाउँपालिकाकी १७ वर्षीया अर्की किशोरी । उनी ५ कक्षा अध्ययन गरेर छाडेकी । जनजाति परिवारकी यी किशोरी चाहिँ आफ्नो बुबासँग राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुर आएकी थिइन् ।
आफू कुन देश जाने, के काम गर्ने, त्यसको लागि ज्ञान के ? त्यहाँको भाषा र संस्कार कस्तो छ, त्यसका लागि गर्नुपर्ने पूर्वतयारी के, जस्ता सुरक्षित वैदेशिक रोजगारीको लागि ध्यान दिने जस्ता कुनै जानकारी छैन उनीहरूसँग ।
जिल्ला प्रशासन कार्यलयमा व्यवस्था गरिएको वैदेशिक रोजगार परामर्श कक्षामा सहभागी उनीहरूले आफूहरूको गन्तव्यको बारेमा जानकारी नलिएको बताए । 'हेल्प डेस्कबाट परामर्श लिएपछि वैदेशिक रोजगारको सपना देखे जत्ति सहज छैन कि भन्ने लाग्यो' मकवानपुर मनहरीकी २० वर्षीया अञ्जली कार्कीले भनिन् ।
परिवारमा बेमेल भएको, कमजोर आर्थिक अवस्था भएको, अशिक्षित तथा सामान्य साक्षर मात्रै भएका, कुनै विशेष सीपमुलक तालिम नलिएका किशोरी तथा महिलाहरू बेचबिखनको उच्च जोखिममा हुने गर्दछन् । यही वर्गका किशोरी तथा महिलाहरू बढी संख्या वैदेशिक रोजगारमा जाने गरेको एक तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत १४ पुसबाट सुरु गरेको विद्युतीय राहदानीको लागि फागुन मसान्तसम्म १ हजार ६ सय ६९ जनाले आवेदन दिएका छन् । जसमा ९ सय ५९ पुरुष, ६ सय ८० महिला तथा ३० जना नाबालक रहेका छन् ।
जसमा सबैभन्दा बढी आवेदन मकवानपुरको बकैया गाउँपालिकाको रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ । जसमा १ सय ७७ महिला र २७१ जना पुरुष रहेका छन् । यसैगरी मकवानपुरको मनहरी गाउँपालिकाबाट यो समयमा १ सय ८५ जना महिला र २ सय ६७ जना पुरुष रहेका छन् । शैक्षिक तथा आर्थिक अवस्था कमजोर भएकाहरू विशेषगरी खाडी मुलुक जाने गरेको परामर्श कर्ता पार्वती विकले बताइन् ।
परामर्श दिँदा-दिँदै पनि जोखिम मोलेर विदेश गएकाहरूलाई आफूहरूले उद्दारका लागि पहल गर्ने, उनीहरूलाई नेपाल फर्काएर क्षतिपूर्ति दिलाउने सम्मको काम सामे परियोजनाअन्तर्गत गरिदै आएको विकले बताइन् । संस्थाले सन् २०१९ देखि सन् २०२२ को हालसम्म ३ हजार ९ सय २७ जनालाई उद्दार तथा क्षतिपूर्ति प्रदान गरिएको विकले बताइन् ।
मकवानपुरमा कार्यरत विभिन्न २९ वटा गैरसरकारी संघसंस्थाहरूको पहलमा गठन गरिएको मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा रहेर राहदानी बनाउन आउने महिला तथा किशोरीहरूलाई सुरक्षित वैदेशिक रोजगारको बारेमा परामर्श दिने गरेको छ ।
'जोखिम वर्ग नै वैदेशिक रोजगारमा बढी आकर्षित हुनु भनेको बेचबिखनमा पर्ने सम्भावना पनि उच्च रहनु हो' सञ्जालको सह–संयोजक संस्था माइती नेपाल मकवानपुर प्रमुख माया लामाले भनिन्, 'उनीहरूलाई विदेश जानबाट रोक्ने अधिकार कसैको हुँदैन, सही परामर्श गरेर जोखिमबारे बताउने एकमात्रै उपाय हो ।
'जोखिमबारे जानकारी पाएपछि कतिपयले चाहिँ विदेश जाने सपना नै त्याग्नुहुन्छ, कतिपयले विदेश गरेर दु:ख पाउँदा उद्दारका लागि अपिल गर्नुहुन्छ, केहीले जानकारी हासिल गरेर आउँदा सजिलो भएको भनेर धन्यवादको लागि पनि सम्झनु हुन्छ,' ' लामाले भनिन् ।
समस्यामा परेका महिला तथा किशोरीहरूलाई सहजै सीमा पार गर्न सकिने भएकोले एजेन्टहरू पनि यसै वर्गमा बढी लाग्ने गरेको उनको धारण छ। 'घरमा भइरहने सानोतिनो द्वन्द्व, अभाव, सहजै पैसा कमाइन्छ भन्ने सुनेकै भरमा महिला तथा किशोरीहरू विदेश जान तयार हुने गरेको अधिवक्ता जगन्नाथ सुवेदीको बुझाइ छ । 'यो परिपाटीले परिवार झनै समस्यामा पर्न सक्छ, बालबच्चाको बिजोक हुनसक्छ, त्यसतर्फ ध्यान नै दिएको पाइन्न' अधिवक्ता सुवेदीले भने ।
बदलिँदो समयसँगै बेचबिखनको शैली पनि फेरिएकाले दिनानुदिन समस्या थपिदै आएको सञ्जाल संयोजक आरती पाठकले बताउँछन् । 'वैदेशिक रोजगारको क्रममा हुनसक्ने बेचबिखनलाई रोक्न हामीले सचेतना मात्रै दिने गरेका छौं, जानै नदिने सम्मको अधिकार हामीमा छैन' संयोजक पाठकले भनिन् 'हामीले परामर्श दिँदादिँदै जाने र दुख पाएपछि हार गुहार गर्नेहरू पनि छन् ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया