समाज

लैंगिक हिंसा : सतहमा आउँछन्, तह लाग्दैनन्

सृजना खड्का |
बैशाख १, २०७९ बिहिवार ७:११ बजे

बितेका वर्ष जस्तै २०७८ पनि महिलाले आफ्नो अधिकार र न्यायका लागि सडकमा नारा लगाउनुपर्ने सिलसिला रोकिएन । तथ्यांकमा महिला हिंसाका घटनामा कुनै कमी आएन । नेपाल संघीय भए पनि न्यायका लागि मानिसहरू केन्द्रमै धाउनुपर्ने स्थिति ज्यूँकात्यूँ नै रह्यो । राज्यले महिला अधिकार र समावेशिताको विषयमा अन्देखा गर्‍यो । राजनीतिक दलका महाधिवेशनहरूले महिलाका विषयमा कुनै बहस–छलफल चलाएनन् । नेतृत्व छनोटमा पनि महिलालाई सधैँ पाखा लगाइयो । 

यसले अझै पनि महिलाहरू कसरी सामान्य अधिकारको उपभोगबाट पनि वञ्चित छन् भन्ने देखाउँछ । अहिलेको युगमा पनि महिलामाथिको हिंसाको प्रकृति र प्रवृत्ति भने झन्झन् भयावह देखिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांकअनुसार गत वर्ष वैशाखदेखि फागुनसम्म २ हजार १ सय ४ बलात्कारका घटना भएका छन्  । १३ हजार ७ सय ८९ घरेलु हिंसाका घटना भएका छन् भने ४५ जनालाई बलात्कारको आरोप लगाइएको छ ।


५ सय २० किलोमिटर पैदल काठमाडौँ

संघीयतापछि सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुग्ने दाबी थियो । तर, अभियन्ता रुबी खानसहित १४ जनाको टोली गत वर्ष नेपालगञ्जदेखि ५ सय २० किलोमिटर हिँडेर काठमाडौँ आइपुग्यो । न्यायका निम्ति गत असोज १ गते नेपालगञ्जबाट हिँडेका उनीहरूलाई काठमाडौँ आइपुग्न २० दिन लागेको थियो । काठमाडौँ आउनेबित्तिकै मूलधारका मिडियाका आँखा उनीहरूका फोका उठेका खुट्टामा पुगे । तर, राज्यको आँखाले भने हप्तौँ लामो अनशन पनि अनदेखा गरिरह्यो । 

बाँकेकी नन्कुन्नी धोबी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । यस्तै, नेपालगन्जकी एकल महिला निर्मला कुर्मी बेपत्ता भएकी थिइन् । उनको ५ बिघा जग्गा अरूले नै हडपेका थिए । रुबीको टोलीले घरेलु हिंसाका कारण ज्यान गुमाएका नन्कुन्नी र निर्मला घटनामा छानबिनको माग राखेका थिए । महिला अधिकारका निम्ति उनीहरू लामो समय माइतीघर मण्डलमा धर्ना बसे । रुबीले १२ दिनसम्म न्यायका निम्ति अनशन बसिन् । घटना छानबिन गर्ने सहमतिमा कात्तिक २ गते अनशन तोडियो । तर, रुबीको आन्दोलन अहिले पनि जारी छ । 

पल प्रकरणले विभाजित नारीवादी

गत वर्ष नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अभिनेता पल शाहविरुद्ध मुद्दा दर्ता भयो । सामाजिक सञ्जालका भित्ता पलमय भए । सामाजिक सञ्जालका भित्तामा नेपाली नारीवादी दुई कित्तामा विभाजित भए । नयाँ पुस्ताका नारीवादीहरूले ‘दिज्जु नारीवादी’को संज्ञा दिएर पुराना पुस्ताका नारीवादीलाई घुमाउरो तरिकाले आरोपितको समर्थन गरेको भन्दै उनीहरूको आलोचना भयो । 

महिला अधिकारकर्मी बन्दना राणाले ‘दुबैलाई आफ्नो पीडा शक्तिमा बदल्न साहस मिलोस् शुभ आशिष’ भन्दै पल र पीडित बालिकाका लागि ट्वीट गरेकी थिइन् । आरोपितलाई आशिष भन्दै गरिएको ट्वीटको व्यापक आलोचना भयो । त्यस्तै, गत फागुन १८ मा महिला अधिकारकर्मी एवं पत्रकार बबिता बस्नेतको ‘बलात्कारसम्बन्धी कानुनको समीक्षा गरौँ’ भन्ने शीर्षकको लेखको पनि निकै आलोचना भयो । उनको लेखले पनि पीडितको विपक्षमा वकालत गरेको र अदालतमा भएको मुद्दालाई प्रभावित बनाउन खोजेको भन्दै व्यापक आलोचना भयो । 

भिजिट भिसा र महिला

गत वर्ष भिजिट भिसामा हुने मानव तस्करी रोक्न भन्दै सरकारले महिलालाई विदेश जान कडाइ गर्ने विषय चर्चामा रह्यो । भिजिट भिसामा महिलाहरू एक्लै विदेश जानुपरे परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने नियमको आलोचना भएको थियो । अध्यागमन विभागले उक्त प्रावधानसहित महिलाका लागि विदेशमा आफन्त÷नातेदार÷चिनेजानेका मानिस कम्तीमा २ वर्ष विदेशमा बसेको पुष्टि हुने कागजात, मान्यता प्राप्त शैक्षिक संस्थाबाट न्यूनतम प्लस टु वा सोसरह उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्र, अंग्रेजी वा गन्तव्य मुलुकको भाषा जानेको हुनुपर्ने लगायत सर्त राखी नयाँ कार्यविधि गृह मन्त्रालयमा स्वीकृतिका लागि पठाएको थियो । लैंगिक विभेद हुने गरी महिलामाथि थप सर्त तेस्र्याएर प्रतिवेदन आएको भनेर सर्वत्र आलोचना भएको थियो । 

शिक्षकबाटै असुरक्षित बालिका

गत वर्ष शिक्षकबाटै यौन दुव्र्यवहारमा परेका धेरै घटना बाहिरिए । मोरङ, लेटाङ नगरपालिका–५ कोे शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा पढ्ने छात्रालाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । उनले बालिकाको घरमै गएर करणीको प्रयास गरेको भन्दै बालिकाले प्रधानाध्यापकलाई जानकारी दिइन् । शिक्षक पौडेललाई पक्राउ गर्न जाँदा प्रहरी टोली र स्थानीयबीच झडप भएको थियोे । सोही क्रममा भीडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । 

४५ जनालाई बोक्सीको आरोप

प्रहरी प्रधान कार्यालय, नक्सालअनुसार वैशाखदेखि फागुनसम्म ४५ जनालाई बोक्सीको आरोप लागेका घटना दर्ता भएका छन् । महोत्तरीकी ५६ वर्षीया सुनैनादेवी ठाकुरलाई स्थानीयले मलमूत्र खुवाई कुटपिट गरेको घटना गत वर्ष कात्तिकमा बाहिरिएको थियो । महोत्तरीमै गत असोजमा ४२ वर्षीया सुकमरिया देवीलाई पनि बोक्सीको आरोपमा मलमूत्र खुवाई चरम यातना दिएको घटना बाहिरिएको थियो । 

जनगणना र महिला 

वर्ष २०७८ ‘राष्ट्रिय जनगणना’को वर्ष रह्यो । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नतिजामा पुरुषभन्दा बढी जनसंख्या महिलाको देखियो । तर, त्यही जनगणनाले घरेलु श्रमको भने पहिचान गरेन । जनगणनाले घरधन्दा र पारिवारिक हेरचाहलाई काम नै होइन भन्यो । राष्ट्रिय जनगणना २०७८ ले ‘परिवारको रेखदेख गर्नु, भात पकाउनु, भाँडा माझ्नु, लुगा धुनु, बालबालिका र वृद्धवृद्धाको स्याहारसुसार गर्नु काम होइन’ भनेको छ । जनगणनाको अभिलेखीकरणमा महिलाको संख्या परे पनि उनीहरूले गर्ने घरयसी कामको भने मूल्यांकन गरेन ।

इकागज विशेष


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x