समाज

स्थापित दलका उम्मेदवारमाथि एक्लै भारी बनेका बालेन शाह

सुरेन्द्र बजगाईं |
बैशाख १९, २०७९ सोमबार १९:२८ बजे

काठमाडौँ– र्‍याप मार्फत देशको सामाजिक र राजनीतिक अवस्थामाथि टिप्पणी गर्ने बालेन (बालेन्द्र शाह) अहिले आफैं नीति निर्माण र कार्यान्वयन गर्ने संयन्त्रको नेतृत्व गर्ने आकांक्षा सहित काठमाडौँ महानगरको मेयर उम्मेदवार बनेका छन् । 

उनले औपचारिक रूपमा पाँच महिनाअघि बालेनले आफू काठमाडौँको मेयरमा उठ्ने घोषणा गरे । उनको घोषणासँगै युवा जमात र उनका प्रशंशकमाझ माहौल जमेको छ । सामाजिक सञ्जालमा बालेनको चर्चा–परिचर्चा अथाह छ । 


सामाजिक अभियन्ता र कलाकारहरूको समेत साथ पाएका बालेन सञ्चारमाध्यम र विभिन्न सार्वजनिक कार्यक्रममा आफ्ना एजेन्डा सुनाएर जनसमर्थन बटुलिरहेका छन् । 

यही जनसमर्थनबाट आत्तिएर कतिपय स्थापित दलका मेयरका उम्मेदवारले जातीय हतकन्डाको सहारा लिन खोजिरहेका छन् । आइतबारको आफ्नो चुनावी सभामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले त्यस्तै जातीय द्वेषको कुरा झिक्नुले स्वतन्त्र उम्मेदवार बनेका एक्ला बालेन स्थापित दलका उम्मेदवारमाथि भारी बनेको बुझ्न कुनै तर्कशास्त्रको जरुरत पर्दैन । 

सामाजिक अभियन्तादेखि कलाकारसम्मको साथ पाएर सामाजिक सञ्जालमा हावी भएका बालेन शाह यथार्थमा चुनावी मैदानमा कत्तिको खरो उत्रने हुन्, त्यो भने हेर्न बाँकी नै छ । तर, बालेनकै क्याल्कुलेसनमा भने उनले ९०,८३५ मत पाउँछन रे !

००००

बालेनले मेयरमा उठ्ने घोषणा दिएसँगै उनको चर्चा चुलिएको छ । पेसाले इन्जिनियर, लगावले गायक बनेका बालेनको राजनीतिक व्यक्तिको परिचयमा पनि थपिएको छ । हाल उनी काठमाडौँको मेयरको उम्मेदवारीसँगै आफ्नो भिजन र एजेन्डा पनि अगाडी सारेका छन् । 

उनको एजेन्डामा फोहोर व्यवस्थापनदेखि ट्राफिक व्यवस्थापनसम्म परेको छ । उनी काठमाडौँलाई संग्रहालयजस्तो सहर भएकोले यसको यथोचित संरक्षण र जगेर्ना गर्नुपर्ने बताउँछन् । हुन पनि हो, विश्व सम्पदा सूचीका अनेकन् सम्पदा काठमाडौँमा छन् । बालेनले नगरवासीको हितमा जनमैत्री स्थानीय सरकार कसरी बनाउने भनेर फेहरिस्त नै प्रस्तुत गरेका छन् । 

काठमाडौँको गौरीगाउँमा जन्मिएका बालेनले संगीत क्षेत्रमा बाल्यकालबाटै प्रवेश गरे । ९ कक्षामा हुँदा उनले ‘सडक बालक’ बोलको गीत लेखेका थिए । स्नातक पढ्दा उक्त गीतलाई सार्वजनिक गरे । सडकमा बस्ने बालबालिकालाई आफू स्कुल जाँदा देख्दा आफूले अनुभव गरेको सामाजिक असमानतालाई उनले गीतमा प्रस्तुत गरे । त्यसपछि, ‘नेपाली आमाबुबा’, ‘प्रहरी प्रतिकार’, ‘नेपाल हाँसेको’ जस्ता थुप्रै गीतहरू निकाले, जसमा देशको सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ । 

बालेन राजनीतिमा नयाँ हुन्, नयाँ हुनुको अर्थ काँचो हुनु होइन भन्ने उनको बुझाइ छ । ९ कक्षामा पढ्दा लेखेको गीत ब्याच्लर्स पढ्ने भएपछि सार्वजनिक गरेजस्तै बालेनले काठमाडौँको मेयरको उम्मेदवार बन्ने ५ वर्ष पहिले नै घोषणा गरेका थिए ।  

त्यही बेला उनले सामाजिक संजालमा एउटा पोस्ट नै गरेका थिए । बालेनले २०७४ वैशाख ३१ गते आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 

मैले आज भोट हालिन

किनकि म उम्मेदवार हैन 

मैले सिभिल इन्जिनियरिङमा व्याचलर गरेको छु,

म स्ट्रकचरल इन्जिनियरिङमा मास्टर्स गर्दै छु ।

र मलाई देश कसरी बनाउनु पर्छ भनेर थाहा छ 

म अर्को पटक भोट हाल्ने छु, र त्यो भोट म आफैंलाई हुने छ । 

म आफै मेरो राष्ट्र विकास गर्ने छु ।

मलाई अरू कसैको भर लाग्दैन ।

००००

बालेनलाई भेट्न नागपोखरी स्थित सम्पर्क कार्यालयमा पुग्दा उनलाई चुनावमा सघाउन आएका स्वयंसेवकहरू सँगै आ–आफ्नो काममा व्यस्त थिए । बालेनको सम्पर्क कार्यालयको एक कोठामा नक्सा र फ्लायरहरू राखिएका थिए भने अर्को कोठामा चुनावी नारा के कस्तो बनाउने भनेर चर्चा गर्दै थिए । 

सोही साँझ उनी एक चर्चित पोडकास्टमा आफ्नो विचार राख्न जाँदै थिए । उक्त पोडकास्टमा के बोल्ने भनेर बालेनको चुनावी अभियानमा सक्रियतापूर्वक सघाइरहेका गणेश कार्की, कुमार व्यञ्जनकार, विवेक लगायतको टोली डायरीमा नोट गर्दै थिए । 

यही बीचमा बालेन एउटा टिभी च्यानलमा अन्तर्वार्ता दिन भ्याए । त्यसपछि उनलाई भेट्न आएको स्थानीयसँग कुरा गर्न लागे । 

त्यसपछि बल्ल उनले भेटका लागि समयको प्रबन्ध मिलाउँदै भने, ‘के गर्ने, अहिले त मिडिया सँग कुरा गर्नमा नै भ्याइ–नभ्याइ छ’ उनले अगाडि थपे ‘निर्वाचन आयोगले चुनाव प्रचारको लागि समय थोरै दिएको छ । सबै घरघरमा पुग्न सकिँदैन । तर प्रविधिको प्रयोग गर्न सकियो भने त सबैकोमा पुग्न सकियो नि !’

हुन त चुनाव घोषणा गरे देखि उनी स्थानीयहरू सँग भेटघाटमा नै व्यस्त छन् । चुनाव हुने पाँच महिना अगाडी नै आफूले उम्मेदवारी घोषणा गरेकाले आफ्नो चुनाव प्रचार प्रसारको लागि प्रशस्त समय पाएको बालेन बताउँछन् ।

काठमाडौँबासी भएपछि घर देखि नै समस्या सुरु हुन्छ । धुलोको कारण मास्क लगाएर हिँड्नु पर्छ । महानगरले दिनुपर्ने स्वास्थ्यको सेवामा समस्या छ । कार्यालयमा जाँदाको समस्या छुट्टै छ । आफ्नो पढाइ र भोगाइ हिसाबले बुझेका कुराहरू सुधार गर्न आवाज मात्रै उठाएर नहुने रहेछ । बालेनले र्‍याप सङ्गीतकै माध्यमबाट मानसिक स्वास्थ्य देखि देशको समेत चिन्ता व्यक्त गरेका छन् । यही कारण आफैंले केही गर्न पर्छ भनेर आफूले उम्मेदवारी दिएको बालेन सुनाउँछन् ।

‘मैले मेरो उम्मेदवारी घोषणा गरे देखि नै मानिसको घरघरमा गएको छु आफ्नो कुरा राखेको छु । अझ काठमाडौँका ८ ओटा वडामा घरदैलो कार्यक्रम गरिसकें’ उनी भन्छन्, ‘ चुनाव चिन्ह नपाएकोले वाकी वडाहरूमा चाहिँ जान बाँकी छ । अब आज देखि फेरी घरदैलो कार्यक्रम सुरु गर्दै छौ ।’ 

बालेनले चुनाव चिन्ह लौरो पाएका छन् । अहिले उनी आफ्नो चुनाव चिन्ह लिएर घरदैलो गर्दै छन् । 

चुनाव चिन्हसँग पनि अर्थ साटेका छन्– ‘बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।’ 

यो सटिक सन्देशले धेरै ठूलो अर्थ बोकेको छ । स्थापित भनेका दलहरू कसरी बेकामे र निकम्मा बनेका छन् भन्ने पूरै व्याख्या छ, उक्त सन्देशमा । 

०००

अघिल्लो निर्वाचनमै बालेन मैदानमा आउन चाहान्थे तर, अघिल्लो चुनावमा उनी मास्टर्सको थेसिस गर्दै थिए । बालेन सन् २०१५ देखि नै सामाजिक काममा सक्रिय छन् । ‘संविधानका लागि हामी’ नारा लिएर उनको टिमले वसन्तपुर, बानेश्वर, पुतलीसडक लगायतका स्थानमा ५ महिनाभन्दा धेरै कार्यक्रम गरे । संविधान बने पछि भने उनीहरूको उक्त कार्यक्रम समापन भएको थियो । त्यही समूहका सदस्यहरूले आफूलाई मेयरमा उठ्नको लागि सल्लाह दिएको बालेन सम्झन्छन् । 

‘एक जना इन्जिनियर र एक जना युवाले वैकल्पिक राजनीतिको नेतृत्व गर्दै उम्मेदवारी दिनु भएको थियो । त्यसैले मैले त्यो समयमा उम्मेदवारी दिने सोच बनाइँन’ बालेन भन्छन्, ‘त्यति बेला उनीहरूलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पनि गरेको हो । त्यही बेला अरूलाई उठाउनु भन्दा आफैले उम्मेदवारी दिनुपर्छ भनेर आफैले उम्मेदवारी दिएको हो ।’

उनले विगत ५ वर्षमा विकासका योजनाहरू, पूर्वाधार, नीति निर्माण, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनको बारेमा अध्ययन गर्दै थिए । यसका साथै उनी यो ५ वर्षमा देशभरका विभिन्न नगरपालिका पुगेर त्यहाँको व्यवस्थापनका राम्रा पक्ष के छन् अनि सबैले किन काम गर्न सकेका छैनन् भनेर बुझ्दै थिए । 

‘मैले पालिकाहरू कर्मचारी र जनप्रतिनिधीहरुको सहकार्य कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्दै थिए । देश भरिका धेरै नगरपालिकाको कामको बारेमा बुझेर नै चुनाव हुनु भन्दा ४ महिना अगाडि आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ । चुनावको मिति घोषणा पहिले नै उम्मेदवारी घोषणा गरेकाले मेरो माहौल बनेको हो’ बालेनले भने । 

उनले उम्मेदवारी घोषणा गरे पछि देशमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर नै चल्यो । कहिले त स्वतन्त्र उम्मेदवारी दिने अभियान नै चलाए । उनलाई एक जना पूर्वसचिवले त ‘तपाईंले उम्मेदवारी नदिएको भए काठमाडौँमा यस्तो चहलपहल नै नहुने रहेछ’ सम्म भने । 

 ००००

‘मैले लौरो  चुनाव चिन्ह पाएको छु । यसको दुई वटा अर्थ हुन्छ । एउटा त बाबुआमालाई सहारा जस्तो भयो । अर्को चाहिँ भ्रष्टाचारीलाई ठिक बनाउने चिन्ह पाएको छु । ‘लौरो त आदरणीय गणेशमान सिंहको प्रतीक पनि हो,’ उनले भने । 

बालेनले हर्दम लगाउन नछोड्ने कालो चस्मालाई कतिले राजा महेन्द्रको जस्तो कालो चस्मा पनि भन्छन् रे ! नेपालमा एक समय दिग्गज र राष्ट्रप्रेमी, देशभक्त नेताहरू थिए – बीपी कोइराला, राजा महेन्द्र, गणेशमान सिंह, मदन भण्डारी । अहिले पनि समाजले त्यस्तै नेता खोजेको छ । तर, दलका लम्पट कार्यकर्ताको होहल्लाले समाजको शान्त बहुसंख्यकको स्वर कतै सुनिएको छैन । यसपालि बालेनले त्यसलाई जगाएका छन् । 

बालेन आफू युवा भएको वा चर्चित भएकाले भोट मागेर मेयरमा उठ्न चाहेको नभएको बताउँछन् । उनी आफूसँग सबै थोक भएर राजनीतिमा आउन लागेकाले परिवर्तनका लागि काठमाडौँवासीसँग अमूल्य मत मागिरहेको बताउँछन् ।

‘काठमाडौँको समस्या भनेको फोहोर व्यवस्थापन, ट्राफिकको हो’, बालेन भन्छन्, ‘घर भत्काएर बाटो फराकिलो बनाउँदै जाने हो भने १० वटा रिंगरोड थपेर हुँदैन । यी कुराहरू व्यवस्थापन गर्न योजना चाहिन्छ । उनले आफ्नो घोषणापत्रमा मानसिक स्वास्थ्यदेखि लैङ्गिक विषयहरू छन् । सम्मानित रोजगारी, उद्यमशीलताको विकास आवश्यक छ । म आफूले यी क्षेत्रमा काम पनि गरी नै रहेछु । विकास निर्माण त मेरै क्षेत्र हो । म मेयरको रूपमा पनि यी नै कामहरू गर्ने किसिमले आएको छु ।’

घोषणा गर्न सकिने काम मात्रै 

उनले आफ्नो घोषणा पत्रमा वडा क्लिनिक देखि रेलसम्मका योजना अटाएका छन् । उनी आफ्नो कार्यकालमा रेल काठमाडौँमा चलाउँछु भनेर उल्लेख गरेका छैनन् । आफ्नो कार्यकालमा रेलको बारेमा राम्रो सङ्ग सम्भाव्यता  अध्ययन गर्ने उल्लेख गरेका छन् । पहिलेका राजनीतिक दलहरूले ठूला सपना देखाएर साना सपना पनि पुरा नगरेकाले आफ्नो घोषणा अनुसारका काम गर्ने उनी बताउँछन् ।

‘रेलका बारे मेरो कार्यकालमा सम्भावना अध्ययन मात्रै गर्न सकिन्छ । काम गर्नको लागि त काठमाडौं महानगरपालिका त के सरकारको बजेटले पनि मुस्किल पर्छ । ठूलो खर्च गरेर रेल बनाउने कि हाम्रा आधारभूत अवयश्कता शिक्षा, स्वास्थ्य, बिमा, सरकारी सेवा घर घर सम्म पुर्‍याउने पर्छ कि रेल भन्ने कुरा हो’ उनले आफ्नो घोषणा पत्रमा समेटिएका विषय प्रस्ट्याउँदै भने, ‘मेगा परियोजना बनाउँदा विदेशी सहयोग र लगानी चाहिन्छ । तर अन्य देशमा पनि मेट्रो रेल फाइदामा गएको छैन । त्यसैले अहिले नै काठमाडौँमा चुच्चे रेल कुदाउने सपना दिन  देखाउँदिन ।’

उनले हरेक वार्डमा वाडै क्लिनिक राख्ने सहज हुने र त्यहाँ सामान्य किसिमका स्वास्थ्य परीक्षणको सुविधा दिन सकिने उनी बताउँछन् । यस्तै उनले विद्यालयहरूलाई एकीकृत रूपमा सञ्चालन गर्ने घोषणा गरेको छन् । 

फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतका काम आफ्नै कार्यकालमा गर्न सकिने उनको दाबी छ । धेरै कामहरू भगिनी नगरपालिकाहरूसँगको समन्वयमा पनि गर्न सकिने भन्दै उनले त्यसका लागि सहकार्य गर्ने बताए । ‘यस्ता काम गर्न हामी सँग पैसा पनि छ । सहयोग गर्न चाहनेहरू पनि छन् । म त्यसको लागि समन्वयकारी काम गर्छु,’ बालेन भन्छन् । 

बालेनलाई भोट माग्न घरदैलो जाँदा होस् वा छलफलमा जाँदा धेरै मानिसहरूको प्रायः एउटै प्रश्नको सामना गर्ने गरेका छन् , ‘यहाँले चुनाव हार्नु भयो भने के गर्नु हुन्छ ?’

उनी आफूले उम्मेदवारी घोषणा गर्नु अगाडि पनि विकासको काममा सक्रिय भएको र जित हार जे भए पनि विकास कै काममा लाग्ने जवाफ दिने गरेका छन् । 

मत गणनाको इन्जिनियरिङ 

बालेनले महानगरपालिकाको उम्मेदवारी ९०,८३५ मत ल्याएर जित्ने बताएका छन् । मतको क्याल्कुलेसन पनि हजारको राउन्ड फिगरमा होइन, ठ्याक्कै पूर्ण अंकमा बताएका उनले घरदैलो र डेटा सलेक्सनबाट आएको परिणाम अनुसार आफूले प्राप्त गर्ने मतको अनुमान सार्वजनिक गरेको बताए । 

‘अहिले साना साना नानीहरूले पनि चुनाव भनेको के हो ? भोट किन दिनु पर्छ ? त्यो चुनावबाट गएको मान्छेले के काम गर्नु पर्छ ? मेयर र सांसदमा के फरक छ  ? लगायतका कुरा छोडेर राजनीतिको कुरा गर्न लागेका छन्’ उनी घरदैलोका प्रश्न स्मरण गर्दै भन्छन्, ‘कहीँ त बच्चाहरूले नै पनि आफ्ना अभिभावकलालाई बालेनलाई भोट हाल्नु पर्छ भनेका रहेछन् ।’

यसपालि चाहिँ बाबुआमाले छोराछोरीलाई यो पार्टी वा यो उम्मेदवारमा भोट हाल भन्दा पनि छोराछोरीले आमाबाबुलाई यो उम्मेदवारलाई भोट हाल्नुस् भनेर सिकाउने गरेको पाइएको बालेन बताउँछन् । 

यो भन्दा अगाडी पनि वैकल्पिक राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए । उनीहरूको मत जोड्ने हो भने ४१ हजार भोट हुन्छ । वैकल्पिक मिलेर गएको भए त्यो भन्दा राम्रो मत परिणाम आउने उनको बुझाई छ । अहिले पनि त्यही अवस्था रहेको बालेनको दाबी छ । उनको हिसाबका काठमाडौँका आधा मतदाता स्वतन्त्र रहेका छन् । ती मतदाताले दल भन्दा पनि उम्मेदवार हेर्ने उनको बुझाई छ । 

‘ती मतदाताहरू उम्मेदवारको भिजन र काम गर्ने प्रक्रिया हेरेर मत दिने हाम्रो अध्ययनले देखाएको छ’ आफूलाई मत दिनेको संख्या सुनाउँदै भन्छन्, ‘यहाँका आधा राजनीतिक दलमा आवद्ध भएका र नभएका गरेर आधा जति मतदाता युवाहरू छन् । मतदाता परिचयपत्र भएकाले परिर्वतन चाहेका छन् । भोट गर्न उमेर नपुगेकाहरूले भने आफ्ना अभिभावक सँग मेरो भिजन एजेन्डाका बारेमा हेर्न र बुझ्नको लागि प्रेरित गरेको पाइएको छ ।’ ती मतदाताहरूले यस पटक आफ्नो लागि हैन आफ्ना सन्तानको लागि भए पनि आफूलाई मत दिने बालेनको अपेक्षा छ ।

‘हारे पनि हराउँदिन’

कुराकानी बिट मार्ने क्रममा बालेन काठमाडौँको उम्मेदवार बन्दै गर्दा आफूमा भूमिका बढेको गम्भीर आवाजमा बताए । तर उनीले हारे के गर्ने भनेर सोच्ने अवस्थामा छैनन् । चुनाव अगाडि आफू विकासकै काममा सक्रिय भएकाले हार–जित जे भए आगामी दिनमा विकास कै लाग्ने उनको अठोट रहेको छ । 

‘हामीले पुरानो ढर्रा राजनीतिको मात्रै कुरा गर्ने हैन । अब विकासको कुरा र विकास कै काम गर्ने बेला भएको छ’ उनी भन्छन्, ‘तर मैले हारको बारेमा सोचेको छैन ।’ 

बालेन आफूले यतिका वर्षसम्म इन्जिनियरको रूपमा काम गरिरहँदा पाएको अनुभव र ज्ञानलाई मेयरको रूपमा खर्च गर्ने सोचमा छन् । भूकम्पको बेला १४ जिल्लामा गएर काम गरिएको अनुभव होस वा आफ्नो पेसा अन्तर्गत ६५ जिल्लामा गएर पाएको ज्ञान होस, बालेन यी सबैको सदुपयोग अब हुनुपर्ने भनेर लागेका छन् । त्यत्ति बेला काम गर्दा देखेका असमानता र विकृतिको पनि समाधान आवश्यक भएको ठान्छन् उनी ।

युवा पुस्ता राजनीतिमा नआएसम्म परिवर्तन नहुने सोच राख्छन्, बालेन । हरेक स्थानीय तहमा सम्भव नभएपछि केहीमा युवाको प्रतिनिधित्व हुने हो भने क्रान्ति हुने उनी ठान्छन् । ‘युवाले हस्तक्षेप नगरी हुँदैन,’ कुराकानी टुंग्याएर उठ्दै गर्दा उनले भने । 

बालेनले मेयरमा उम्मेदवारी घोषणाले अहिले चर्चा पाएको छ । चुनावमा उनी सफल होलान्/नहोला, त्यो भिन्न कुरा हो । निर्वाचनको मैदानमा प्रतिस्पर्धा गर्दा हार वा जित त भैहाल्छ । तर, उनको यो उम्मेदवारीले युवापुस्तामा उत्साह ल्याएको छ, समाजलाई तरंगित पारेको छ अनि स्थापित दलका उम्मेदवारलाई भयातुर पारेको छ ।  
 


Author

सुरेन्द्र बजगाईं

अर्थतन्त्र र सामाजिक विषयमा कलम चलाउने बजगाईं संवाददाता हुन् ।


थप समाचार
x