समाज

मतदान भइरहेका बेला विमानस्थलमा भेटिएका मानसिंहहरु....

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १७:५० बजे

काठमाडौँ - उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिए काठमाडौँ बनस्थलिका मानसिंह विष्ट । 

यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटक्कै मन छैन तर उनले रोक्न पनि सकेनन् । निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारीसाधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म आइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए । छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए । 


`विमानस्थल आउने हतारोले निर्वाचनमा भाग लिन पाइएन । आफ्नो प्रतिनिधि चयन गर्ने अवसर गुमाउनु पर्‍यो` किसनले सुनाए । आफ्नो टोलका सबै छिमेकी निर्वाचनमा सक्रिय सहभागी भइरहेको मानसिंहलाई थाहा छ । मत दिने मन त उनलाई पनि छ तर दक्षिण कोरिया उड्ने छोरालाई बिदाई नगरी उनी घरमै बस्न सकेनन् । 

`छोरा घर फर्केर आउँदा खुसी हुने मन विदेश उड्न लाग्दा भने साह्रै दुख्दोरहेछ` मानसिंहले गहभरी आँशु पार्दै भने, `यो बाध्यतालाई देश बनाउँछु भन्नेहरुले बुझिदिए कत्ति राम्रो हुन्थ्यो होला ।` स्थानीय निर्वाचनका कारण सवारीसाधन नचलेकाले धेरै टाढा टाढादेखि अनेकन दुःख गरेर विमानस्थल आइपुगेको बताउनेहरु धेरै थिए । तर, अन्य दिन भन्दा विमानस्थलमा आज चाप अलिक कम थियो । 

हरेक दिन सपना बोकेर उड्नेहरु कोही सकुशल फर्किएका छन् भने कोही बाकसमा बन्द भएर । रोजगारीको खोजीमा भौतारिएकाहरु मलिन मुद्राका साथ प्रस्थान कक्ष अगाडि उभिइरहेको दृश्यले धेरैको मन बिथोलिन्छ । 

औपचारिक तथ्याङ्कका आधारमा हरेक दिनजसो दुई हजार नेपाली रोजगारीको खोजीमा विदेशिरहेका छन् । श्रम र पसिना बिक्री गर्न विदेशिएका नेपालीले नै पठाएका विप्रेषणले मुलुक चलेको छ । विप्रेषण कम हुँदा देशको अर्थतन्त्र धरमराउन लागेको तथ्य पनि हाम्रा सामु छ । तर, देशभित्र महत्वपूर्ण चाड चलिरहेको बेला विदेशिनुपर्ने बाध्यता आफैँमा हृदयविदारक दृश्य भन्दा फरक थिएन । धेरै मानसिंहले बुढेसकालका सहारालाई विदेश पठाएर प्रतिक्षाका दिनहरु भित्तेपात्रोमा गनेर बसेका छन् । 

निर्वाचनमा आफ्नै परिवारको सदस्य उम्मेदवार भए पनि आज राति १० बजे कतार उडन लागेका धनुषा मिथिला नगरपालिकाका तेजनारायण यादवको मुहारमा खुसी थिएन । उनको काका नै प्रमुखको उम्मेदवार छन् । `देशभित्र रोजगारी छैन, खानु पर्‍यो परिवार पाल्नु पर्‍यो, निर्वाचन भनेर बस्ने अवस्था पनि रहेन` यादवले भने, `सामान्य झोला भिरेका यादवले भने “म र म जस्ताको दुःख सम्बोधन गर्ने गरी यस पटकको निर्वाचनले नेतृत्व छानिदिए अर्को पटक म पनि विदेश जान्न थिएँ ।`

धनुषादेखि बिरामी बोक्ने एम्बुलेन्समा कोचिएर सङ्घीय राजधानी उत्रेका यादव कुराकानीकै क्रममा मलिन सुनिए । उनको गला अवरुद्ध भइरहेको थियो । “परिवार छाडेर विदेश जान त कहाँ मन छ र ? तर बाध्यता छ हजुर, बाध्यता ।” पाँच महिनाको छुट्टी लिएर आएका यादव कतारमा टाइम किपरको काम गर्छन् । 

उनको अपेक्षा छ, विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने गरी निर्वाचित हुनेले काम गरिदिए आफूलाई असाध्यै खुसी लाग्ने बताए । कतार एयरबेजल यादवलाई राति १० बजे मात्रै बोकेर उड्छ । खाना न पानीका साथ विमानस्थलको प्रस्थान कक्ष अगाडिको घडीमा कहिले आँखा पुग्छ त कहिले आफू जस्तै विदेश जान आएकाको भीडमा । 

एउटै समूहमा भेटिनुभयो मोरङ उर्लाबारी अशोक राउत, झापा हल्दीबारीका गङ्गा कटुवाल र उदयपुरका नगेन्द्र मगर । बिहीबारलाई दुबईको जहाज नआएपछि होटलमा बस्नु परेको यर्थाथ सुनाउँदै राउतले भने “ निर्वाचन भनेर बसेर पनि भएन । यहाँ रोजगारी छैन, कमाई खाने बाटो छैन । यो बाध्यता छ हामीलाई ।”

बहराइनमा विगत पाँच वर्षदेखि चालकको रुपमा कार्यरत राउतले भने `निर्वाचनले हामी जस्ता परदेशीलाई स्वदेशमा नै बस्ने वातावरण बनाओस् भन्ने अपेक्षा छ ।` तीनै जनाको ‘लगेज’ एउटै ट्रलीमा घिसारिरहनु भएका नगेन्द्र मगरलाई राजनीतिक नेतृत्वले देश विकास भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागेको कुरा पटक्कै मन परेको रहेनछ । `निर्वाचनको दिन विदेश उड्न त मन थिएन नी । तर, राजनीतिक नेतृत्वले कहिल्यै हामीहरु जस्ताको चाहना र आवश्यकताको सम्बोधन गर्न सकेन ।`

`देशभित्रै रोजगारी होओस्, घरमै बसेर काम गरी खान पाइयोस् भन्ने मेरो पनि चाहना छ । तर, कहिल्यै त्यो अवसर आएन` मगरले भने । झापा हल्दीबारीका कटुवाललाई झापामा आज भइरहेको निर्वाचनको माहोल झल्झली आँखामा आइरहेको छ । ट्रली धकेल्दै उनले भने “निर्वाचन भनेर भएन । हाम्रो दुःख बुझिदिने कुनै नेता भएनन् । प्रभाव र पहुँच नहुनेले देशभित्र रोजगारीको अवसर पाउन मुस्किल भएको उनको गुनासो छ । 

सरकारले सबै नेपालीलाई देशभित्रै राख्न सकेको अवस्थामा विकासको शिखरमा पुग्न कुनै आइतबार कुर्नु नपर्ने उनको भनाइ छ । व्यवस्था परिवर्तन भयो । नागरिकले सङ्घर्ष गरेर ल्याएको राजनीतिक प्रणालीमा चरित्र भने पुरानै रहेको र नातावाद मौलाएकामा उनको आपत्ति छ । 

त्यस्तै, बुटवलका विष्णु पौडेल भने सुनधाराको एक होटलमा नै राहदानी छाडेर विमानस्थल पुगेछन् । सञ्चारकर्मीलाई विमानस्थलमा देखेपछि उनले तपाईहरु सरकारी कर्मचारी हो भन्ने प्रश्न गरे र आफ्नो अवस्था सुनाउन अगाडि सरे । 

आफ्नो झोला खोतल्दै एक अमूक पार्टीको स्टिकर निकाले । तर, राजनीतिक नेतृत्वप्रति गुनासो गर्न पनि छाड्नु भएन । राहदानी नै नभइ विदेश उड्न पाइएला त ? उनको जिज्ञासा थियो । हामीले राहदानी नभइ विदेश उड्न नपाइने बताएपछि हामीले नै होटलको नम्बर पत्ता लगाइदियौँ ।

होटल सञ्चालकले राहदानी ल्याइदिने बताएपछि ढुक्क देखिएका पौडेल पनि निर्वाचनको दिन विदेश जानु बाध्यता भएको बताउँछन् । `खाडी जान्छु भन्दा पनि वातावरण भएन` उनले भने । गाँउको विकास निर्माणको काममा राजनीतिक नेतृत्वले गरेको बदमासी आँखा चिम्लेर बस्ने कार्यकर्ताप्रति समेत उनले गुनासो गरे । 

विमानस्थलमा कोही आफ्ना छोरा बिदाई गर्न आएका आमाहरु भेटिए । कोही श्रीमान् बिदाई गर्न लालाबाला बोकर आएकाहरु पनि भेटिए । देशमा लोकतन्त्रको अभ्यास भइरहेको  बेला विमानस्थलमा भेटिएका कोही कसैको मनमा पनि  खुसी देखिँदैनथ्यो ।

निराश, हतास अनि मलिन अनुहारमा भेटिएका अधिकांशले देश बनोस्, देशभित्रै रोजगारी पाइयोस् भन्ने अपेक्षा भने गरेका थिए । दुखित मन लिएर उड्नेहरु कति खुसी भएर फर्केलान् कति अझै दुःख भोगेर फर्केलान् त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन । तर, यसरी देशमा चुनाव भइरहेकै बेला विदेशीने रहर भने कसलाई पो होला र ? रासस


Author

थप समाचार
x