समाज

३० बढी जिल्लामा ११० घटना घटे, ४० वटा मतदानस्थलमा पुनःमतदान, केहीमा स्थगित: प्रहरी

इकागज |
बैशाख ३०, २०७९ शुक्रवार १८:२४ बजे

फाइल फोटो

काठमाडौ - स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । 

केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्को दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो ।


यद्यपि समग्रमा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको नेपाल प्रहरीको निष्कर्ष छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट घटना देखिए पनि निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए । उनका अनुसार अपराह्न पाँच बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार आज ३० भन्दा बढी जिल्लामा ११० घटना भएको छ । उनका अनुसार अझै पूर्ण विवरण आउन भने बाँकी छ ।

प्राप्त विवरणअनुसार विवादका कारण अवरुद्ध भएका ४० वटा मतदानस्थलमा पुनःमतदान गरिएको थियो । उनले काभ्रे, सप्तरी, सर्लाहीलगायतका केही मनदानस्थलमा मतदान स्थगित भएको  जानकारी आएको बताए । केही जिल्लामा वर्षासमेतले मतदान प्रभावित बनाएको थियो ।

केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए ।  हुम्लाको एक ठाउँमा भने अश्रुग्यास नै प्रहार भएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन भएको हो । आज बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । 

रासस


Author

थप समाचार
x