समाज

निर्वाचन पर्यवेक्षण निस्कर्ष: ‘छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण  र विगतभन्दा संयमित’

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार २१:५७ बजे

काठमाडौँ - स्थानीय तहको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आम रुपमा शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको निस्कर्ष आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालको छ । उसले विगतको तुलनामा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित र शान्त भएको पाएको जनाएको छ ।

निर्वाचन सकिएपछि जियोकद्वारा विज्ञप्तिअनुसार, एकाध ठाउँमा बाहेक मतदान प्रक्रियालाई बिथोल्ने घटना भएको पाइएन भने मतदान केन्द्रमा दलहरुबीच विवाद पनि देखिएन । यसरी निर्वाचन व्यवस्थापन र मतदान प्रक्रियामा सुधार हुँदै जानु लोकतन्त्रका निम्ति शुभ संकेत भएको मान्न सकिन्छ । 


जियोकले २०४८ देखि नियमित रुपमा संसदीय निर्वाचन, स्थानीय निकायको निर्वाचन, संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्दै आएको छ । उसको ३५ वटा जिल्लाको २०० पालिकामा राष्ट्रिय स्तरका ४०, जिल्लास्तरका ३० र स्थानीय तहका ३३० सहित पूर्व प्रधान न्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वमुख्य सचिवहरुसहितको ९ विशेष पर्यवेक्षक गरी जम्मा ४०९ जनाको टोलीले पर्यवेक्षण गरेका थिए ।

पर्यवेक्षणअनुसार, उम्मेदवारभन्दा मतपत्रमा चिन्ह बढ्ता हुँदा मतपत्र अनावश्यक रुपमा ठूलो, भ्रामक र जटिल भएको, सबै उम्मेदवारहरुको सम्बन्धमा आधारभूत सूचनामा पहुँच पाउन सकिने अवस्था नभएको, उम्मेदवार, निज सम्बद्ध दल र मतपत्रमा तिनको चिन्हको बारेमा थाहा पाउन सक्ने अवस्थाको अभावले गर्दा मतदाताले सूसुचित र विवेकपूर्ण मत संकेत गर्न व्यवधान रहेको पाइयो । 

जियोकका महासचिव कृष्णमान प्रधानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारहरु, ती सम्बद्ध दल र मतपत्रमा उनीहरुले पाएको चिन्हबारेमा निश्चित ढंगले सूचना प्रसार गर्ने प्रक्रिया र संयन्त्रसहितको पहुँचयोग्य व्यवस्थाको अभाव रहेको पृष्ठभूमिमा मतदाता शिक्षा र सूचना सम्प्रेषण पद्धती व्यापक र प्रभावकारी हुनु पर्नेमा त्यसको अभाव अति नै खट्केको पाइयो । उम्मेदवार नै नरहेको निर्वाचन चिन्ह समेत समावेश भएको मतपत्रको औचित्य र वैधताको प्रश्न समेत उपस्थित रहेको पाइयो । यसले गर्दा पहिलेभन्दा बदर मतपत्रको प्रतिशत यसपाला धेरै हुन सक्ने सम्भावना देखिन आएको छ ।’

पर्यवेक्षणमा केही स्थानमा टाढाबाट आउनु पर्ने अवस्थाका मतदाता सवारी साधनको अनुपलब्धताले गर्दा मतदानबाट बञ्चित भएको पाइयो । कतिपय मतदान केन्द्र आवतजावत गर्ने बाटोसमेतका पूर्वाधार अभाव रहेको पाइयो । केन्द्रसम्म मतदान गर्न आएकाहरु पनि विविध कारणले गर्दा (जस्तो परिचयपत्र वा अन्य परिचय खुल्ने कागजात नभएको, परिचयपत्र भएको तर अर्को मतदान केन्द्रमा नाम भएको हुँदा हिंडरै जान सम्भव नभएको र मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा नाम नभएको) मतै नखसाली फर्कनु परेको पनि अवस्था पाइयो । परिचयपत्र सम्बन्धी व्यवस्थालाई व्यवस्थित, त्रुटिरहित, विश्वसनीय र उपयोगी बनाउनु पर्ने देखियो ।

पर्यवेक्षणको निस्कर्ष छ, ‘निर्वाचन आचार–संहिताको पालना समग्र रुपमा सन्तोषजनक नै रहेको पाइयो भने केही स्थानमा आचार–संहिता उलंघनका संकेतहरु देखिएकोले प्रभावकारी सरोकारको विषय पाइयो । निर्वाचन प्रक्रिया र व्यवस्थापन विगतभन्दा सहज, सुविधायुक्त, शान्तिमय र स्वीकारयोग्य हुँदै गएकाले लोकतन्त्र परिपक्व र सुदृढ बनाउन यसले महत्वपूर्ण योगदान दिन सक्नेछ ।’
 


Author

थप समाचार
x