मिथिलाको महाकुम्भ माध्यमिकी परिक्रमा सम्पन्न
जनकपुरधाम : मिथिलाको महाकुम्भ लामो पदयात्रा १५ दिवसीय माध्यमिकी परिक्रमा विधिवत रूपमा सम्पन्न भएको छ । प्रत्येक वर्ष फाल्गुन औंसीदेखी विधिवत रूपमा सुरु भएको माध्यमिकी परिक्रमा नेपाल र भारतको १५ वटा विश्राम स्थलमा भगवान श्रीराम जानकीको डोलासँगै लाखौं साधु सन्त श्रद्धालुको सहभागितामा आइतबार जनकपुरधाममा अन्तगृह परिक्रमा घुमेर सम्पन्न भएको हो ।
तराई मधेशमा अन्तगृह परिक्रमाको भोलिपल्ट होली मनाउने परम्परा अनुसार यसवर्ष होली भोलि सोमबार मनाइने भएको छ ।
फागुन औंसीको दिन धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्निकुण्डबाट किशोरीजीको डोलासहित माध्यमिकी परिक्रमा सुरु भएको थियो । त्यो माध्यमिकी परिक्रमा नेपालका १३ र भारतको २ गरी १५ वटा विश्रामस्थलसहित १ सय ३३ किलोमीटरको पदयात्रा गर्ने गरिन्छ । भक्तालुले सो अवधिभरको खानासँगै लिएर हिड्ने गर्छन ।
माध्यमिकी परिक्रमामा नेपालका विभिन्न स्थानका साथै भारतका सीमावर्ती क्षेत्रसहित अध्योध्या, दरभंगा, सितामढी, पटनालगायतका श्रद्धालु भक्तजनहरू सहभागी भई नांगो खुट्टाले पदयात्रा गरेका छन् ।
परिक्रमाको महत्व
मिथिला महात्ममा मिथिलामा वृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख छ । धनुषा कचुरीका सुखदेव दासले परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने बताए । उनले परिक्रमा पारिवारिक कल्याणका साथै सामाजिक कल्याणका लागि समेत महत्वपूर्ण रहेको बताए ।
फागुन शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने यो धर्मयात्रा सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ति हुने विश्वास छ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निर्माण गरिएका कलाणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी यो परिक्रमा यात्रा सुरु गरिएको हो ।
परिक्रमाको प्रारम्भ
मिथिलामा गरिने यो लामो पदयात्रा परिक्रमाको प्रारम्भबारे कतै उल्लेख छैन । यद्यपि भगवान गणेशद्वारा तीनै लोकको परिक्रमाको क्रममा माता पार्वती र पिता महादेवको परिक्रमा गरेको धर्मग्रन्थहरूमा उल्लेख छ । आफ्ना अराध्य देव देवी तथा पुण्यभूमिको परिक्रमा गर्नाले पुण्यको प्राप्ति हुने जनविश्वास छ । मन्दिरमा देवी देवताको पूजा गरेपछि त्रिपेक्षण गर्नुलाई परिक्रमाकै स्वरुपको रूपमा लिइन्छ ।
मिथिला मध्यमा परिक्रमा सम्बन्धमा मिथिला महात्ममा चर्चा भएको पाइन्छ । मिथिला महात्म १८औँ शताब्दीमा लेखिएको मानिन्छ । यस हिसाबले मिथिला मध्यमा परिक्रमा १८ औँ शताब्दीभन्दा पहिले नै सुरु भएको हुन सक्ने अनुमान गरिन्छ ।
परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्न धनुषाको कचुरी मठको प्रयासलाई सराहनीय मान्न सकिन्छ । सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ ।
परिक्रमाको नेतृत्वको विषयलाई लिएर कचुरी मठ र जनक दुलारी मन्दिरबीच मुद्दासमेत चलेको थियो । तर वि.सं. १९९०मा जिल्ला अदालत धनुषाले कचुरी मठकै पक्षमा फैसला सुनाएको थियो ।
विश्राम स्थलहरू
नेपाल-भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतिक बनेको परिक्रमा यात्राका लागि नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । नेपालको १०७ एवम् भारतको २६ गरी १३३ किलो मीटर भूमिमा परिक्रमा (पैदलयात्र) गर्ने परम्परा छ ।
विगतमा भएका पाप नास भएर मनोकामना पूरा हुने धार्मिक मान्यता अनुसार परिक्रमाका यात्रुहरू भारतको कलाणेश्वर, गिरिजास्थान र नेपालको महोत्तरीका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा, करुणा, एक-एक रात विश्राम गरी पुनः कल्याणेश्वर हुँदै पूर्णिमाको अघिल्लो रात जनकपुरधाम सहितका ठाउँमा घुम्ने गर्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया