विशेष रिपोर्ट

र्‍यापर मेयरको रफ राजनीति

बालेनको नौ महिने वासलात

सृजना खड्का | उपेन्द्र अर्याल |
फागुन २, २०७९ मगलवार १२:२८ बजे

कालो चस्मा, भाद्‌गाउँले टोपी, सेतो दौरा-सुरुवालमाथि कालो कोट । २०७९ जेठ १६ गते काठमाडौँ महानगरपालिकाको मेयरको कुर्सीमा बसेर पहिलोपल्ट बालेन्द्र शाह (बालेन)ले भनेका थिए- यो सेलिब्रेसन होइन, शोक मनाउने बेला हो । फोहोर व्यवस्थापन नभएसम्म म खादा र माला लगाउँदिनँ । सेलिब्रेसन गर्दिनँ । अन्तर्वार्ता दिन्‍नँ ।

उनले यो पनि भनेका थिए- हाम्रो पहिलो प्राथमिकता फोहोर व्यवस्थापन हुनेछ । काठमाडौँबासीले गरेको ‘पाप’ सिसडोलबासीले भोगिरहेका छन् । हामीले गर्दा उनीहरू क्यान्सर पीडित र छाला रोगी भएका छन् । उनीहरू दिनदिनै मरिरहेका छन् । उनीहरूलाई पनि स्वच्छ हावा र पानीको अधिकार छ । सिसडोलबासीले स्वस्थ जीवन बाँच्न पाउने अधिकार पूरा नभएसम्म अरु केही गर्दैनौँ ।


मेयर भएको चार दिनमै बालेन स्थानीयको अवस्था बुझ्‍न सिसडोल गएका थिए । त्यहाँ स्थानीय र उनीबीच रस्साकस्सी नै पर्‍यो । सिसडोलबासी नयाँ मेयरसँग आफ्ना वेदना पोख्‍न थाले । मेयर बालेनले १७ वर्ष पहिलेको कुरा आफूमा नलाद्न जंगिए । स्थानीयलाई शान्त भएर आफ्नो कुरा सुन्‍न आग्रह गर्दै उनले भनेका थिए, ‘म यो चार दिनमा यही कुरा लिएर प्रधानमन्त्री, मन्त्री र मन्त्रालयहरूमा गइरहेको छु । कि नजा भन्‍नु, कामै नगर् भन्‍नु । १७ वर्षको कुरा ममाथि किन लाद्नुहुन्छ ? मलाई काम गर्न दिनुपर्‍यो नि । काम गर्न दिनुभयो भने न काम हुन्छ ।’

झिँगा भन्किरहेको फोहोरको थुप्रोमाथि बसेर मेयर बालेनले यो पनि भनेका थिए, ‘म स्वतन्त्र व्यक्ति हुँ । कुनै पार्टीको केही लाग्दैन । कसैसँग साँठगाँठ गरिरहनु पर्दैन । म मेयर बन्‍नुपर्दैनथ्यो । पत्रिकामा देख्‍नु नै भयो होला, मसँग ७०-८० बिघा जमिन भएको के-के कुरा आइरहेको थियो । म इन्जिनियर हुँ । महिनाको साढे तीन लाख रुपैयाँ तलब खाने मान्छे हुँ । मलाई काम गर्न दिनुस् ।’ उनको यो प्रतिबद्धतामा स्थानीयहरूले खुसी हुँदै ताली पिटेका थिए । 

त्यस बेला बालेनले तालीकै लागि बोलेका थिए वा साँच्चै स्थानीयको पीडा पनि बुझेका थिए ? प्रश्‍न छँदै छ । पछिल्लो समय मेयरको डोजरले निकै चर्चा पायो । डोजरले पार्किङका लागि बेसमेन्ट खाली गर्‍यो । अतिक्रमण गरेका जग्गा फिर्ता गर्ने भन्दै बस्ती कोतर्‍यो । सुकुम्बासीको सातो उडायो । त्यस्तै, महानगरको पहलमा बानेश्वर, बागबजार, बौद्ध, मैतीदेवी, दरबारमार्ग लगायतका पार्किङ हट्यो । फुटपाथ व्यापारीहरू सडकबाट बढारिए ।

उता सकुम्बासी कुन मनोदशाबाट गुज्रिरहेका छन् ? फुटपाथ व्यापारीहरू कहाँ छन् ? सिसडोल र बञ्चरेडाँडाको अवस्था कस्तो छ ? अत्तोपत्तो छैन । यता मेयरको कामको भने वाहवाही भइरहेको छ । वाहवाहीसँगै थुप्रै प्रश्‍न उठिरहेका छन् । प्राय: प्रश्‍न अनुत्तरित छन् । जनप्रतिनिधि बालेन यसको जवाफ दिन जरुरी ठान्दैनन् । उनी फोन उठाउँदैनन्, अन्तर्वार्ता दिँदैनन् । त्यसैले, उनलाई सोध्‍ने प्रश्‍नको जवाफ खोज्न सुरुमा हामी सिसडोल हुँदै बञ्चरेडाँडा पुग्यौँ । 

माघ १८ गते, बुधबार  
स्थान : सिसडोल र बन्चरेडाँडा 

बालाजु बाइपासबाट त्रिशूली जाने बाटो लागेपछि मुड्खु भञ्ज्याङ आउँछ । त्यहाँबाट तीनपिप्ले हुँदै १० किलोमिटर ओरालो लागेपछि सिसडोल पुगिन्छ । सिसडोलमा थुप्रिएको फोहोरको पहाड छिचोलेर दुई किलोमिटर अगाडि बढेपछि बञ्चरेडाँडा पुगिन्छ । 

२०६२ जेठ ६ गतेदेखि सिसडोलमा काठमाडौँको फोहोर फ्याँक्न थालियो । दुई वर्षलाई भनेर फ्याँक्न थालिएको फोहोर १७ वर्षसम्म फ्याँकियो । सिसडोलमा फोहोरको पहाड बनेको छ । फोहोरका गाडीहरू बञ्चरेलाई दोस्रो सिसडोल बनाउने यात्रामा गुडिरहेका देखिन्छन् । सिसडोलमा फोहोर फ्याँक्न छाडेको नौ महिना बितिसिक्दा पनि पहाडबाट लिच्चड चुहिन छाडेको छैन । गाउँ गन्हाउन बन्द भएको छैन । सिसडोलबासीलाई झिँगाले छाडेका छैनन् । 

सिसडोलमा फोहोर फ्याँक्न छाडेको जति महिना भए पनि सानुमाया बलामीको जीवनमा कुनै परिवर्तन आएको छैन । ‘फोहोर लैजाने बाटो यही हो,’ आफ्नो गुनासो सुनाउँदै उनले भनिन्, ‘गाडीहरू धुलो उडाउँदै, फोहोर खसाल्दै आउँछन् । भन्‍न त खेतबारी बनाइदिन्छु भनेका छन् । बनाएर के गर्नु ? फोहोरको बाफले आगो लगाएसरि डढेको छ । जे रोपे पनि उब्जिँदैन । त्यत्रो वर्ष फालेको फाहोरले हामीलाई यत्तिकै कहाँ छाड्ला र ?’

बन्चरेडाँडाका लक्ष्मी तामाङ र रत्‍नबहादुर तामाङको दुखेसो पनि सिसडोलकी सानुमायाको भन्दा कम छैन । फोहोर फ्याँक्न पाइँदैन भन्दै यहाँ बेला-बेला आन्दोलन चर्किन्छ । स्थानीयहरू गुलेली बोकेर बाटो छेक्न थाल्छन् । लाठी र बन्दुक बोकेका सुरक्षाकर्मीको स्कटिङमा फोहोरको गाडी आउँछ । दुईबीच झडप हुन्छ । झडप हुने केन्द्र स्थान लक्ष्मी र रत्‍नबहादुरकै घर हो । आन्दोलन चर्किंदा उनीहरूको घरको छानामा ढुङ्गा बर्सिन्छ । ढुङ्गाबाट जोगिन सुरक्षाकर्मीहरू उनीहरूकै घरमा ओत लाग्छन् । चारैतिरबाट उनीहरूप्रतिको आक्रोश घरको छानामा पोखिन्छ ।

बञ्चरेडाँडावासी रत्नबहादुर तामाङ

 

‘झडपले गर्दा घरको छानो चाल्नीजस्तो भएको छ,’ रत्‍नबहादुरले हामीलाई भने, ‘खाल्डोमा घर छ । वरपरका सबैले माथिबाट ढुङ्गाले हान्छन् । एउटै जस्ता पाता सद्दे छैन । सबै ध्वस्त भइसक्यो ।’
सिसडोल हुँदै बन्चरे जाने बाटो कतै पिच छ, कतै कच्ची । फोहोरका ट्रक हुइकिँदा धुलोले आँखै हेर्न सकिँदैन । जाडो महिना भए पनि जताततै झिँगा भन्किएका छन् । गाडी एकछिन जाममा पर्दा लिच्चड चुहिन्छ । गन्हाएर बस्नै नसक्ने हुन्छ । ‘धुलो उड्यो भने कहिलेकाहीँ यसो पानी हाले जस्तो गर्छन्,’ उनले सुनाए, ‘कर्मचारी त आउँछन्, तलब पकाउँछन्, जान्छन् । सास्ती हामीले भोग्नुपरेको छ । 

दिनको तीनपटक औषधी हाल्दा पनि झिँगाले छाड्दैन । पालेका कुखरा रोगाएर खत्तम भइसके । बोटबिरुवा र जीवजन्तुलाई त्यति असर गरेको छ भने हामी मान्छेलाई केही भएको छैन होला ?’ लक्ष्मी भने खासै बोल्न मन गरिनन् । मिडियाका मान्छेसँग उनलाई खासै बोल्न मन लाग्दैन । जति बोले पनि आफ्नो कुरा पुग्नुपर्ने ठाउँसम्म नपुगेको उनको गुनासो छ । हामीले बिदा माग्दै गर्दा उनले एउटै कुरा भनिन्, ‘हामीले बोल्नु हुँदैन । फोहोर भयो, गन्हायो भन्‍नु हुँदैन । बोल्यो भने त लौरो खाइन्छ ।’

निर्वाचन आयोगबाट लौरो चुनाव चिह्न पाएपछि बालेनले आफ्नो फेसबुकमा लेखेका थिए- बूढाबूढीलाई टेकाउने, भ्रष्टाचारीलाई सेकाउने । सिसडोल र बञ्चरेडाँडाबासीका कुरा सुनेपछि प्रश्‍न बालेनतिरै फर्किन्छ । उनको लौरोले कति बूढाबूढीलाई टेकायो, कति भ्रष्टाचारीलाई सेकायो ?

बालेनले चुनाव अगाडि र्‍यापमार्फत गाएका गीतमा सरकारप्रतिको आक्रोश देखिन्छ । उनले कान्तिपुर टेलिभिजनको ‘इट्स माई सो’ कार्यक्रममा भनेका थिए- ‘थोरै मनोरञ्जन पनि थियो । तर, मैले हिपहप म्युजिक एउटा क्रान्तिका रूपमा गरिरहेको थिएँ । त्यो समाजमा भएको विसंगतिबारे थियो । म प्राय: नेतालाई गाली गर्थें ।’ ‘नेतालाई गाली गर्थें’ भनेर निर्धक्क स्वीकारेका मेयर बालेन अहिले आफू भने प्रश्‍नबाटै तर्किरहेका छन् ।

त्यही टिभी सोमा उनले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ बोलको गीतमा र्‍याप पनि गाएका थिए । के निर्वाचन अगाडि आफ्नो प्रचारका लागि गाएको उक्त गीतअनुसार नै बालेन गरिबको बोली बने त ? यही प्रश्‍नको जवाफ खोज्न अर्को दिन हामी बानेश्वरका सडकपेटी डुल्यौँ ।

माघ १९ गते, बिहीबार 
स्थान : बानेश्वर फुटपाथ

आइप्लेक्स मल नजिकैको सुनसान गल्लीको साँघुरो सटरमा ग्राहक कुरेर बसिरहेकी थिइन्, लक्ष्मी रेग्मी । सहरको प्राय: भान्सामा उनले सडकपेटीमा बसेर बेचेको तरकारी पाकेको छ । सुनसरीबाट २२ वर्षअघि सहर छिर्दा त्यही बानेश्वरको फुटपाथ हो, जसले उनलाई रोजगारी दिएको थियो । रोजीरोटी दिलाएको थियो । 

त्यसबेला कम लगानीमा लक्ष्मीले गर्न सक्ने एउटै काम थियो, फुटपाथमा तरकारी व्यापार । तर, केही महिनाअघि महानगरले सडक बढार्दा, उनीहरू पनि बढारिए । उनीजस्ता थुपै फुटपाथ व्यापारी बेरोजगार बने । 

लक्ष्मी अहिले १० हजार रुपैयाँ भाडा तिरेर पाँच बित्ताको सटरमा तरकारी बेचिरहेकी छिन् । फाट्टफुट्ट हुने व्यापारले घर चलाउन त के भाडा तिर्नसमेत पुग्दैन । बानेश्वरमा भन्‍नेबित्तिकै सटर भेटिँदैन । भेटे पनि सामान्य व्यापारीले तिर्नै नसक्ने भाडा हुन्छ । अहिलेको सटर पनि लक्ष्मीले मौकाले भेटेकी हुन् । 

तरकारी व्यापारी लक्ष्मी रेग्मी

सटरमा तरकारी महँगो होला भनेर ग्राहकहरू हत्तपत्त छिर्दैनन् । पाँच किलो तरकारी ल्याउँदा पनि बिक्री हुन दुई दिन लाग्छ । ‘तरकारीमा सटरको भाडा पनि जोडेको होला भनेर मान्छेहरू खासै किन्‍न आउँदैनन्,’ उनले भनिन्, ‘अरुको त के कुरा गर्नु हामीलाई डन्डा लगाएर लखेट्ने तिनै महानगरका प्रहरीहरू सटरमा तरकारी किन्‍न आउँदैनन् । उनीहरू आफैँ सडकपेटी र ठेलागाडा खोज्दै हिँड्छन् ।’

बीसौँ वर्षदेखि उनीसँगै तरकारी बेच्नेहरू चार महिना बितिसक्दा पनि सटर खोज्दै भौँतारिइरहेका छन् । कोही गरिखाने बाटो नदेखेर गाउँ फर्किए । केही विकल्प खोज्दै फुटपाथबाट अलि भित्र निजी व्यक्तिले बनाएको तीनतले टहरामा सरेका छन् । जहाँ उनीहरू दैनिक पाँच सयदेखि १५ सयको दरले भाडा तिरिरहेको बताउँछन् । त्यही ठाउँ पनि खोसिने डरले त्यहाँका व्यापारीहरू खासै बोल्न खोज्दैनन् । त्यहाँ कुनै दिन त बोहनी नै नहुने उनीहरूको गुनासो छ । ‘दिनकै पैसा उठाउन आउँछन्, नदिए भोलिदेखि नआउनू भन्छन्,’ नाम नबताउने सर्तमा एक व्यापारीले भने, ‘भवन खासै बलियो पनि छैन । एकपटक भूकम्प आयो भने सबैजना सोतर हुन्छौँ ।’ 

काठमाडौँ महानगरपालिकामा यसपटक भने युवा उम्मेदवारलाई देखेर लक्ष्मी जस्ता थुप्रै फुटपाथ व्यापारीमा एक किसिमको आशा पलाएको थियो । तर, त्यो आशा बेच्न राखेको तरकारी महानगर प्रहरीले सडकभरि असरल्ल पारेसँगै मर्‍यो । ‘चोरेर ल्याएको सामान जसरी घिसारेर, लतारेर लैजाँदा दु:ख लाग्छ,’ लक्ष्मीले दुखेसो पोखिन्, ‘हामीलाई यो देशको मान्छे नै होइन जस्तो व्यवहार गर्छन् । सडक छाडेर यो उमेरमा जागिर खोज्न कहाँ जानु ?’

लक्ष्मीलाई लाग्छ- गरिबको व्यथा बुझ्‍ने नेता जनताले कहिल्यै पाएनन् । उनका थुप्रै साथी गरिखान नपाएर डिप्रेसनमा गएका छन् । उनी आफैँ कुनै समय निकै अप्ठ्यारोमा थिइन् । ‘कति दिन त निद्रै परेन,’ उनले सम्झिइन्, ‘कहाँ जाने, के खाने भन्‍ने पीडाले सताइरहन्थ्यो । धनीहरू त भाटभटेनी जालान्, होलसेल धाउलान् । गरिबहरू कहाँ जाने ?’ फुटपाथ हटाएपछि धेरैले लक्ष्मी र उनका फुटपाथ व्यापारी साथीहरूलाई भने, ‘काठमाडौँमै किन बस्नु ? गरिखान नसके आफ्नै गाउँ फर्किनु नि ।’ उनीहरूलाई लक्ष्मीहरूको साझा प्रश्‍न छ- राजधानी तिमीहरूको मात्रै हो र ?

लक्ष्मी जस्तै कौशिला चन्दन बैतडीबाट आएर फुटपाथमा कपडा व्यापार गर्न थालेको एक दशक भयो । पाँच जनाको परिवार त्यही पसलले धानिरहेको थियो । महानगरले लखेटेपछि उनी पनि अलपत्र परेकी छिन् । ‘आफूजस्तो अनपढ बच्चालाई बनाउनु भएन भनेर सहर आइयो,’ उनले भनिन्, ‘उनीहरूलाई कापी र सिसाकलकम किन्दिन सकिएला कि भनेर दु:खजिलो गरेका हौँ । गाउँमा दु:ख गरे पेट मात्रै भरिन्छ, पैसाको मुख देखिँदैन ।’ 

कौशिलाका अनुसार उनीसँगै फुटपाथमा कपडा व्यापार गर्ने एकजना साथीले केही दिनअघि झुण्डिएर आत्महत्या गरे । ‘बेलुका कमाएर बेलुका खाने मान्छेलाई गरिखान नदिएपछि मरिजान परेन,’ उनले सुनाइन्, ‘त्यत्रो ठूलो व्यापारीले त जलेर मर्नुपर्‍यो । उसलाई त कसैले हेरेनन् । सबै आ-आफ्नो कुर्सी तानेर बसे । हामीलाई त कसले गन्‍ने ?’

कपडा व्यापारी कौशिला चन्दन

महानगरलाई कौशिलाको प्रश्‍न छ- बानेश्वरको फुटपाथ हटाएर के परिवर्तन भयो ? के सुधार भयो ? हामीलाई हटाएर बानेश्वर अब अमेरिका हुन्छ कि स्विट्जरल्यान्ड ? फुटपाथ त त्यहाँ पनि हुन्छ नि हैन र ?

‘समात्ने नै भए चोर, डाँका, गुण्डा र लफङ्‌गालाई समात । देश बेचुवालाई समात । सुन तस्करी गर्नेलाई समात । बलात्कार गर्ने र मान्छे मार्नेलाई समात, गरिब गुर्जालाई समातेर के हुन्छ ?,’ उनी थप्छिन् । 

०००
बानेश्वरको फुटपाथमा लक्ष्मी र कौशिलाका कथा सुनेपछि हामी बालेनले डोजर चलाएको थापाथलीको सुकुम्बासी बस्ती पुग्यौँ । बस्तीका मान्छे मिडियामा बोल्न तयार थिएनन् । सुकुम्बासीले लगाएको गरगहना र लत्ताकपडाको फोटो खिचेर ‘सुकुम्बासी होइनन्, हुकुम्बासी हुन्’ भनेर आएका हेडलाइनलाई लिएर उनीहरू आक्रोशित देखिए । तर, केही बेरको प्रयासपछि पवित्रा रनपहेली कुराकानीका लागि राजी भइन् । 

गत मंसिर १२ गते महानगरको डोजर थापाथलीको सुकुम्बासी बस्तीमा छिर्दा पवित्रा श्रीमान्‌को काजकिरियामा व्यस्त थिइन् । आठौँ दिनको ‘पुण्यतिथि’का लागि घरमा पुरेत आएका थिए । दु:खमा साथ र समवेदना प्रकट गर्न आएका आफन्त र शुभचिन्तकहरूले घर भरिएको थियो । श्रीमान्‌ गुमाउनुको पीडा एकातिर थियो । त्यही बेला अकस्मात् बस्तीमा डोजर छिरेपछि के गर्ने, उनले सोच्नै सकिनन् । 

बस्तीमा झडप हुन थालेपछि गरुड पुराण वाचन गरिरहेका पुरेतहरू टकटकिन थाले । पाहुना आत्तिएर यताउति गर्न थाले । छिमेकीहरू घरभित्रका सामान बाहिर निकाल्नु भन्दै अत्याउन लागे । ‘डोजर र झडप देखेपछि पुरेतहरू १० दिनमै काम सक्काइदिनुस् भन्‍न थाले,’ त्यस दिनको घटना सम्झिँदै पवित्राले भनिन्, ‘घर भत्के पनि १३ दिनसम्मै काम गर्छु भनेँ ।’

बस्तीका मान्छेको प्रतिरोधपछि डोजरले घर भत्काउन पाएन । उनले डरैडरका बीच १३ दिनको काजकिरिया सकिन् । तर, अझै महानगरले कहिले घर भत्काउँछ भन्‍ने डर भने मनबाट हटेको छैन । पवित्राको परिवार २१ वर्षअघि मोरङबाट काठमाडौँ आएको थियो । उता थोरै ऐलानी जग्गा थियो । तर, ज्याला मजदुरी गरेर पेट पाल्न गाह्रो भएपछि चार छोराछोरीसहित उनीहरू काठमाडौँ आए । त्यही बेला उनका श्रीमान्‌ भक्तबहादुरले विदेश जाने मनस्थिति बनाए । गाउँको जग्गा बेचे । मेनपावरले न भिसा दिलायो, न पैसा फिर्ता । दोस्रोपटक फेरि ऋण गरेर उनी मलेसिया जान सफल भए । ‘त्यो बेला म जेठो छोरासँग बुद्धनगरमा बस्थेँ,’ उनले भनिन्, ‘ज्यामी काम गर्थें । तीनजना छोराछोरीलाई माइतीले राखिदिएको थियो ।’

आफ्नो कमाइले घर धान्‍न र भाडा तिर्न मुस्किल भएपछि पवित्रा थापाथलीको सुकुम्बासी बस्तीमा बस्न थालिन् । ‘जग्गा किन्‍ने पैसा थिएन,’ उनले सुनाइन्, ‘सबै परिवार एकै ठाउँमा बस्ने भनेर श्रीमान्‌ले विदेशबाट ल्याएको पैसाले यहीँ सानो बास बनायौँ ।’

तर, उनको त्यही घर पनि २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारले भत्काइदियो । ‘त्यसबेला घरबाट एउटै सामान निकाल्न पाइएन,’ उनले भनिन्, ‘एउटा बाँसकै तीन सय रुपैयाँभन्दा बढी पर्थ्यो । दु:खले बनाएको घर भत्काइदिँदा धेरै पीडा भयो ।’

यसपटक काठमाडौँमा युवा मेयर पाएर उनलाई आफ्नो कुरा सुन्‍ने मान्छे पाएजस्तो भएको थियो । तर, उनले पनि गरिब र दु:खीको कुरा नसुनेको पवित्राको गुनासो छ । ‘चुनावका बेला भोट दिनुभयो भने सुकुम्बासीलाई राम्रो गर्छौं, लालपुर्जा दिन्छौँ भन्छन्,’ उनले भनिन्, ‘यसपटक त झन् युवक मेयरप्रति धेरै आशा थियो । नयाँ मान्छले केही गर्ला भनेर लौरोमा भोट हाल्यौँ । अहिले त्यही लौरोले हामीलाई लखेटिरहेको छ ।’

थापाथली सुकुम्बासी बस्तीकी पवित्रा रनपहेली

काठमाडौँलाई सहर बनाउन आफूजस्ता थुप्रै सुकुम्बासीको योगदान रहेको उनको तर्क छ । ‘मेरो श्रीमान्‌ मिस्त्री काम गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘उहाँले काठमाडौँका थुप्रै घर बनाउनुभएको छ । तर, उहाँ बित्दा राम्रोसँग किरियासमेत गर्न पाइनँ । हाम्रो पसिनाको कुनै मूल्य छैन ? हामी चाहिँ नेपाली जनता होइनौँ ?’

उनले थपिन्, ‘मेयरसापले हामीलाई हटाएर सहर सफा बनाउन खोज्नुभएको होला । मान्छेबिनाको सफा सहर कस्तो हुन्छ ? आफू जस्तै सधैँ कालो चस्मा र कोट लगाएर हिँड्नेलाई मात्र उहाँले मान्छे गन्‍नुभयो । जनतालाई कसरी सफा र कसरी खुसी राख्‍ने उहाँले सोच्नुभएन । हामीलाई गन्‍नुभएन ।’

बालेनलाई पवित्राको प्रश्‍न बोकेर हिँडिरहेका हामी त्यही बस्तीकी सुशीला विश्वकर्मासँग ठोक्कियौँ । उनले पनि आफ्नो व्यथा उसैगरी बेलिबिस्तार लगाइन् । महानगरको निर्देशनमा सुकुम्बासी बस्तीमा डोजर छिरेको दिन सुशीला छिमेकीको मलामी जाने तयारीमा थिइन् । तर, डोजर आएको खबर पाएसँगै वरपरका सबै जना आफ्ना सामान निकाल्न थाले । उनी पनि सामान निकाल्ने तरखरमा लागिन् । वर्षौँ दु:ख गरेर जोडेका सामान थिए । ती सबै सामान एक्लै निकाल्ने आँट उनलाई आएन । ‘जाडो महिना भएकाले एउटा सिरक चाहिँ राति ओड्न चाहिन्छ भनेर निकालेँ,’ उनले सुनाइन्, ‘अरु सामान निकाल्न नसकेपछि जेसुकै होस् भनेर छाडिदिएँ ।’ 

सुकुम्बासीको आन्दोलनका कारण डोजरले घर भत्काउन पाएन । तर, चुनावअघि लालपुर्जा दिलाउँछु भन्‍ने नेताहरू किन जितेपछि डोजर लिएर आउँछन् ? यो प्रश्‍न उनको मनमा घरिघरि घुमिरहन्छ ।

सुशीला सुकुम्बासी बस्तीमा बस्न थालेको करिब १८ वर्ष भयो । उनी पनि आफ्ना श्रीमान्‌सहित छोराछोरीको भविष्य राम्रो होला भनेर तेह्रथुमबाट काठमाडौँ आएकी थिइन् । ‘उता जग्गा-जमिन थिएन,’ उनले भनिन्, ‘मेलापात गरेर जीवन धान्‍नै मुस्किल थियो । यहाँ पनि मजदुरी गरेको पैसाले भाडा तिर्न र छोराछोरी पढाउन गाह्रो भएपछि सुकुम्बासी बस्तीमा बस्न थाल्यौँ ।’

थापाथली सुकुम्बासीकी सुशीला विश्वकर्मा

सुकुम्बासी बस्तीमा बस्नु आफ्नो रहर नभई बाध्यता भएको उनले बताइन् । ‘नत्र यस्तो गन्हाउने खोलाको छेउमा बस्ने रहर कसलाई नै हुन्छ र,’ उनले सुनाइन्, ‘नयाँ नेताले दीगो बास दिलाउलान् भनेको उठिबास चाहिँ लगाउने भए ।’ सुकुम्बासीका सुस्केरा सुनेको भोलिपल्ट हामी टुकुचातिर लाग्यौँ ।

माघ २० गते, शुक्रबार
स्थान : जय नेपाल हल

गत भदौ ३० मा काठमाडौँ महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्ने भन्दै जय नेपाल हलको कम्पाउन्डभित्र जमिन खोतल्यो । जहाँ राणाकालमै जमिनमुनि संरचना बनाएर लुकाइएको टुकुचा देखियो । महानगरले नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा ‘अतिक्रमण गरेर’ बनाइएका संरचना भत्काउने अभियान सुरु गर्‍यो ।

तर, महानगरको यो काम पनि विवादरहित हुन सकेन । नारायणहिटीदेखि काठमाडौँ प्लाजासम्म भूमिगत रूपमा बनाइएको टुकुचाको सुरुङ सय वर्षभन्दाअघि बनेको भनिएको छ । यो पुरातात्विक संरचना भएको पुरातत्वको अध्ययनले पनि जनाएको छ । महानगरले अनधिकृत रूपमा टुकुचा कब्जा गरेर संरचना बनाइएको भनिएको ठाउँ वीर शम्शेरकै पालामा किनबेच भएको त्यहाँका बासिन्दाको दाबी छ । 

यसैबीच जय नेपाल हलको प्रांगण खनेर उत्खनन गरिएको टुकुचा खोला अलपत्र छ । त्यहाँ वरपरको जमिन भासिन थालेको छ । खोलाको वरिपरिको क्षेत्र भासिँदै जाँदा फुटपाथ प्रयोग गर्न नमिल्ने भएको छ । 

जय नेपाल हलका सञ्चालक सिद्धि राणालाई त्यस दिन हलको कम्पाउन्डभित्र डोजर छिराउने कुरा थाहा थिएन । कुनै जानकारी नै दिइएको थिएन । कर तिरेको जग्गामा त्यसरी डोजर चलेपछि उनीहरू आक्रोशित छन् । ‘हराएको टुकुचा बालेनले भेट्टाए’ भन्‍ने जस्ता शीर्षकलाई लिएर सिद्धि केही बेर हामीसँगै खनिए । उनले कम्पाउन्डभित्र छिर्ने अनुमति नै दिएनन् । तर, केही बेरमा रिस शान्त भएपछि बल्ल कुरा गर्न सहज देखिए । 

‘२००६ सालमा खोलेको हललाई एक्कासी त्यसो गर्न मिल्छ ?,’ आक्रोशित हुँदै उनले भने, ‘गर्ने भए सबैलाई गर्नुपर्‍यो । यहाँ त हामीलाई मात्र अलपत्र पारिएको छ ।’ आफूहरूले जग्गा अतिक्रमण नगरेको राणा बताउँछन् । त्यस ठाउँमा राणाकालबाटै संरचना बनेको र जग्गा बिक्री-वितरण भएको उनको दाबी छ ।  यस विषयमा सेतोपाटीडटकमले पनि समाचारहरू प्रकाशित गरेको छ । त्यसमा पनि राणाकालमै जग्गाको बिक्री-वितरण भएको उल्लिखित छ । 

महानगरले अध्ययन नगरी जथाभावी डोजर लगाउँदा समस्या भएको स्थानीयको भनाइ छ । भत्काएर छोडिएको ठाउँमा वर्षाको समयमा भयानक खतरा अइलाग्न सक्ने सञ्चालक राणा बताउँछन् । ‘अहिले नै यसरी भासिँदै गइसक्यो, बर्खामा के होला ?,’ उनी भन्छन्, ‘बाढी आउला, रोड भासिएला, वरपरका घर बस्नै नसकिने बन्लान्, यसको जिम्मेवारी कसले लिने ?’

मेयर बालेनले योजना नबनाई, सरोकारवालासँग छलफल नगरी, परिणामको विचारै नगरी काम गर्दा आफूहरूलाई आपत्ति रहेको उनी बताउँछन् । ‘भत्काउनुपर्छ भनेर डोजर पठाउनेले भत्काइसकेपछि के गर्ने भनेर योजना पनि त बनाउनुपर्‍यो नि,’ उनी थप्छन्, ‘यहाँ सवारी दुर्घटना भयो, कोही मान्छे चिप्लिएर लड्यो भने त्यसको जिम्मा महानगरले लिनुपर्छ ।’

भत्काएर गएपछि महानगरले उनीहरूलाई कुनै प्रतिक्रिया दिएको छैन । ‘खोला थियो भने त्यो बेला किन नक्सा पास भयो त ?’ उनी प्रश्‍न गर्छन् । उनीहरूको एउटै तर्क छ- कि भत्काएपछि पूरै काम गर्नुपर्‍यो कि क्षतिपूर्ति दिनुपर्‍यो । 

बालेन मेयर भएर आउँदा उनी निकै उत्साही थिए । अहिले भने उनको कदमले निराश भएको उनी बताउँछन् । ‘सस्तो लोकप्रियताका लागि जे पनि गर्दै हिँड्न त भएन नि,’ उनी भन्छन्, ‘नेता भएपछि सस्तो लोकप्रियताभन्दा दीर्घकालिन योजनातिर लाग्नुपर्ने होइन र ?

उच्च अदालत पाटनले टुकुचामाथि बनेका संरचना भत्काउने महानगरको काममा रोक लगाएको छ । महानगरविरुद्ध परेको रिटमा उच्च अदालतले ‘स्टे अर्डर’को आदेश दिएको छ । त्यसको पूर्णपाठ भने आइसकेको छैन ।

०००
महानगरप्रति उठेका प्रश्‍नहरूको जवाफ खोज्न हामीले महानगर प्रमुख बालेन्द्र शाहलाई पटकपटक सम्पर्क गर्‍यौँ । उनका दुवै फोन उठेनन् । बालेनबारे बुझ्‍न उनलाई नजिकबाट काममा सघाइरहेका कुमार बेनलाई सम्पर्क गर्‍यौँ । उनले बालेनका स्वकीय सचिव भूपदेव शाहलाई भेट्न सुझाए । 

भूपदेवको समय मिलाउन पनि बालेनसँग भेट्नभन्दा कम सहज थिएन । तेस्रो पटकको फोन सम्पर्कमा तीन दिनपछि उनीसँग अनामनगरको ‘भेटघाट’ रेस्टुरेन्टमा भेट भयो । भेटमा उनले उल्टै हामीलाई प्रश्‍न गरे- महानगरको विषयमा सकारात्मक लेख्‍न खोज्नुभएको कि नकारात्मक ? ‘सकारात्मक वा नकारात्मक भन्दा पनि जे हो त्यही लेख्‍ने हो,’ हाम्रो जवाफ थियो । हाम्रो जवाफ सुनेर उनले फिस्स हाँस्दै वेटरसँग तीनवटा कालो चिया र एउटा तास अर्डर गरे । हामीले चिया आइनपुग्दै मेयरले अन्तर्वार्ता नदिनुको कारण कोट्यायौँ ।

उनले बालेन्द्र निर्वाचित भएपछि ‘द न्युयोर्क टाइम्स’ र एक दुईओटा अन्य मिडियामा मात्रै अन्तर्वार्ता दिएको प्रसंग निकाले । काममा डिस्टर्ब नहोस् भनेर अन्तर्वार्ता नदिएको भन्‍ने उनको आशय थियो । यसलाई प्रस्ट्याउँदै उनले भने, ‘मेयरको काम धेरै हुँदो रहेछ । अन्तर्वार्ताले काम गर्नै भ्याइँदो रहेनछ । एउटालाई दिएपछि सबैलाई दिनुपर्‍यो । उहाँ मिडियामा खर्चिने समय काममा लगाइरहनुभएको छ ।’

मेयर भएपछि धेरै कार्यक्रममा गइरहनुपर्ने बाध्यताबारे पनि उनले सुनाए । ‘मेयरप्रति मान्छेको अपेक्षा धेरै हुँदो रहेछ,’ उनले मेयरका कामको फेरिहस्त लगाए, ‘एउटा सानो कार्यक्रममा रिबन काट्नेदेखि विभिन्‍न मन्त्रालयका कार्यक्रमसम्म पुग्नुपर्ने रहेछ ।’

उनको उत्तर सुनेपछि फेरि हामीले सोध्यौँ, ‘गरिबको पक्षमा र्‍याप गाउने मेयरबाट गरिबलाई नै उठिबास लगाउने काम किन भइरहेको छ ?’ भूपदेवले यस विषयमा सम्बद्ध पक्षसँग छलफल गरेर मात्रै कदम चालेको बताए । अतिक्रमण गरेको संरचना भत्काउने क्षेत्राधिकार महानगरको भएकाले एकीकृत बागमती सभ्यता, उपत्यका विकास प्राधिकरण र सुरक्षा निकायसँग छलफल गरेर अगाडि बढेको उनले बताए ।

‘स्थानीय सरकार सञ्चालन ऐनले खोला छेउको बस्ती हटाउने अधिकार महानगरलाई दिएको छ,’ उनले भने, ‘हाम्रो काम अनधिकृत संरचनामा डोजर लगाउने हो । महानगरले त्यहाँका मान्छे हटाएर व्यवस्थापन गर्न तयार छ । सम्बन्धित मन्त्रालयसँग कुरा भइसकेको छ ।’ महानगरले उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता विकाससँग मिलेर करिडोर खोल्ने, छेउमा पार्क बनाउनेलगायतका काम गर्न लागेको उनले बताए ।

‘बस्तीले गर्दा सडकमा जामको समस्या बढेको छ,’ उनले सुनाए, ‘ढल रोकिएको छ । बेतिथि छ । बिजुली बत्ती चोरेर लगेका छन् । त्यो बाटो सामान्य मान्छे बिहान-बेलुका हिँड्नै डरमर्दो छ । विभिन्‍न समस्याबाट वडा आजित छ ।’

खोलामा बाढी आएर बस्ती बगे उनीहरूको जिम्मा महानगरले नै लिनुपर्ने भन्दै उनले भने, ‘महानगरले उनीहरूलाई हटाउन होइन, उद्धार गर्न खोजेको हो ।’ फुटपाथ व्यापारीहरूको हकमा महानगर किन यति क्रुर ?

प्रश्‍न भुइँमा खस्न नपाउँदै उनले विभिन्‍न देशका सहरको उदाहरण दिन थाले । ‘कतिपय कुरामा मेयर कडा रूपमा प्रस्तुत नहुँदा काम गर्न सकिँदैन,’ उनले भने । फुटपाथबाट व्यापार हटाउने व्यवस्था कानुनमै भएकाले यसमा कसैले विरोध गर्न आवश्यक नरहेको उनले बताए । ‘कुनै पनि नगरपालिकामा फुटपाथ व्यवसाय गर्नु गैरकानुनी काम हो,’ उनले भने, ‘अहिले आएर यसलाई किन मुद्दा बनाइयो, थाहा छैन । अन्य नगरपालिकाले फुटपाथमा व्यापार गर्न दिएका छन् भने त्यो गैरकानुनी हो ।’ फुटपाथ व्यापारीलाई हटाएपछि महानगरका सडकपेटी हिँड्न लायक भएको स्वीकार्न उनले आग्रह गरे ।

यसैबीचमा भूपदेवलाई हामीले महानगरले गरिबका बस्ती र व्यवसाय उठाउनेबाहेक के काम गरिरहेको छ ? जिज्ञासा राख्यौँ । उनले महानगरले गरिरहेको दर्जनभन्दा बढी कामको फेहरिस्त सुनाए- हेल्प डेस्क, साना गल्लीहरूका लागि वाटर हाइड्रेन्ट, सडक बत्तीबारे सम्झौता, सडक र फुटपाथ मर्मत, पार्किङ र ट्राफिक व्यवस्थापन, स्वास्थ्य क्लिनिक, स्मार्ट ट्‌वाइलेटलगायतमा पहल भइरहेको बताए ।

यसबाहेक डिजिटलाइजेसन, सार्वजनिक जग्गा संरक्षण र होर्डिङबोर्ड व्यवस्थापनबारे पनि उनले खुलेरै प्रस्तुत भए ।

यी कुनै पनि कामको फेहरिस्तमा महानगरमा भएका गरिब र दु:खीहरूको व्यवस्थापनबारे एउटै योजना समेटिएको थिएन । त्यसको सट्टा महानगरलाई सुन्दर बनाउन महानगरका भित्ताहरूमा एकता, समानता र सहरको मौलिकता झल्किने पेन्टिङ बनाउने योजना उनले सुनाए । भने ‘अबको केही समयमै तपाईंहरूले महानगरको भित्ता-भित्तामा एकता, समानता, सहरको मौलिकता झल्किने पेन्टिङ देख्‍नु हुनेछ ।’ 

०००
मेयर भएपछि बालेन किन सामाजिक न्यायको पक्षमा देखिएनन् ? उनी किन महानगरको भौतिक अनुहारतिर मात्रै कुदिरहेका छन् ? महानगरको मेयर बन्‍ने मोह खालि भौतिक विकाससँग मात्रै जोडिएको थियो ? स्थानीय सरकारको जनप्रतिनिधि भएर पनि उनी किन जनताको पहुँचमा छैनन् ? 

आखिर कालो चस्माभित्र लुकेका बालेन को हुन् ? महानगरलाई कस्तो बनाउन चाहन्छन् ? भेटेरै उनलाई बुझ्‍न मन थियो । तर, भेट सम्भव भएन । स्थानीय निर्वाचनमा एकाएक चर्चामा आएका बालेनबारे राजनीतिक वृत्तमा चर्चा थिएन । बालेनकै कार्यपालिका सदस्यले पनि उनलाई यसअघि चिनेका थिएनन् । 

२०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा उठ्छु भनेर उनले पाँच वर्षअघि नै घोषणा गरेका थिए ।  उनले २०७४ वैशाख ३१ मा फेसबुकमा लेखेका थिए-
मैले आज भोट हालिनँ
किनकि, म उम्मेदवार हैन ।
मैले सिभिल इन्जिनियरिङमा ब्याचलर्स गरेको छु ।
म स्ट्रकचरल इन्जिनियरिङमा मास्टर्स गर्दै छु ।
र मलाई देश कसरी बनाउनुपर्छ थाहा छ ।
म अर्को पटक भोट हाल्नेछु, र त्यो भोट म आफैँलाई हुनेछ । 
म आफैँ मेरो राष्ट्र विकास गर्नेछु ।
मलाई अरू कसैको भर लाग्दैन ।

यही फेसबुक पोस्टले उनीबारे धेरै कुरा प्रस्ट पार्छ । महानगर आफूले मात्रै बदल्न सक्छु भन्‍ने सोचले उनी कति आत्मकेन्द्रित छन्, देखिन्छ । काठमाडौँको नरदेवीमा जन्मिएका उनले यहाँका धेरै कुरासँग लगाव भएको आफ्ना विभिन्‍न अन्तर्वार्तामा बताएका छन् । 

उनका बुवा रामनारायण शाह नरदेवीकै आयुर्वेदिक अस्पतालमा आयुर्वेदिक डाक्टरका रूपमा काम गर्ने भएकाले उनीको हुर्काइ यतै भएको थियो । हाल उनी काठमाडौँ गैरीगाउँमा बस्छन् । काठमाडौँमै हुर्किएकाले यहाँका जात्रा र पर्वबारे उनले बुझ्‍ने मौका पाएका थिए । नेपालबाटै सिभिल इन्जिनियरिङमा ब्याचलर्स गरेका उनले भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गरेका हुन् । राजनीतिमा आउनुअघि उनी संगीत क्षेत्रमा थिए । र्‍यापरका रूपमा उनको परिचय बनिसकेको थियो । 

बालेनबारे थप बुझ्‍न भूपदेवलाई सोधेका थियौँ- उहाँको विगतको पृष्ठभूमि के हो ? आफू स्वयं बालेनसँग जोडिएको धेरै नभएको उनले बताए । विवेकशील साझाबाट अलग्गिएर बसिरहेको बेला उनको भेट बालेनसँग भएको रहेछ । सोही सिलसिलामा उनीसँग सहकार्य गर्न पुगेका रहेछन् । 

उनले बालेनको पृष्ठभूमि बुझ्‍न एउटा बायोडाटा पठाइदिए । त्यसमा बालेनले विगतमा गरेका २७ वटा कामको लिस्ट थियो । त्यसमा उनले बनाएका भवन र पुलको लिस्टसँगै डिजाइन गरेका हस्पिटल, कलेज र पालिकाको भवनको नाम थियो ।

बालेन २०७२ सालको भूकम्पपश्चात् सामाजिक सेवामा लागेको पनि भूपदेवले हामीलाई जानकारी दिए । उनी सामाजिक अभियन्ता भएर विभिन्‍न जिल्लाको पुन:निर्माणमा खटिएका थिए ।  यिनै कामहरूमा खटिँदा खटिँदै उनले राजनीतिमा जोडिने सोच बनाएका थिए । 

निर्वाचन अगावैको कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा बालेन राजनीतिमा जोडिनुको कारण खुलाउँदै भन्छन्, ‘पहिले-पहिले मान्छेहरूमा सांसद र मेयर एउटै हो भन्‍ने बुझाइ थियो । पछि बुझ्दै जाँदा यो एउटा कार्यकारी पद रहेछ । स्थानीय तहको बजेट हेर्दा ७० प्रतिशतभन्दा बढी सिभिल इन्जिनियरिङका टर्महरू देखेँ । जुन सामान्य मान्छेलाई बुझ्‍न गाह्रो हुन्छ । त्यहाँ हामीले नै गरिरहेको स्कुल, बाटो र घरहरू बनाउने योजना देख्यौँ । ७ सय ५३ पालिकामै सिभिल इन्जिनियरिङ पृष्ठभूमिका जनप्रतिनिधि झन् राम्रो गर्न सकिन्छ कि भन्‍ने लागेको छ ।’

मेयरको काम एउटा इन्जिनियरको भन्दा खासै फरक हुँदैन भन्‍ने आशय बालेनको यो जवाफमा पाउन सकिन्छ । सायद यही बुझाइ बोकेर उनी मेयर बने । बालेनले ६१ हजार ७६७ मत ल्याएर काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी थिइन् भने एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए ।

बालेनलाई जिताउन उनका साथीहरू कुमार बेन, भिक्टर पौडेल, रविन भारती, गणेश कार्कीलगायतले नजिकबाट सहयोग गरका थिए । बालेनले दशकौँ लगाएर पार्टी संगठन बनाएका दलका नेतालाई बिनासंगठन हराउँदा धेरै आश्चर्यचकित भएका थिए । 

सहयोगी-शुभचिन्तक साथीहरूमार्फत उनी सामाजिक सञ्जालमा व्यापक छाएका थिए । बालेनलाई जिताउन फेसबुकको एमआरआर र रुटिन अफ नेपाल बन्दलगायत पेजले राम्रै प्रचारप्रसार गरेको थियो । फिल्मी कलाकारहरूको पनि उनलाई ठूलो समर्थन थियो । 

सेलिब्रेटी भएका कारणले पनि बालेनको सामाजिक सञ्जालमा आफ्नै एक किसिमको फलोअर्स थियो । बालेनविरुद्ध केही नकारात्मक समाचार लेख्दा मिडिया हाउसलाई नै अनफलो गर्ने अभियानसमेत त्यसताका चलेको थियो । 

उनले चुनाव जितेपछि पूर्वमेयर विद्यासुन्दर शाक्यको भन्दा फरक ढंगले काम गर्लान् भन्‍ने अपेक्षा धेरैको थियो । काठमाडौँका मजदुरदेखि राजनीतिकर्मीसम्मले बालेनको जीतलाई आशाका रूपमा लिएका थिए । असहायहरू सहारा पाउने आशामा बसेका थिए । परम्परागत राजनीतिले वाक्कदिक्क भएका ‘दलीय स्वतन्त्र’हरूको समेत उनलाई साथ थियो ।

तर, मेयर बन्‍नुअघिसम्म ‘मिजासिला’ सुनिएका बालेन निर्वाचित भएपछि कड्किएको पनि सुनियो । उनले कहिले सिसडोल पुगेर स्थानीयलाई थर्काए त कहिले सडकपेटी पुगेर त्यहाँका मजदुरहरूसँग गर्जिए । 

निर्वाचनमा स्थापित दलका नेतालाई हराउँदै मेयर बनेका बालेनले निर्वाचन अगाडि भक्तपुर, ललितपुरलगायत थुप्रै पालिकाका प्रमुखको अनुभव सुनेका थिए । तर, पूर्वमेयरबाट उनले कस्ता अनुभव अनुसरण गरे, जसले निर्वाचित भएसँगै सहरबाट गरिब र मजदुरलाई हटाउने निर्णय गरे । 

उनले महानगर सफा हुन्छ भन्दै फुटपाथमा व्यापार गरेर दैनिक रोजीरोटी चलाइरहेका मजदुरलाई हटाए । उनको त्यो निर्णय सुरुमै सामाजिक सञ्जालमा आलोचित भएको थियो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जालमै लेखेका थिए, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर, संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन । अत: निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ !’

बाबुरामको सुझावलाई बालेनले सञ्जालबाटै उत्तर दिँदै लेखे, ‘यो कुरा त तपाईंले हजारौँको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’ गरिबहरूको उठिबास लगाएका कारण आलोचित बन्दा समेत बालेन्द्रले आफ्नो निर्णय ठीक थियो कि थिएन समीक्षा गरेनन् ।

बरु जसले सामाजिक सञ्जालमा उनीबारे लेख्छ, उसैसँग भीड्न पुगे, बालेन । धरानका मेयर हर्क साम्पाङदेखि कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा सवाल-जवाफमा उत्रिएका उदाहरण ताजै छन् । सोसल मिडियामा ‘जवाफ’ दिने मेयर बालेन मिडिया र सरोकारवालासँग भने जवाफदेही देखिएका छैनन् । आफ्ना नागरिकप्रति उत्तरदायी नहुने सरकारहरूकै निरन्तरतामा बालेन उभिए । 

उनले महानगरको मेयर बनेपछि लिएको अर्को निर्णयको कुरा गरौँ । सार्वजनिक शौचालय व्यवस्थित गर्न उनले होटल, रेस्टुरेन्ट र बैंकसँग सहकार्य गर्ने निर्णय गरे । सुरुमा एकदमै चर्चा भएको उनको उक्त निर्णय कार्यान्वयनमा देखिँदैन ।

काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले कार्यपालिकाको पहिलो बैठकमै यो निर्णयविरुद्ध आवाज उठाएका थिए । ‘सार्वजनिक शौचालयलाई होटल र रेस्टुरेन्टसँग सहकार्य गर्ने निर्णय पपुलिस्ट थियो,’ उनले भने, ‘मैले त्यही बेला यो देखावटी निर्णय हो भनेको थिएँ । त्यो बेला मेयरको विरोध गरेजस्तो देखियो । अहिले मेरो विरोध सही देखियो ।’

काठमाडौँ-१७ का वडाध्यक्षसमेत रहेका मानन्धर अहिले पनि सो निर्णयविरुद्धमै छन्  । मेयर बालेनमा पपुलर हुनका लागि यस्ता क्षणिक योजना ल्याउने प्रवृत्ति रहेको प्रवक्ता मानन्धरको बुझाइ छ ।

बालेनबारे थप जिज्ञासा राख्दा उनले भने, ‘मैले उहाँलाई धेरै चिनेको छैन । संगत गरेको भर्खर १० महिना हुँदै छ । उहाँमा काम गर्ने जोस छ । बुद्धि धेरै छ । जनतासँगको सम्पर्क भने सजिलै ह्यान्डल गर्न नसके जस्तो देखिन्छ । तर, महानगर बिगार्ने होइन, बनाउने खालकै मान्छे हो ।’ 

निर्वाचनअघि मेयरसाबको अन्तर्वार्ता सुन्‍न पाइन्थ्यो, अहिले सुन्‍नै पाइँदैन भन्दै एक वडाध्यक्षले व्यंग्यात्मक शैलीमा उनको जवाफदेहितामाथि प्रश्‍न उठाए । ‘मेयर भएपछि उहाँको अन्तर्वार्ता सुन्‍न पाइएको छैन,’ उनले भने, ‘यसले उहाँ किन मिडियाप्रति हच्किनुभएको भन्‍ने प्रश्‍न उठाएको छ । पत्रकार र जनतासँग जो डराएर हिँड्छ, उसले गल्ती गरेको हुनुपर्छ । नडराउने काम गरेकाले होला, हामी त बोल्छौँ ।’ तर, कार्यपालिका बैठकमा लगेका योजनाहरू भने मेयरले सुन्‍ने गरेको उनले बताए । काम गर्नेलाई अहिलेसम्म मेयरबाट रोकावट नभएको उनको अनुभव छ ।

बालेनले गरिब र सुकुम्बासीलाई सहरबाट उठिबास लगाएपछि राजनीतिक विश्लेषक  भास्कर गौतमले कान्तिपुरमा ‘बालेनजी, न्यायतर्फ ढल्कनोस्’ शीर्षकमा लेख लेखेका छन् । लेखमा राजनीतिशास्त्री गौतमले मेयर बालेनप्रतिको संशय व्यक्त गरेका छन्, ‘बिनाठोस तयारी कहिले फोहोरमैला व्यवस्थित गर्ने, कहिले टुँडिखेलमा पार्किङ बनाउने, कहिले सुकुम्बासीको बास खोस्न डोजर चलाउने, कहिले सडक व्यापारीका जीविकाविरुद्ध उर्दी दिँदै गाँसबास खोस्ने उद्दण्डता नै तपाईं (बालेन) का काम बने ।’ 

आखिर बालेन किन लोकरिझ्याइँको हर्कत प्रदर्शन गरिरहेका छन् त ? उनै गौतमको विश्लेषण छ, ‘नायक खोज्ने समाजलाई नियतिले मात्र ठग्दैन, नायकको भ्रम पाल्ने व्यक्ति झनै बढी दु:खी हुने खतरा रहन्छ ।’ 

काठमाडौँकै मेयरमा चुनाव लडेका सुमन सायमी बालेनले जितेपछि उनकै समर्थनमा विजयी जुलुसको फ्रन्टलाइनमा देखिएका थिए । आफूले उठाएका मुद्दा पनि बालेनले सम्बोधन गर्छन् भन्‍ने विश्वास सायमीमा थियो ।

तर, निर्वाचन जितेपछि बालेनमा एक किसिमको ‘तानाशाह प्रवृत्ति’ देखिएको सायमी बताउँछन् । ‘मैले हारे पनि उहाँलाई समर्थन गरेँ । उहाँको विजय जुलुसमा हिँडेँ,’ सायमी भन्छन्, ‘मैले महानगरबासीका खास मद्दा सम्पत्ति र आवासको अधिकारलाई उठाएको थिएँ । बालेनजीले जितेपछि यी मुद्दाहरूलाई सम्बोधन गर्नुहोला भन्‍ने लागेको थियो । तर, उहाँ आएपछि सडक विस्तारको नाममा बिनासूचना स्थानीयको घरमा डोजर लगाउन थाल्नुभयो । उहाँमा तानाशाह प्रवृत्ति देखियो ।’ 

उपत्यकाबासीका मुद्दामा छलफलका लागि सम्पर्क गर्न खोज्दा बालेनले बेवास्ता गरेको सायमी बताउँछन् । बालेनको व्यवहार देख्दा उनमा जनताप्रति जवाफदेहिता नभएको सायमीको ठहर छ । ‘मैले उहाँलाई धेरैपटक फोन गरेर छलफल गर्न खोजेँ । तर, उहाँले सुन्‍न चाहनुभएन,’ सायमी भन्छन्, ‘उहाँ कसैप्रति उत्तरदायी हुनुहुन्‍न । यसरी महानगर कसरी चल्छ ? यस्तै हो भने पीडितहरू सडकमा उत्रिन्छन् ।’ 

बालेन संरचनाको पिँधमा छुटेका मानिस हटाउने मिसनमा लागेको सायमीको बुझाइ छ । ‘बालेनजी सेलिब्रेटी हो । उहाँले एक किसिमको हाइफाइ लाइफ बिताउनुभएको छ,’ उनी भन्छन्, ‘उहाँ गरिब-दु:खीलाई सिध्याउने मिसनमा हुनुहुन्छ । उहाँ मानिसबिनाको सहर बनाउने मिसनमा हुनुहुन्छ ।’

धेरैले सायमीलाई बालेनको नजिकका मित्र भनेर बुझ्छन् । तर, सायमीले भने बालेनलाई अहिलेसम्म दुई-तीन पटकभन्दा बढी भेट्न पाएका छैनन् । सायमीले मात्रै होइन् थुप्रै मतदाता जसले बालेनलाई मत दिएर जिताएका थिए, तिनले पनि भेटेर गुनासो राख्‍ने मौका पाएका छैनन् । बागमती प्रदेशकी पूर्वप्रदेश प्रमुख अनुराधा कोइरालाले बालेनलाई भेट्न नपाएको सामाचार आएका छन् । जनप्रतिनिधि भएर जनतालाई समय ननिकाल्ने बालेन आफूले चाहेका मान्छेलाई भने समय निकालेर भेटिरहेका तस्बिर सामाजिक सञ्जालमा प्रशस्तै देखिन्छन् ।

फेसबुकमा दुई-तीन लाइनभन्दा बढी लेख्‍न नरुचाउने बालेनले केही समयअघि संसद् भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको समवेदनमा लामै फेसबुक पोस्ट लेखे । आचार्यको आत्मदाह र निराशाको कारण राज्य भएको उनको ठहर छ । सन्तोषको जस्तो नियति अरुले नभोग्‍नु परोस् भनेर उनले संघीय सरकारसम्मलाई अपिल गरेका छन् । तर, तपाईंका गतिविधिका कारण आचार्यले दोषी देखाएका साहूहरूका मलको व्यापार फस्टाएको, सडक व्यापारीहरूको हालत प्रेमप्रसाद आचार्यको जस्तै हुँदै छ नि भन्‍ने प्रश्‍न सोध्‍ने मौका पाइएन ।

बालेन सरकार हुन् । सरकार राज्यको मूल अंग हो । सरकारमै बसेर उनी राज्य अपराधी हो त भन्छन् तर आफूसित प्रत्यक्ष जोडिएका पात्र लक्ष्मी, कौशिला, पवित्रा, सुशीला, रत्‍न, सिद्धिहरूका आत्मवृत्तान्त पढ्न तयार छैनन् । ‘जिउँदा प्रेमप्रसाद’हरूका समस्या सुन्‍न, उनीहरूलाई भेट्न, उनीहरूसँग एक वचन बोल्नसमेत अनिच्छुक पात्र महानगरका चालक हुन् कि ‘डोजर चालक’ ? 

 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x