विशेष रिपोर्ट

विशेष रिपोर्ट

स्थायी/अस्थायी नियोजनको तथ्यांक भन्छ— पुरुष महिलाको शरीरलाई मेसिन ठान्छ

सृजना खड्का |
असोज १, २०७८ शुक्रबार १३:४५ बजे

उनको महिनावारी रोकियो । खाने कुरा रुच्‍न छाड्यो । ज्यान भारी भएको महसुस हुन थाल्यो । अप्सरालाई लाग्यो- कतै गर्भ त बसेन ! उनी नजिकैको औषधि पसल गइन् । ‘प्रेग्नेन्सी टेस्ट किट’ किनिन् । घर ल्याएर पिसाब परीक्षण गरिन् । उनले जे शंका गरेकी थिइन्, नतिजा त्यही निस्कियो । अप्सरा गर्भवती रहिछन् । 

यसपटक भने गर्भवती हुँदा उनी कत्ति पनि खुसी थिइनन् । दुई सन्तानकी आमा भइसकेकी उनलाई अब बच्चा जन्माउने रहर थिएन । दुई बच्चाकी आमा भएपश्चात् पनि उनले दुईपल्ट गर्भपतन गराउनुपरेको थियो । दोस्रोपटक गर्भपतन गराउँदा अप्सराले ज्यानको बाजी नै थाप्‍नुपर्‍यो । ‘पहिलो पटक गर्भपतन गराउँदा दिदीलाई साथ दिएर अस्पताल गएकी थिएँ,’ उनले सुनाइन्, ‘दोस्रो पटक भने कसैलाई भनिनँ । दिदीको डरले आफैँ मेडिकलबाट औषधि ल्याएर सुटुक्क खाएँ । तर, औषधिले १५ दिनसम्म ओछ्यानबाटै उठ्न नसक्ने गरी थला पार्‍यो । त्यो बेला बाँच्छु जस्तै लागेन ।’ 


तेस्रो पटक गर्भ बसेको थाहा पाएपछि उनी गर्भपतन गराउँदाका ती डरलाग्दा दिन सम्झेर एकाएक आत्तिइन् । के गर्ने, कसलाई भन्‍ने, कुनै मेसो पाइनन् । गर्भ बसेको पनि १२ हप्ता कटिसकेको थियो । जसका कारण गर्भ बस्यो र ती दुवै गर्भपतनमा कुनै साथ नदिएका श्रीमान्‌ सम्झेर उनलाई भरोसाभन्दा पनि भय मिल्यो । उनलाई लाग्यो- यस पटक पनि श्रीमान्‌‌लाई समस्या बताउनुको अर्थ छैन । आफ्नो शरीर मेसिन सम्झिने श्रीमान्‌ उनलाई साथीभन्दा पनि आदेश मात्रै दिने मालिक र यौनप्यास मात्र मेट्ने स्वार्थी लाग्छ । अनि उनी गाउँमा रहेका श्रीमान्‌‌लाई केही नभनी एकजना साथीले चिनेको क्लिनिकमा गइन् । तेस्रो पटक पनि उनले गर्भपतनको जोखिम बेहोर्नुपर्‍यो ।  

अप्सरा हिजोआज आफूलाई शारीरिक रूपले निकै कमजोर महसुस गर्छिन् । रिंगटा लागिरहन्छ । बेलाबेला ज्यान कटकटी खान्छ । यो सबै सम्झिँदा श्रीमान्‌प्रति असाध्यै चित्त दुखेर आउँछ, उनलाई । ‘श्रीमान्‌‌ले बन्ध्याकरण गरिदिएको भए मेरो यो हालत हुने थिएन,’ उनले दुखेसो पोखिन्, ‘न परिवार नियोजनको साधन प्रयोग गर्न मान्‍ने, न बन्ध्याकरण नै गर्ने । आफूलाई अस्थायी साधन फाप्दैन, साइड इफेक्ट देखाउँछ । तीनपटक गर्भपतन गराएको शरीरमा अब म कसरी बन्ध्याकरण गर्नु ?’


अन्शुकी पाँच वर्षे छोरी छिन् । कामकाजी अन्शुलाई अर्को बच्चा पाउने चाहना थिएन । उनी चाहन्थिन्- श्रीमान्‌ले स्थायी बन्ध्याकरण गरून् । तर, उनका श्रीमान्‌ न आफू बन्ध्याकरण गर्न मान्थे, न अन्शुलाई नै गर्न दिन्थे । ‘महिलाभन्दा पुरुषलाई स्थायी बन्ध्याकरण गर्न सजिलो हुन्छ भन्‍ने सुनेकी थिएँ,’ उनले भनिन्, ‘तर, उहाँ पटक्कै गर्न मान्‍नुभएन । छोराछोरी जे भए पनि अर्को एउटा पाउनुपर्छ भन्‍नुहुन्थ्यो ।’

अपरेसन गरेर बच्चा जन्माउँदाको पीडा अन्शुले बिर्सिएकी थिइनन् । त्यही सम्झनाले उनलाई दोस्रो बच्चा जन्माउने रहर कहिल्यै भएन । त्यसमाथि सहरको महँगी र व्यस्त जीवनशैली । श्रीमान्‌‌लाई स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गर्न निकै पटक आग्रह गरेकी थिइन् उनले । तर, नमानेपछि उनी आफैँले स्थायी बन्ध्याकरण (मिनिल्याप) गर्ने योजना बनाइन् । ‘तल-माथि केही भयो भने आफैँले भोग्‍नुपर्थ्यो,’ उनले भनिन्, ‘त्यसैले मिनिल्याप गर्ने योजना पनि आफैँले बनाएँ ।’ 

यसबीचमा अन्शुले अस्थायी साधनबारे नसोचेकी पनि होइनन् । ‘मैले सुई पनि लगाएँ, दैनिक खाने चक्की (पिल्स) पनि खाएँ,’ उनले सुनाइन्, ‘पिल्स खाँदा वाकवाकी लाग्ने, टाउको दुख्ने, महिनावारी नहुँदा पनि रगत बग्ने हुन थाल्यो । बच्चा जन्माउने योजना नभएपछि यो सबै किन सहने भन्‍ने लाग्यो र, बन्ध्याकरणको योजना बनाएँ ।’ अन्शुलाई पनि श्रीमान्‌को साथ मिलेन । सन्तानको चाहना नपुगी बन्ध्याकरण गराएको भन्दै मनमुटाव सुरु भयो । मनमुटाव यथावतै छ । विवाद अहिले अर्को बिहे गर्ने धम्कीसम्म पुगेको छ । 

तथ्यांकले के भन्छ ? 
परिवार नियोजनको जिम्मेवारी वास्तवमा महिला र पुरुष दुवैको हो । तर, हाम्रो जस्तो समाजमा यसको बढी भार महिलाले बोक्नुपर्छ । तथ्यांकले पनि पुरुषको तुलनामा महिलाले बढी अस्थायी साधनको प्रयोग गरेको देखाउँछ । त्यस्तै, स्थायी बन्ध्याकरण गर्नेहरूमा पनि महिला नै बढी छन् । 

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेका अनुसार परिवार नियोजनका अस्थायी र स्थायी दुवै साधन प्रयोगकर्तामा महिला अगाडि छन् । ‘पुरुषका लागि एउटा मात्र अस्थायी साधन छ,’ उनी भन्छन्, ‘स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गर्न धेरै अफवाह फैलाइएको छ । कम्मर दुख्छ, कमजोर भइन्छ भनेर धेरैले गर्न नमानेको देखिन्छ ।’

महाशाखाको विगत १० वर्षको तथ्यांक केलाउने हो भने स्थायी बन्ध्याकरणमा पुरुषभन्दा महिलाको सहभागिता बढी देखिन्छ । २०६७ सालदेखि ०७७ सम्मको १० वर्षमा ३ लाख ६५ हजारले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये २ लाख ८० हजार महिलाले मिनिल्‍याप र ८५ हजार ५ सय पुरुषले भ्यासेक्टोमी गराएका छन् । यो तथ्यांकले एकै समयमा स्थायी परिवार नियोजन गराउने पुरुषभन्दा महिलाको संख्या २ लाख नै बढी देखाउँछ ।

महाशाखाबाट प्राप्त पाँच वर्ष (२०७३-०७७) को तथ्यांक केलाउँदा स्थायीमा मात्रै नभएर अस्थायी साधनको प्रयोगकर्तामा पनि महिलाहरू नै अगाडि देखिन्छ । परिवार नियोजनका अस्थायी साधन अधिकांश महिलाको शरीर केन्द्रित छन् । जस्तै : महिलाले प्रयोग गर्ने अस्थायी साधन डिपोप्रोभेरा, इम्प्लान्ट, पिल्स र आईयूसीडी छ भने पुरुषका लागि कण्डम मात्रै छ । स्वास्थ्यविद्हरूका विभिन्‍न अनुसन्धानले पनि पुष्टि गरेको कुरा हो- पुरुषले प्रयोग गर्ने एक मात्र अस्थायी साधन कण्डमका तुलनामा महिलाको शरीरमा प्रयोग हुने माथिका चारैवटा साधनको साइट इफेक्ट बढी छ । 

आर्थिक वर्ष २०७२/ ७३ देखि २०७६/७७ मा अस्थायी साधन (महिला) डिपोप्रोगेरा प्रयोग गर्ने १३ लाख ५२ हजार ४ सय ५४ जना, इम्प्लान्ट प्रयोग गर्ने ४ लाख ७१ हजार १५ जना, आईयूसीडी प्रयोग गर्ने १ लाख ३४ हजार ८ सय ४१ जना र पिल्स प्रयोग गर्ने ६ लाख ९३ हजार ५ सय ८१ जना रहेका छन् । 

पुरुषका अस्थायी साधन (कण्डम) भने यो पाँच वर्षमा ९ लाख ८६ हजार ८ सय ५ जनाले प्रयोग गरेका छन् । कण्डम एक जनाले १ सय ५० वटा प्रयोग गरेपछि मात्र गर्भनिरोधक मानिन्छ । 

महिलामाथि लादिएको परिवार नियोजन 
पुरुषप्रधान देश भएकाले परिवार नियोजनको साधनमा पुरुषभन्दा बढी महिलाको सहभागिता भएको बताउँछिन्, मिडवाइफरी सोसाइटी अफ नेपालकी अध्यक्ष डा. लक्ष्मी तामाङ । ‘परिवार नियोजनका औषधि आविष्कार गर्नेहरू पुरुष नै छन्,’ उनी भन्छिन्, ‘आफैँले बनाउने भएपछि आफ्नो शरीरमा उनीहरूले पक्कै पनि प्रयोग गर्न खोज्दैनन् । तर, महिलाका लागि भने अनेक हर्मोनल औषधि बनाएका छन् । पुरुषको लागि एउटा छ, कण्डम । त्यो पनि हर्मोन होइन ।’ 

डा. तामाङका अनुसार लैङ्गिक दृष्टिले हेर्ने हो भने पुरुषको शरीर बच्चा पाउनु नपर्ने भएकाले उनीहरू फुर्सदिला हुन्छन् । उनीहरू मस्तिष्क मन्थन गर्छन् । ‘प्राकृतिकबाहेक मनुष्यद्वारा गरिने सिर्जना धेरै पुरुषले गरेका छन्,’ उनी भन्छिन्, ‘महिलालाई संस्कार र संस्कृतिले घरभित्र डल्लो पारेर राखिदिएको छ । यो समस्या समस्या मात्रै नभएर एउटा भुमरी हो । जति भित्र पस्यो, त्यसको जरो उति गहिरो छ ।’

यसमा स्वास्थ्य क्षेत्रको कमजोरी पनि उत्तिकै देख्छिन्, डा. तामाङ  । ‘यस विषयमा शिक्षा दिइन्छ तर, परामर्श शून्य छ,’ उनी भन्छिन्, ‘शिक्षा र परामर्श बिलकुलै फरक कुरा हो । शिक्षाले परामर्शको काम गर्दैन । परिवार नियोजनबारे गलत प्रचारप्रसारले पनि पुरुष सहभागिता कम भएको हो ।’

महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालकी वरिष्ठ कार्यक्रम संयोजक लक्ष्मी अर्याल महिला लक्षित परिवार नियोजनको साधन भएकाले महिलाको सहभागिता बढी भएको बताउँछिन् । ‘परिवार नियोजनका साधन महिलामाथि जबर्जस्ती लादिएको छ,’ उनी भन्छिन्, ‘प्रयोग गरे गर, नगरे धेरै बच्चा तिमीले पाउनुपर्छ, तिमै्र स्वास्थ्य बिग्रिन्छ भन्‍ने हिसाबले हेरिन्छ । यसलाई महिलाको मात्र जिम्मेवारीका रूपमा लिइन्छ । उनीहरूको शरीरमाथि प्रयोग गरिन्छ ।’

परिवार नियोजनको साधनमा महिला-पुरुष दुवैको बराबर सहभागिता हुनुपर्ने उनी बताउँछिन् । ‘पुरुषले प्रयोग गरिदिए भने महिलाको शरीर बिग्रिँदैन,’ उनी भन्छिन्, ‘हाम्रो समाजमा प्रजनन स्वास्थ्य समस्या धेरै महिलाहरूले भोगिरहेका हुन्छन् । हर्मोनल परिवर्तनदेखि आङ खस्नेसम्मको समस्या उनीहरूले भोग्नुपर्छ । आफ्नी श्रीमतीलाई स्वस्थ बनाउने कि रोगी, त्यो धेरै हदसम्म श्रीमान्‌को हातमा पनि हुन्छ ।’  

कहिले भन्‍ने ‘वी आर प्रेग्नेन्ट’ ?
हामीमध्ये धेरैलाई स्त्रीरोग विशेषज्ञ अर्थात् ‘गाइनेकोलोजिस्ट’बारे थाहा छ । तर, पुरुष प्रजनन विशेषज्ञ अर्थात् ‘एन्ड्रोलोजिस्ट’बारे कमैलाई थाहा छ । कतिपयलाई त थाहा पनि छैन । नेपालमा पनि कमै मात्र एन्ड्रोलोजिस्ट छन् । तीमध्ये एक हुन्, डा. दिपेश श्रेष्ठ । उनी पनि परिवार नियोजनमा महिला-पुरुष दुवैको समान सहभागिता नहुनुलाई पितृसत्तात्मक सोच र व्यवहारको उपज मान्छन् । ‘विदेशतिर श्रीमती गर्भवती भयो भने ‘वी आर प्रेग्नेन्ट’ भन्‍ने चलन छ,’ उनी भन्छन्, ‘हाम्रोमा यसो भन्दा ट्रोल हुनुपर्छ । यसको अर्थ हाम्रो समाज कतिसम्म पितृसत्तात्मक छ भनेर थाहा हुन्छ । महिलाको गर्भावस्थामा सहभागी हुन नरुचाउने श्रीमान्‌ले कसरी परिवार नियोजनमा सहभागिता जनाऊन् ? कहिले ‘वी आर प्रेग्नेन्ट भन्लान् ?’

बच्चा पाउनुभन्दा अगाडिदेखि बच्चा पाइसकेपछि शरीरमा आउने परिवर्तन महिलाले भोग्नुपर्ने भएकाले परिवार नियोजनमा महिलाहरू आफैँ सचेत र अग्रसर हुने गरेको उनी बताउँछन् । ‘प्राकृतिक हिसाबले नै सावधानी नअपनाउँदा समस्या महिलाले भोग्‍नुपर्छ,’ उनी भन्छन्, ‘स्वास्थ्य उनीहरूकै खराब हुन्छ, करिअरमा लागेको ब्रेक उनीहरूले नै भोग्नुपर्छ । तर, आफूले भोग्नुपर्ने भएकाले पुरुष आफूलाई नपर्ने भएकाले खासै चासो देखाउँदैनन् ।’ 

महिलाले प्रयोग गर्ने डिपोप्रोभेरा, इम्प्लान्ट, पिल्स, आईयूसीडीभन्दा पुरुषले प्रयोग गर्ने कण्डम धेरै सुरक्षित छ । तर, पुरुषको लापरबाहीका कारण महिला गर्भपतनको जोखिम झेलिरहेछन् ।

परिवार नियोजनको प्रयोगमा समान सहभागिता बढाउन जनचेतना र दम्पतीबीचको समझदारी पनि बढ्नुपर्ने उनी बताउँछन् । ‘पुरुषले जिम्मेवारी बोध गरेन भने दुःख महिलाले मात्र होइन उसले पनि पाउँछ,’ उनी भन्छन्, ‘तर, हाम्रोजस्तो पितृसत्तात्मक सोच हाबी भएको देशमा यो कुरा बुझाउन निकै गाह्रो छ ।’ 

पुरुष बन्ध्याकरणबारे फैलाइने अफवाह 
जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीका अनुसार महिलाको स्थायी बन्ध्याकरण पुरुषको तुलनामामा जटिल छ । तर, यसका लागि पनि महिलालाई नै बढी हौस्याइन्छ । भ्यासेक्टोमीमा पुरुषमा रहेको शुक्रकीट बहने नलीलाई काटिन्छ । मिनिल्‍याप महिलाको डिम्बको नशा काटेर गरिन्छ । ‘पुरुषको बन्ध्याकरण गर्न एकदमै सजिलो भए पनि कम मात्रैले गर्छन्,’ उनी भन्छिन्, ‘हाम्रो समाजमा धेरै मानिसको सोच पुरुषले स्थायी बन्ध्याकरण गराउनु हुँदैन भन्‍ने गलत बुझाइ छ ।’

एउटा पनि बच्चा नभई महिलाले परिवार नियोजनका साधन प्रयोग गर्न नहुने उनी बताउँछिन् । ‘प्रयोग गर्नै परे महिलाले होइन पुरुषले कण्डम प्रयोग गर्नुपर्छ । महिलाले यसरी हर्मोनयुक्त गर्भनिरोधक साधनको प्रयोग गर्दा पछि बच्चा नबस्‍ने समस्या पनि देखिन सक्छ । र, पछि गएर उनलाई यही समाजले ‘बाँझी’ भनेर अपमानित गर्छ ।’

साहित्यकार तथा स्तम्भकार सरिता तिवारी महिलाभन्दा पुरुषको शरीरलाई महत्व दिएकाले परिवार नियोजनको साधनमा पुरुष सहभागिता कम भएको बताउँछिन् । ‘महिलाले गर्भ निरोधक साधन प्रयोग गर्दा देखिने ‘साइड इफेक्ट’लाई स्वीकार्य मानिन्छ,’ उनी भन्छिन्, ‘तर, पुरुषको हकमा देखिने ‘साइड इफेक्ट’लाई लिएर विभिन्‍न अफवाह फैलाइएको छ । स्थायी बन्ध्याकरण गर्दा पुरुष कमजोर हुन्छ, यौन आनन्द मिल्दैन, बलको काम गर्नुपर्छ भनेर अफवाह फैलाइएको छ ।’ 

त्यस्तै, बहुविवाहको प्रचलनले पनि यसलाई बढावा दिएको उनी बताउँछिन् । ‘अहिले पो बहुविवाह कानुनले दण्डनीय मान्छ,’ अधिवक्तासमेत रहेकी उनी भन्छिन्, ‘नत्र एउटासँग घरबार भएन भने अर्कोसँग बिहे गरेर घरबार गर्नुपर्छ भन्‍ने हिसाबले पनि पुरुषहरू स्थायी बन्ध्याकरण गर्न चाहँदैनन् । अनि महिलाको शरीर जति फालिए पनि त्यसको हिसाब हुँदैन । किनभने, उनीहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिन्छ ।’

एकै समयमा स्थायी परिवार नियोजन गराउने पुरुषभन्दा महिलाको संख्या २ लाख नै बढी देखाउँछ ।

यी र यस्तै सामाजिक र सांस्कृतिक कारणले महिलाले आफ्नो स्वास्थ्य बिगार्नु परेको उनी बताउँछिन् । केही महिलाले भने भोलिका दिनमा आफूलाई अप्ठ्यारो नपरोस् भनेर आफैँ अग्रसरता देखाउने उनी बताउँछिन् । ‘एउटी महिलाले आफ्नो परिवारको स्वास्थ्यको ख्याल राखिरहँदा उनको स्वास्थ्यको ख्याल राख्ने भने कोही हुँदैन,’ उनी भन्छिन्, ‘महिलाको अधिकारको कुरा गर्दा त्यसलाई राजनीति भनिन्छ । यहाँ त शोषणको पनि आफ्नै राजनीति हुन्छ ।’ नारीवादी लेखक तिवारी आफूले नभई आफ्नो श्रीमान्‌ले स्थायी बन्ध्याकरण गरेको बताउँछिन् । 


‘महिलामा मात्र केन्द्रित कार्यक्रम हुनु हाम्रो कमजोरी हो’

कविता अर्याल, वरिष्ठ नर्सिङ प्रशासक, परिवार कल्याण महाशाखा

गर्भनिरोधक साधनहरू महिला लक्षित गरेर उत्पादन गरिएका छन् । सोहीअनुसारको बजारीकरण भएको छ । जसकारण यसको प्रयोगमा महिला सहभागिता बढी भएको देखिन्छ । परिवार नियोजनको अस्थायी साधन डिपो, पिल्स, कण्डम, आईयूसीडी, इम्प्लान्ट हुन् । यी पाँचमध्ये एउटा मात्रै पुरुषका लागि छ । त्यो पनि पुरुषले राम्रोसँग लगाइदिएन भने त्यसको भागिदार महिला नै हुनुपर्छ । 

हाम्रो जस्तो पुरुषप्रधान देशमा महिलाले प्रजनन अधिकारको निर्णय आफैँले गर्न सक्ने अवस्था छैन । परिवार नियोजन प्रयोग गर्ने/नगर्ने, आफूले गर्ने वा श्रीमान्‌‌लाई गराउने निर्णय उनको हातमा हुँदैन । समाजमा कमै पुरुष छन् जो आफूले गर्भनिरोधक साधन प्रयोग गर्छन् नत्र अधिकांशले महिलालाई नै प्रयोग गर्न लगाउँछन् ।

यो पितृसत्तात्मक समाजको उपज हो । सृष्टि चलाउने जिम्मेवारी प्रकृतिले महिलालाई दिएको छ । अनिच्छुक गर्भ रहँदाको परिणाम महिलाले नै भोग्नुपर्छ । त्योसँगै आउने शारीरिक र मानसिक पीडाको भागिदार उनी आफैँ हुनुपर्छ । श्रीमान्‌ले प्रयोग गर्न नमान्दा भोलि त्यो पीडा भोग्न नपरोस् भनेर महिला आफैँ प्रयोग गर्छन् । 

प्रजनन प्रक्रियामा पुरुषहरू सहभागी हुनै चाहँदैनन् । जन्मिसकेपछि मात्रै ‘मेरो छोरा, मेरो छोरी’ भन्छन् । स्थायी बन्ध्याकरणको हकमा पुरुषहरू बाठो भएर धेरै अफवाह फैलाएका छन् । बन्ध्याकरण गर्‍यो भने यौन क्रियाकलापमा ह्रास आउँछ, पुरुष कमजोर हुन्छ भन्‍ने अफवाह व्यापक छ । कमाइ गरेर खुवाउने पुरुष कमजोर हुनु हुँदैन भन्‍ने समाजको धारणा छ । प्राविधिक हिसाबले हेर्ने हो भने पनि महिलाभन्दा पुरुषको स्थायी बन्ध्याकरण गर्न सजिलो छ । तर, यसको चेतना छैन । त्यस्तै, हाम्रा कार्यक्रमहरू पनि धेरैजसो महिला केन्द्रित छन् । यो हाम्रो कमजोरी हो । परिवार नियोजनसम्बन्धी कार्यक्रम र परामर्श सेवामा पुरुषको सहभागिता बढाउन सके र यससम्बन्धी भ्रम चिर्न सके उनीहरूको  पनि सहभागिता बढाउन सकिन्छ ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x