विशेष रिपोर्ट

विशेष रिपोर्ट

सोसल मिडियामा बच्‍चा, बा-आमा कति कच्‍चा ?

सृजना खड्का |
असोज १४, २०७८ बिहीबार १३:२९ बजे

काठमाडौँ– अभिनेत्री प्रियंका कार्की सदाकाल चर्चामा आउने कलाकार हुन् । अरु बेला अरु नै कुराले चर्चामा आउने अभिनेत्री कार्की केही समय अघिसम्म भने गर्भवती भएका कारण चर्चामा थिइन् । सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय सेलेब्रिटीको पहिचान बनाएकी उनले भर्खरै जन्माएकी छोरीलाई पनि सामाजिक सञ्जालको दुनियाँबाट पर राख्न सकिनन् । न्वारन पनि नसकिँदै उनले छोरी आयंकाको नाममा इन्स्टा अकाउन्ट खोलिसकेकी छिन् । हप्ता दिन पहिले खोलेको उनको अकाउन्टमा करिब २७ हजार फलोअर्स पुगिसकेका छन् । 

सामाजिक सञ्जालमा यसरी साल–नाल पनि नकाटेका साना नानीको अकाउन्ट खोल्ने प्रियंका एक्लो आमा भने होइनन् । पछिल्लो समय बच्चा जन्मनेबित्तिकै सामाजिक सञ्जालमा अकाउन्ट खोल्ने र केटाकेटीको दैनिकी पोस्टिने क्रम बढ्दो छ । 


जन्मिनेबित्तिकै सामाजिक सञ्जालमा बालबालिकाको अकाउन्ट खोल्दिने अभिभावकहरू भन्छन्— मोबाइल, ल्यापटप, कम्प्युटरमा फोटो भिडियो राख्दा कता उड्छ–उड्छ । फेसबुक, इन्स्टाग्राममा उनीहरूकै नाममा अकाउन्ट खोलेर राख्यो ढुक्क । पछिसम्म सुरक्षित ।

तर, बालबालिकाको फोटो सुरक्षित राख्न खोलिएका उनीहरूका सोसल मिडिया अकाउन्ट कति सुरक्षित छन् ? फोटो भिडियो सुरक्षित राख्ने नाममा अभिभावकहरू उनीहरूको जीवन नै असुरक्षातिर धकेलिरहेका त छैनन् ? 

प्रारम्भिक बाल विकास विशेषज्ञ डा. मीनाक्षी दाहाल भन्छिन्, ‘हामी घरको सामान सुरक्षित राख्न झ्याल ढोका बन्द गर्छाैं । दराजमा ताला मार्छाैं । अझ कुनै बहुमूल्य सामानलाई थप सुरक्षित बनाउन लकरमा राख्छौँ । तर, हाम्रा सबैभन्दा सुरक्षित राख्नुपर्ने अमूल्य सम्पत्ति बालबालिकालाई सामाजिक सञ्जालमा छताछुल्ल पार्छौँ ।’
सम्पूर्ण अभिभावकलाई उनको प्रश्न छ– के तपाईंहरूको छोराछोरीको मूल्य लकरमा राख्ने सामान जति पनि छैन ? 

सामाजिक सञ्जालमा बालबालिकालाई सेलेब्रिटी बनाउने होडमा अभिभावकले उनीहरूको बालापन छिनिरहेको डा. दाहाल बताउँछिन् । ‘हरेक अभिभावकले सामाजिक सञ्जालबाट बालबालिकाको के कुरा बाहिर ल्याउने, के नल्याउने भन्ने कुरा विचार पुर्‍याउनुपर्छ,’ उनी भन्छिन्, ‘उनीहरूलाई जन्मिँदैदेखि सार्वजनिक गर्दा पछि गएर उनीहरूको मानस्पटलमा असर गर्छ ।’ उनका अनुसार पछि गएर ठूलो भएपछि बालबालिकाहरूले ती पोस्टहरू नरुचाउने, तीनै पोस्टले उनीहरूलाई असहज स्थिति सिर्जना हुने हुन्छ । ती पोस्टमा आएका कमेन्ट पढ्दा कतिपयमा भावनात्मक चोट पुग्छ । ‘अभिभावकका यस्ता मूर्खतापूर्ण क्रियाकलापले बालबालिकाको समग्र व्यक्तित्व विकासमा नै नकारात्मक प्रभाव पर्न जान्छ,’ उनी भन्छिन्, ‘प्राइभेसी भन्ने विषय वयस्कसँग मात्रै होइन, बालबालिकासँग पनि जोडिएको विषय हो भनेर सबैले बुझ्नु जरुरी छ ।’

बाल मानसिक रोग विशेषज्ञ डा. अरुण कुँवर जन्मिनेबित्तिकै बालबालिकाको सोसल मिडिया अकाउन्ट बनाउनु नै गलत हो भन्ने धेरैलाई थाहा नभएको बताउँछन् । उनका अनुसार बालबालिकालाई जन्मिँदैदेखि सार्वजनिक जीवनमा राख्न खोज्दा पछि उनीहरूको अपेक्षा बढ्दै जान्छ । उनीहरूलाई के गर्ने, के नगर्ने थाहा हुँदैन । ‘उनीहरूलाई सोसल मिडियामा ‘ओभर एक्सपोज’ गर्दा आफूभन्दा ठूला मानिसहरूसँग अन्तक्रिया बढ्छ,’ उनी भन्छन्, ‘नचिनेका मानिसहरूसँग अन्तक्रिया बढ्दा उनीहरू शोषणमा पर्ने सम्भावना हुन्छ । आफ्ना बालबालिकालाई यस्ता दुर्घटनाबाट बचाउने हो भने सामाजिक संजालमार्फत सार्वजनिक गर्नुहुँदैन ।’ 

न्यू मिडिया अभियन्ता प्रवेश सुवेदी बालबालिकालाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने, नगर्ने भन्ने विषय सामाजिक परिवेशअनुसार फरक पर्ने बताउँछन् । ‘सबै समाज र देशको परिवेश एकै हुँदैन,’ उनी भन्छन्, ‘कतिपय देशमा बच्चाहरूको फोटो अथवा सूचना सोसल मिडियामा सार्वजनिक गर्नुलाई अत्यन्त संवेदनशील मानिन्छ । कतै आमाबुवाको अनुमति लिएर मात्रै प्रयोग गर्न पाइन्छ । कतिपय देशमा त अनुमति लिएर पनि प्रयोग गर्न पाइँदैन ।’ अभियन्ता सुवेदीका अनुसार हाम्रो देशमा हाम्रोमा यो विषयलाई लिएर त्यस्तो कुनै नीति–नियम छैन । ‘सुरक्षाको हिसाबले अभिभावकले आफ्नै सामाजिक सञ्जालमा पनि बालबालिकाको फोटो अथवा सूचना राख्नु हुँदैन,’ उनी भन्छन्, ‘झन् उनीहरूकै अकाउन्ट खोलिदिनु कतिसम्म असुरक्षित हो, बुझ्नुपर्छ ।’

मनोविद् करुणा कुँवर भने धेरै अभिभावक देखावटीका लागि आफ्ना बालबालिकाको फोटो पोस्ट्याउने गरेको बताउँछिन् । ‘भविष्यमा आउने परिणामबारे ख्यालै नराखी अभिभावकहरू सोसल मिडियामा जथाभावी फोटो–भिडियो राखिदिन्छन्,’ उनी भन्छिन्, ‘फेसबुकमा फोटो हाल्दैमा के हुन्छ र ? भन्ने बुझाइ धेरै अभिभावकहरूको छ । तर, जन्मिनै नपाई सोसल मिडिया अकाउन्ट खोलिदिँदा पछि बालबालिकाले ह्यान्डल गर्न नसकेर साइबर अपराधको सिकार बन्न सक्छन् ।’
केही समयअगाडि मात्रै मनोविद् कुँवरकहाँ त्यस्तै एउटा केस आयो । आमाबुवाले खोलिदिएको सामाजिक सञ्जाल ११ वर्षकी बालिका आफैँले चलाउन थालिन् । उनको फोटो र भिडियोलाई लिएर अपरिचितले उनलाई ब्ल्याकमेल गरे । ब्ल्याकमेलमा परेर उनलाई झण्डै भारत पुर्‍याइयो।

प्रारम्भिक बाल विकास विशेषज्ञ डा. दाहाल अभिभावकले बालबालिकाको फोटो पोस्ट गर्दा थाहा नै नदिई गोप्य सूचना सार्वजनिक गरिरहेका बताउँछिन् । ‘बालबालिका कहाँ गइरहेका छन्, के गरिरहेका छन्, कस्तो लगाइरहेका छन् जस्ता गोप्य सूचना चुहाउँदा दुर्घटना निम्तिन्छ,’ उनी भन्छिन्, ‘त्यस्ता फोटो र सूचनाहरू मानिसले व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिरहेका हुन्छन् । गलत प्रयोग गरेर फाइदा उठाइरहेका हुन्छन् ।’ अभिभावकका यस्तै मूर्खताले धेरै बालबालिका दुव्र्यवहारको सिकार हुन पुगेको उनी बताउँछिन् । अभिभावक आफ्नै लागि कतिपय एप्लिकेसनहरू सुरक्षित नभएको भन्दै उनी धेरै अभिभावकले प्राइभेसी पोलिसीलाई ध्यानमा नराख्ने बताउँछिन् । ‘१८ वर्ष नपुगेका बालकालिकाको नाममा सोसल मिडिया अकाउन्ट खोल्न पाइँदैन,’ उनी भन्छिन्, ‘तर, अभिभावकहरू उमेर ढाँटेर बालबालिकाको अकाउन्ट खोल्दिन्छन् । उनीहरूलाई सम्झाउने कसले ?’

अभियन्ता सुवेदी बालबालिकालाई सोसल मिडियामा सेयर गर्दा उनीहरूलाई तत्कालीन र दीर्घकालीन असर पर्ने बताउँछन् । उनका अनुसार यसले ठूलो भएपछि उनीहरूको दैनिक जीवनमा समेत असर पार्छ । प्राइभेसीसँग सम्बन्धित स्क्यान्डलहरू हुन सक्छ । ‘हामीले यो विषयलाई ख्याल ठट्टाका रूपमा लिइरहेका छौँ,’ उनी भन्छन्, ‘प्राइभेसीसँग सम्बन्धित स्क्यान्डलहरू अरुको जीवनमा पर्दा हामी सामान्य रूपमा लिन्छौँ । तर, आफ्नै जीवनमा घटेपछि मात्र त्यसले गर्ने असरबारे थाहा हुन्छ ।

मनोविद् कुँवरका अनुसार यस्ता क्रियाकलापले बालबालिकाको भावनात्मक विकास हुन पाउँदैन । उनीहरू सोसल मिडिया एडिक्सनमा पर्न थाल्छन् । भर्चुअल दुनियाँमा रमाउने उनीहरू वास्तविक दुनियाँका मानिसहरूसँग खुलेर अन्तक्र्रिया नै गर्न सक्दैनन् । उनीहरूको आत्मविश्वास बिस्तारै कमजोर हुँदै जान्छ । ‘यस्ता कुरा हामीले मात्र बोलेर वा मिडियामा लेखेर मात्र हुँदैन,’ उनी भन्छिन्, ‘सरकारी निकायबाटै नीति–नियम बन्नुपर्छ । जनचेतना व्यापक रूपमा फैलाउनुपर्छ ।’ 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x