विशेष रिपोर्ट

विद्युत् प्राधिकरणका सहायक कम्पनीहरू संविधानविपरीत सञ्‍चालित

लोकसेवाले परीक्षा लिनुपर्नेमा आफूखुशी भर्ना, आयोगले माग्यो विवरण

विकास थापा |
फागुन १४, २०७७ शुक्रबार १८:३९ बजे

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा गठित २९ वटा कम्पनीहरु नेपालको संविधान, २०७२ विपरीत सञ्‍चालन भइरहेको पाइएको छ ।
संविधान जारी भएपछि गठित अधिकांश सहायक कम्पनीहरुले आफूखुशी कर्मचारी भर्ना गरेर संविधानको धारा २४३ को उपधारा २ लाई चुनौती दिएका छन् । उक्त धारामा ‘संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्‍चालन गर्नेछ’ भनिएको छ । 

तर यी सहायक कम्पनीहरुले लोकसेवा आयोगले परीक्षा सञ्‍चालन नगरी प्रतिस्पर्ध नै नगराई कर्मचारी भर्ना गरिएको पाइएपछि ती सबै कम्पनीहरुको विवरण लोक सेवा आयोगले माग गरेको छ । संविधानको उक्त धाराको स्पष्टीकरण खण्डमा ‘संगठित संस्था’ भन्‍नाले पचास प्रतिशत वा सोभन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संस्था भनेर बुझ्नुपर्ने उल्लेख छ ।


आयोगले गत माघ ९ गते ऊर्जा मन्त्रालयलाई पत्र लेखी ती सहायक कम्पनीहरुको विवरण माग गरेको हो । माथिल्लो तामाकोसी जलविद्युत्को प्रवर्द्धक कम्पनी अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले गत असोज २९ गते आयोग समक्ष पदपूर्ति सम्बन्धमा आवश्यक निर्देशन माग गर्दै पत्राचार गरेको थियो । माथिल्लो तामाकोसीको पत्राचारपछि आयोगले संविधानको उक्त धारा बमोजिमको संगठित संस्थाको परिभाषाभित्र पर्ने संस्थाहरु हुन् वा होइनन् भन्‍ने सम्बन्धमा आवश्यक विवरण माग गरेको हो । 

आयोगको निर्देशनअनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मनत्रालयले गत माघ २१ गते विद्युत् प्राधिकरणलाई पत्र लेखी आयोगको पत्रमा उल्लेख भए बमोजिमको विवरण खुलाई सात दिनभित्र मन्त्रालयमा पठाउन निर्देश गरेको थियो । मन्त्रालयको पत्रउपकार कारबाही गर्दै प्राधिकरणको प्रशासन निर्देशनाले गत माघ २९ गते आफू मातहतको कर्मचारी प्रशासन महाशाखालाई पत्राचार गर्दै विवरण उपलब्ध गराउन लिखित निर्देशन दिएको थियो । उक्त निर्देशनबमोजिम प्राधिकरणको जनसाधन विभागले गत फागुन ५ गते ती २९ वटा कम्पनीहरुलाई तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको थियो । 

आयोगको निर्देशन अनुसार अब यी सहायक कम्पनीहरुले कर्मचारी भर्ना कुन प्रक्रियाबाट गरेको हो, संविधानको धारा २४३ (२) बमोजिम लोकसेवा आयोगबाट परीक्षा लिइएको हो होइन ? यी कम्पनीमा नेपाल सरकारको स्वामित्व र लगानीको अवस्था के कति रहेको छ लगायतका विवरणहरु खुलाउनुपर्नेछ । प्राधिकरणले २०७२ पछि गठन गरेका सहायक कम्पनीहरुमध्ये अधिकांशले हाकिम निकटका व्यक्तिलाई अध्यक्ष र प्रमुख सञ्‍चालन अधिकृत (सीइओ) तथा सञ्‍चालक नियुक्ति गर्दै आएका छन् । प्राधिकरणमा कार्यरत एकजना इन्जिनियरले सरकारी स्केलबमोजिम मासिक ३५ हजार २ सय तलब पाउँछन् भने यी सहायक कम्पनीहरुमा कार्यरत एकजना इन्जिनियरको मासिक तलब ७० हजार रुपैयाँभन्दा माथि रहेको छ । 

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण हुन नसकेका, भर्खरै इन्जिनियरिङ सकेका, ऊर्जा मन्त्री, सत्तारुढ दल र अन्य प्रभावशाली दलका प्रभावशाली नेता, कार्यकारी निर्देशकका सिफारिसमा यी कम्पनीहरुले भर्ना लिएका हुन् । प्राधिकरण स्रोतका अनुसार यी सबै सहायक कम्पनीहरु गरी एक हजारभन्दा बढी यस्ता कर्मचारी कार्यरत छन् । यी सहायक कम्पनीमा प्राधिकरणका कर्मचारी सामान्यतया सरुवा वा काजमा जान पाउँदैनन् । प्राधिकरणको कर्मचारी सेवा विनियमावलीमा सहायक कम्पनीले माग गरेमा र प्राधिकरण सञ्‍चालक समितिले स्वीकृत गरेमा मात्रै प्राधिकरणका कर्मचारी त्यस्ता सहायक कम्पनीमा काम गर्न पाउँछन् । 

‘सञ्‍चालक समितिसम्म पहुँच नहुने कर्मचारी सहायक कम्पनीमै जान पाउँदैनन्’ स्रोतले भन्यो, ‘प्राधिकरणमा भन्दा आकर्षक तलब, भत्ता र सुविधा सहायक कम्पनीमा हुने हुँदा प्राधिकरणका कर्मचारी त्यता जान जहिले पनि लालायित हुने गर्छन् ।’

त्यसबाहेक त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ गरेका मेधावी विद्यार्थी प्राधिकरणमा प्रशस्त छन् । उनीहरु सक्षम र उच्च दक्षतायुक्त भए पनि सोर्सफोर्सको अभावले सहायक कम्पनीमा सरुवा भई जान पाउँदैनन् । यी सहायक कम्पनीहरुले सार्वजनिक खरिद ऐनविपरीत खरिद तथा प्राप्ति गर्दै आएका छन् । उदाहरणका लागि माथिल्लो अरुणको अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनु पर्‍यो भने प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीलाई बिनाप्रतिस्पर्धा दिन्छ । 

उसले आफूखुशी दरभाउ राखेर ठेक्का लिन्छ । खरिद तथा प्राप्तिमा कुनै मूल्य मान्यता छैन ।  ‘हिजो एनसीसीएनले सडक विभागबाट बिनाप्रतिस्पर्धा ठेक्का लिन्थ्यो,’ स्रोतले भन्यो, ‘एनसीसीएनले कमीसन खाएर निजी ठेकेदारलाई ठेक्का दिन्थ्यो, अहिले ठीक यस्तै अवस्था प्राधिकरणमा छ ।’ लोकसेवा आयोगले विवरण माग गरेका प्राधिकरणका सहायक कम्पनीहरुमा चिलिमे हाइड्रोपावर, अपर तामाकोसी हाइड्रोपावर लि, तनहुँ हाइड्रोपावर लि, एनइए इन्जिनियरिङ कम्पनी, नेपाल पावर ट्रेडिङ कम्पनी, आँधीखोला पावर कम्पनी, दूधकोसी जलविद्युत् कम्पनी, टावर तथा पोल उत्पादन कम्पनी, अपर अरुण हाइड्रोइलेक्ट्रिक कम्पनी, रघुगंगा पावर कम्पनी, उत्तरग‌गा पावर कम्पनी, तामाकोसी जलविद्युत् कम्पनी र पावर ट्रान्समिसन कम्पनी नेपाल छन् ।

यसैगरी प्राधिकरणका अन्य सहायक कम्पनीहरुमा साञ्‍जेन हाइड्रोपवार कम्पनी, सल्लेरी च्लाल्सा इलेक्ट्रिसिटी कम्पनी, जिएमआर अपर कर्णाली हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोसी हाइड्रोपावर कम्पनी, त्रिशुली जलविद्युत् कम्पनी, खुम्बु बिजुली कम्पनी, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी, नेपाल हाइड्रो ल्याब, बुटबल पावर कम्पनी, क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनी, विद्युत् उत्पादन कम्पनी र बेतन कर्णाली सञ्‍चयकर्ता हाइड्रोपावर कम्पनी छन् । 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x