खेलकुद

स्टाम्फोर्ड ब्रिजमा ४२ वर्षपछि वेस्टब्रुमको पहिलो जित

इकागज |
चैत २१, २०७७ शनिबार १९:३४ बजे

काठमाडौँ: इंग्लिस प्रिमियर लिगमा शनिबार साँझ वेस्टब्रुमले चेल्सीमाथि अप्रत्याशित जित दर्ता गरेको छ । स्टाम्फोर्ड ब्रिजमा सन् १९७८ देखि यता पहिलो पटक जित हासिल गर्ने क्रममा वेस्टब्रुमले चेल्सीलाई ५-२ ले हरायो । 

खेलमा चेल्सीले सुरुवाती अग्रता बनायो । क्रिस्टियान पुलिसिचले २७ औँ मिनेटमा पहिलो गोल गरे । तर चेल्सीको खुशी धेरैबेर टिकेन । २९ औँ मिनेटका रक्षक थियागो सिल्भाले रातो कार्ड खाएपछि थोमस टुचेलको टिम १० जनामा सिमित भयो । 


पहिलो हाफको अन्त्यमा थपिएको चार मिनेटभित्र वेस्टब्रुमले दुई गोल फर्कायो । दुबै गोल माथुएस परेराले गरे । दोस्रो हाफमा क्यालुम रोबिन्सनले दुई गोल थपे भने अर्को एक गोल एमबाए डियाग्नेको नाममा रह्यो । चेल्सीका लागि दोस्रो हाफमा म्यासन माउन्टले एक गोल फर्काए पनि त्यसले हार टारेन । 

जितपछि पनि वेस्टब्रुम १९ औँ स्थानमा यथावत छ । साम एलरडायसको टिमले ३० खेलबाट २१ अंक बनाएको छ । उता चेल्सी भने ५१ अंकका साथ चौथौँ स्थानमा रहेको छ । 
 


Author

थप समाचार
x