खेलकुद

पोखरा स्पोर्टस् अवार्डको ट्रफी सार्वजनिक

इकागज |
असार १६, २०७९ बिहिवार २१:३१ बजे

पोखरा- पोखरामा शनिबार हुने छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को ट्रफी सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्‍च गण्डकीले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर ट्रफी सार्वजनिक गरेको हो । 

मञ्‍चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरीता तिम्सिना पगेनी, मञ्‍चका पूर्व अध्यक्ष विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरालगायतले ट्रफी सार्वजनिक गरे । अध्यक्ष बरालले अवार्डको तयारी पूरा भएको बताए । 


अवार्ड समारोह असार १८ गते दिउँसो पोखरा सभागृह हलमा हुँदैछ । स्पोर्टस् अवार्डमा ७ वटा अवार्ड वितरण गरिने मञ्‍चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अवार्डको विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड प्रदान गरिने पौडेलको भनाइ छ । 

वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, कराँतेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का उत्कृष्ट ३ को मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलामा भलिबलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र कराँतेकी सरगम कुमाल छन् । उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका साहिल लिम्बु मनोनयनमा छन् ।

उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचीमा परेका छन् । तीमध्ये छनोट समितिले गरेको निर्णयको आधारमा उत्कृष्ट १ जनालाई अवार्ड वितरण हुनेछ । 

पोखरा स्पोर्टस् अवार्ड अन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्रान्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । उत्कृष्ट उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार रूपैयाँको साथमा ट्रफी प्रदान गरिने मञ्‍चले जनाएको छ । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।

यो वर्ष लाइफ टाइम अचिभमेन्ट अवार्ड अग्रज खेलाडी गणेश बहादुर भट्टराईलाई प्रदान गरिनेछ । उत्कृष्ट खेल संघ र  वर्ष उत्कृष्ट खेल पत्रकार विधाको भने घोषणा हुन बाँकी रहेको मञ्‍चले जनाएको छ ।


Author

थप समाचार
x