खेलकुद

के पुबुदु अझै पनि आलोचनाका लायक छैनन् ?

सञ्जीव शाह |
असार १७, २०७९ शुक्रबार १५:२५ बजे

काठमाडौँ – गत वर्ष डिसेम्बर ११ (गत मंसिर २५) मा नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकामा जन्मिएका तथा क्यानेडियन नागरिक पुबुदु दासानायकेलाई दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गर्‍यो ।

त्यसबखत उनकासामू तत्काल आएको एउटा ठूलो चुनौती भनेको अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपमा पुर्‍याउनु थियो ।


ओमानमा फेब्रुअरी १८ देखि २४ तारिखसम्म भएको आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्वालिफायर ‘ए’ अन्तर्गत युएईविरुद्धको सेमिफाइनल खेलमा पराजय भोगेपछि नेपाली टिम अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुन असफल रह्यो ।

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडी विवादकाबीच जनवरी पहिलो सातादेखि नेपाली टिमको प्रशिक्षण सुरु भएको थियो । छोटो समयको तयारीका कारण टिम विश्वकप छनोटका लागि ओमान पुगेको तथा विश्वकपमा पुग्न नसकेको भन्दै एउटा राम्रो बहाना नेपाली क्रिकेट टिम तथा स्वयम पुबुदुका लागि पर्याप्त थियो ।

खासमा यसअघि नेपाली क्रिकेट टिमलाई सन् २०१४ मा बंगलादेशमा भएको टी-ट्वान्टी विश्वकपमा नेपाललाई पुर्याएका पुबुदु भने यसपटक नेपाललाई टी-ट्वान्टी विश्वकपसम्म डोर्‍याउन नसकेपनि उनको खासै आलोचना भने भएन ।

उनका लागि अर्को ठूलो चुनौती भनेको अब आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाललाई शीर्ष तीनमा उभ्याउनु हो ।

शीर्ष तीनमा रहने टोली २०२३ को आईसीसी पुरुष विश्वकपका लागि हुने छनोटमा स्थान बनाउन सफल हुनेछन् । त्यतिमात्र नभएर शीर्ष तीनमा रहने टोलीसँगै चौथों र पाँचौं स्थान हात पार्ने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत कायम राख्नेछ । अर्कोतर्फ पुछारका ४ टिमले विश्वकप छनोटका लागि प्लेअफ खेल्ने मौका पाउने आईसीसीले जनाएको छ ।

लिग-२ मा शीर्ष ३ मा पर्नुका साथै २०२३ को एकदिवसीय विश्वकपमा स्थान बनाउनु पनि पुबुदुका लागि ठूलै चुनौती हो ।

तर सात टिमको सहभागिता रहेको लिग-२ को अवस्था हेर्दा नेपालका लागि शीर्ष तीनमा पर्नु त्यति सजिलो भने पक्कै छैन । अहिले सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा रहिरहँदा २० खेलबाटै २८ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । यता २२ खेलबाट २६ अंक जोडेको युएई तेस्रो स्थानमा छ भने २४ खेलबाट २३ अंक जोडेको अमेरिका चौथों स्थानमा रहेको छ ।

यता नेपालले अहिलेसम्म १६ खेल खेलेको छ र सात जित र एक बराबरीबाट १५ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ । नेपाल ८ खेलमा पराजित भएको छ । अर्थात जित भन्दा हारको संख्या एक बढी छ ।

यता छैटौं स्थानमा रहेको नामिवियाले भने १४ खेलमा समान १४ अंक जोडेको छ भने पुछारमा रहेको पपुवा न्यूगिनीले २० खेलबाट केवल २ अंक जोडेको छ । समग्रमा स्कटल्यान्ड, युएई, ओमान र नामिविया नेपालभन्दा अघि छन् ।

र नेपालले अब खेल्नुपर्ने २० मध्ये ४ खेल स्कटल्यान्डमा खेल्दैछ त्योपनि सबै भन्दा बलियो मानिएको स्कटल्यान्ड र नामिवियाविरुद्ध ।

स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिज नेपालका लागि मात्र नभएर पुबुदुका लागि पनि महत्वपूर्ण हुनेछ किनभने लिग-२ मा शीर्ष तीनमा स्थान बनाउन नेपालले स्कटल्यान्ड र नामिवियाजस्ता बलिया टिमलाई पराजित गर्नुपर्ने हुन्छ ।

अझ भनौ भने लिग-२ मा शीर्ष तीन स्थान हात नपारेको अवस्था तथा विश्वकपमा छनोट नभएको अवस्थासम्म पुग्नुपर्‍यो भने नेपाली क्रिकेटका लागि एउटा ठूलो दुर्भाग्य हुन सक्छ किनभने विश्वव्यापी रुपमा क्रिकेट व्यापक रुपमा परिवर्तन भइरहेको छ । नयाँ नयाँ शक्ति उदाइरहँदा ठोस योजना अनुसार अझै अघि बढ्न नसकेको नेपाल क्रिकेटमा पछि पर्ने सम्भावना रहन्छ ।

अर्कोतर्फ लिग-२ अन्तर्गत नेपाल शीर्ष तीनमा रहन नसकेको तथा विश्वकपमा स्थान बनाउन नसकेको अवस्थामा पुबुदुको नेपाल बसाईको कुनै अर्थ भने रहने छैन ।

अघिल्लो कार्यकालमा नेपाललाई दिलाएको सफलताले नै उनको सधैभरी भने जयजयकार भने पक्कै हुनेछैन र उनी आलोचनाको सिकार बन्नेछन् ।

तर त्यस्तो अवस्था आउन नदिन भने पुबुदुले भने लिग-२ मा नेपाली टिमको जितको प्रतिशत बढाउनुपर्नेछ अर्थात अबका बाँकी खेलमा हारबारे सोच्ने अवस्था उनीसँग छैन ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x