खेलकुद

ढिलोगरी सुरु भएको एन्फा बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित

इकागज |
साउन ५, २०७९ बिहीबार ११:१८ बजे

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितिको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो । 

एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि ढिलो गरी सुरु भएको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए । दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए । पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको हो ।


यसअघि गत सोमबारका लागि तय भएकोसो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो । निर्वाचनपछि भएको शपथग्रहणलगत्तै बसेको पहिलो बैठकले विवादास्पद रूपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचित परेको नयाँ नेतृत्तवको दोस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि  छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ), तीन सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल हुने बताइएको छ ।

चुनावमा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिष्पर्धामा उत्रिएका थिए । साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुनेको थियो ।
 
 


Author

थप समाचार
x