खेलकुद

के नेपालमा खेलाडी बाँच्न सक्ने अवस्था नभएकै हो ?

इकागज |
साउन २२, २०७९ आइतबार २०:१८ बजे

काठमाडौं– खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ ।  हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन् । 

राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेको कतिपय खेल विज्ञहरु बताउँछन् । तर राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउन सकेको छैन । यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ, सँगै खेलकुद क्षेत्रको पनि भविष्य धराप बन्दै गएको छ ।


केही दिनअघि मात्रै राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ नेपालमा खेलकुदमा भविष्य सुनिश्चित नहुने ठानेर अस्ट्रेलिया पलायन भए । यो एउटा भर्खरैको हो । तर, यो बाहेक पनि धेरै राष्ट्रिय खेलाडीहरु नेपालको खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेका छन् ।

नेपाली फुटबलका विमल राना, हेमन्त थापा मगर, नेपाली राष्ट्रिय क्रिकेटका वसन्त रेग्मी, पृथु बास्कोटा, नरेश बुुढाऐर, राष्ट्रिय भलिबलकी रमिला तण्डुकारलगायत विभिन्न एकल विधाका खेलाडीहरु विदेश पलायन भइसकेका छन् । 

पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा नेपाली खेलकुदमा राजनीति बढी हावी भएको सर्वत्र दृृष्टान्त छन् । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सहभागिताका हुन लाग्दा खेलाडी राजनीतिको चपेटामा परेको घटना पनि उत्तिकै बाहिरिएका छन् । खेलकुदलाई राज्यले हेर्ने दृष्टिकोण दूरगामी र प्रभावकारी बन्न नसक्दा वर्षौंसम्म खेलकुदमा लागेका खेलाडीले विकल्प रोज्न थालेका हुन् । 

उनीहरुको वैकल्पिक रोजाई विदेश बन्ने गरेको छ । विदेश पलायनको बाटो रोजिरहँदा खेलाडीहरुले करियर नै टुङ्गाउनेतिर समेत लागेका कतिपय उदाहरण छन् । यसले वर्तमान पुस्तालाई असर गरेकै छ, साथै भविष्यका लागि पनि नकारात्मक छाप पर्ने निश्चित छ । नेपाली खेलकुदलाई नियालिरहेका खेलविज्ञ सुशिल नरसिंह राणाले आशा नभएपछि  खेलाडीले विकल्प खोज्नु बाध्यात्मक परिस्थित रहेको बताउँछन् । राणाले खेलकुदमा राजनीति हावी हुनुले नकारात्मक असर परेको औंल्याए । 

नेपाली हरेक खेलाडीसँग आफ्नो नाम र प्रतिष्ठाको कुरा रहेकोले पनि खेलाडीहरु पैसामा नदौडिने बताए । तर पछिल्लो समय खेलमा राजनीति हावी हुँदा समग्र खेलकुद क्षेत्रमा नै नकारात्मक असर परेको उनको भनाइ छ । विदेश पलायन भइरहेका खेलाडीलाई रोक्नेका लागि वर्षभर व्यस्त रहने खेलतालिका र योजना सहितका कार्यक्रम ल्याएमा खेलाडीले विकल्पको रुपमा विदेश नरोज्ने खेल विज्ञ राणाले बताए ।

राज्य स्तरबाट खेलाडीहरुको सामाजिक सुरक्षाका लागि प्रभावकारी योजना बुन्न नसकेको यथार्थ हो । विभागले केही हदसम्म खेलाडीलाई रोजगारीको निश्चितता गरेर टिकाउने प्रयास गरिरहेका छन् । अहिले तीन विभागले धानेको नेपाली खेलकुद अड्एिको छ भन्दा फरक नपर्ला । त्यस बाहिरका खेलाडीको अवस्था दयनीय बन्दै गएको छ । नेपाली खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको ओलम्पिक, एशियन गेम्स, दक्षिण एशियाली खेलकुद हुन् । यी प्रतियोगिता सहभागिताका लागि उपयुक्त किसिमको प्रतिष्पर्धात्मक प्रतियोगिताको अभाव छन् । तय भएका राष्ट्रिय प्रतियोगिता पटकपटक सर्दै खेलाडीको तयारी व्यर्थ हुने गरेका छन् । 

तर, अहिले विगत र अहिलेको अवस्थामा फरक भएको भन्दै खेल विज्ञ राणाले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई सेवा सुविधा दिनुपर्ने बताए । विगतको अवस्था भन्दा अहिले खेलाडीलाई निजी स्तरबाट आयोजना हुने प्रतियोगिताबाट आर्थिक आर्जन गर्ने अवस्था फराकिलो भएको भएपनि दीर्घकालिन नभएको उहाँको बुझाई छ । राज्य स्तरबाट कुनैपनि खेलाडीको करियर पश्चात भविष्य सुनिश्चितताको व्यवस्था भए खेलाडी विदेश पलायन हुनबाट रोकिने राणाले बताए।

नेपाली खेलकुदमा विश्व स्तरका भौतिक पूर्वाधारको अभाव छ । सँगै खेलाडीका लागि पर्याप्त सुविधा पनि छैन । भविष्यको प्रत्याभूति नहुँदा धेरै र राम्रा खेलाडीहरु विदेश पलायन भइरहेका हुन । र यो क्रम बढ्ने क्रममा रहेको छ । कराँतेबाट नेपाली खेलकुदलाई धेरै पटक पदक दिलाएका दीपक श्रेष्ठले विगतमा खेलाडीलाई उपलब्ध गराइने सेवा सुविधा र अहिलेका खेलाडीलाई उपलब्ध गराइने सेवा सुविधा तुलना गर्दा धेरै फरक भएकाले खेलाडी टिकाउन मुस्किल भएको बताउँछन् । श्रेष्ठले विगतमा राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्बन्धित संघले जागिर दिने व्यवस्था भएपनि अहिले त्यो अवस्था नहुँदा कतिपय खेलाडीले विदेश जाने बाटोको रुपमा खेल छोड्ने गरेको बताए । 

नयाँ खेलाडीलाई टिकाउने आधार राज्य स्तरबाट ‍बनाउनुपर्ने आवश्यकता रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका दीपक श्रेष्ठले बताए। राज्य स्तरबाट खेलाडीलाई टिकाउनका लागि उच्च स्तरबाट नै योजनाहरु बनाएको अवस्थामा खेलाडी पलायन रोक्न सकिने पूर्व खेलाडी श्रेष्ठ बताउँछन् ।

राष्ट्रिय खेलकुद परिषद्ले सीमित खेलाडीलाई खेल जीवनपछि प्रशिक्षक वा कर्मचारीका रुपमा रोजगारी दिँदै आएपनि यसले समग्र खेलाडीको सम्बोधन गर्न सकिरहेको छैन । यस बाहेक विभागीय टोलीले धेरै हदसम्म खेलाडी धानिरहेका छन् । खेल क्षेत्रबाट पलायन खेलाडीको यो सूची धेरै लामो छ । एकल विधाका खेलदेखि समूहगत खेलका खेलाडीले विकल्प दिनानुदिन खोजिरहेका छन् । 


Author

थप समाचार
x