खेलकुद

आइपीएलमा सन्जुको शतक, राजस्थानमाथि पञ्जाबको जित

इकागज |
चैत ३१, २०७७ मगलवार ५:५१ बजे

काठमाडौँ : आइपीएल क्रिकेटमा सन्जु सामसनले यस वर्षको पहिलो शतक बनाएका छन् । १४ औँ संंस्करणको चौथो खेलमा राजस्थान रोयल्सका लागि कप्तान सामसनले शतक बनाएका हुन् । तर उनको टिम राजस्थान रोयल्स भने पञ्जाब किंग्ससँग ४ रनल पराजित भयो ।

सोमबार राती पञ्जाबले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन बनाउनु पर्ने भएपनि राजस्थानले ८ रन मात्रै बनाउन सक्यो ।


अन्तिमसम्म क्रिजमा टिकेका सामसनले ११९ रनको शतकीय पारी खेले । अन्तिम बलमा जितका लागि छक्का चाहिएका बेला सन्जु भने अर्शदीप सिंहको बलमा दीपक हुदाबाट क्याचआउट भए । उनी आउट भएसँगै राजस्थानको जितको सपना तुहियो । पञ्जाबले उत्सव मनायो ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो । उसका लागि कप्तान लोकेश राहुलले ९१ रन बनाए । विशाल लक्ष्य पछ्याएपनि राजस्थान जित नजिक पुगेर हार व्यहोर्न बाध्य भयो ।

जितसँगै पञ्जाब २ अंकसहित तेस्रो स्थानमा छ । समान अंक भएपनि रनरेटका आधारमा दिल्ली पहिलो, कोलकत्ता दोस्रो र बेंग्लोर चौथो स्थानमा छ । आइपीएलमा आज राती मुम्बई र कोलकत्ता खेल्दैछन् । मुम्बई पहिलो खेलमा बेंग्लोरसँग पराजित भएको टिम हो ।

कोलकत्ताले पहिलो खेलमा हैदरावादलाई हराएको थियो ।


Author

थप समाचार
x