खेलकुद

स्ट्रेन्थलिफ्टिङ एण्ड आइबीपीमा दीपाको सफलता

तौल घटाएर पोर्चुगल जाने तयारी थियो, कीर्गिस्तान पुगेर नेपाललाई स्वर्ण दिलाइन्

बाबुराम भण्डारी |
असोज ३, २०७९ सोमबार १३:४५ बजे

विराटनगर - नेपालमा 'स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस' (आइबीपी) खासै नाम नसुनिएको खेल हो । यो खेललाई अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद्ले खेलका रूपमा मान्यता पनि दिएको छैन । तर यो खेल खेल्ने खेलाडीहरूले भने नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा देशकै नाममा पदक भित्र्याइरहेका छन् ।

खेल क्षेत्रका जानकारहरू अझै पनि स्ट्रेन्थलिफ्टिङलाई भारत्तोलन अर्थात वेटलिफ्टिङको ‘दाजुभाई’ खेलका रूपमा बुझ्दछन् । यो खेललाई पछिल्लो पटक अन्तर्राष्ट्रियकरण गर्न भने दीपा विष्टको योगदान छ । दीपा उनै हुन्, जसले यो खेलमा कायम रहेको विश्व रेकर्डलाई समेत तोड्दै नेपाललाई इन्क्लाइन बेन्च प्रेस (आइबीपी) तर्फ स्वर्ण र स्ट्रेन्थलिफ्टिङमा रजत पदक दिलाइन् ।


उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपस्थितिमै नेपाललाई स्वर्ण पदक दिलाएर स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेस (आइबीपी) खेलमा राष्ट्रिय किर्तिमान कायम गर्नुका साथै यो खेलमा नेपालको भावी सम्भावनाको बाटो कोरिदिइन् । कीर्गिस्तानमा गत भदौ २० देखि २६ गतेसम्म आयोजित नवौं स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) प्रतियोगीताबाट दीपाले स्वर्ण पदकसहित फर्किएकी हुन् ।

आइबीपी सिनियर समूहतर्फ उनले ७२ केजी तौल उचालेर नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् । यसअघि भारतीय खेलाडीको नाममा रहेको ६५ केजी तौलको रेकर्डलाई उनले तोडिदिएकी हुन् । उनले आफ्नो तीन वर्षको मेहनतलाई स्वर्ण पदकमा बदल्न सफलको सुनाइन् ।

हुन त दीपाका लागि यो सफलता नसोचेकै भित्र पर्दछ । किनभने उनी खेल खेल्नकै लागि भनेर चै जिम गएकी थिइनन् । स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) खेलका लागि आवश्यक तयारी जिम तथा पिटनेस क्लबहरूमै गरिन्छ । यो खेलकै लागि भनेर अहिलेसम्म अलग्गै पूर्वाधार तयार गरिएको छैनन् ।

दीपा उमेरले दिदी पर्ने केही साथीहरू पोर्चुगलमा भएका कारण आफू पनि उतै जाने सोचमा थिइन् । त्यसैको प्रोसेस मिलाउन उनी २०७४ मा काठमाडौंमा अरु साथीहरू बस्दै थिइन् । तर आफ्नो तौल अलिक बढी नै भएको भन्दै उनले जिम जाने निधो गरिन् । 

‘त्यतिबेला २१ वर्षकी थिएँ, मेरो तौल चाहिँ ८६ किलो थियो’ उनले भनिन्, ‘बाहिर जाने प्रोसेसमा भएका कारण तौल बढी भएकोले जिम गएको थिएँ, जिम पुगेपछि मेरो सपना नै फरक भयो ।’ तौल घटाउनकै लागि आफूले कालिमाटीस्थित डिभाइन फिजिकल फिटनेसमा जिम सुरु गरेको उनले बताइन् ।

अभ्यास हुँदै गएपछि दीपाको ‘स्टामिना’ माथि डिभाइन फिजिकल फिटनेसका प्रशिक्षक रुजेश शाहीले केही सम्भावना देखिएको निष्कर्ष निकाले । हुन त उनले दीपालाई बडिबिल्डिङमै लैजान चाहन्थे । किनभने शाही बडिबिल्डिङमै राष्ट्रिय र अन्तर्राष्ट्रिय दर्जनौं मेडलप्राप्त गरेका अनुभवी प्रशिक्षक थिए ।

त्यतिबेलाको आफ्नो सोचबारे शाहीले भने, ‘म आफू चाहिँ बडिबिल्डिङको मान्छे, नेपालका सबै पदकहरू लिइसकेको छु, वल्र्ड च्याम्पियनसिपबाट मेडल ल्याइसकेको छु, मेरो लाइन बडिबिल्डिङ भएकोले म उन (दीपा) लाई पनि त्यतै लाने सोचमा थिएँ, तर गर्दैजाँदा स्ट्रेन्थलिफ्टिङमा पनि सम्भावना देखियो ।’ शाहीका अनुसार दीपा एकदमै बलियो र जिद्धिपना भएकी केटी थिइन । त्यहि भएर दीपाले आफ्नै बलबुतामा एकपछि अर्को सफलता प्राप्त गरेको उनले बताए ।

‘मैले आफैंले दुःख नगरी म बन्दिनँ भन्ने सोचका साथ उहाँ आउनुभयो, टिमवर्क पनि भयो, तालिम भयो, कोसिस गरौं भनेर अघि बढ्नुभयो’ दीपाको क्षमताबारे प्रशिक्षक शाहीले भने, ‘सबैभन्दा राम्रो प्वाइन्ट जिद्धिपना देखियो, उहाँ एकदमै बलियो मान्छे हुनुहुन्थ्यो ।’

प्रशिक्षक शाहीले नेपालमा यो खेल भर्खरैमात्र अगाडि आएको र खेलाडीहरूले पनि राम्रो मेडलहरू ल्याउन थालेकोले अब अझ अघि बढ्न मद्दत पुग्ने दाबी गरे । त्यसका लागि खेल क्षेत्रका सवैले यसलाई अघि बढाउनुपर्ने उनले बताए ।

दीपाले पहिलो अन्तर्राष्ट्रिय स्वर्ण भित्र्याउनु अघि प्रदेश १ स्तरीय छनौट खेलमा महिलातर्फ ओभरअल खेलमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । प्रदेशस्तरीय विजेताको हैसियतमा उनी काठमाडौंमा भएको देशभरको छनौटमा ओभरअल गोल्ड मेडलिष्ट बनिन् र कीर्गिस्तानको बाटो बनाइन् । उनले भदौ २३ गते भएको त्यो खेलमा पाकिस्तानकी खेलाडीलाई पछि पार्दै नेपालका लागि गोल्डमेडल दिएकी थिइन् । 

मोरङको सुन्दरहरैंचा–११ राजाटोलमा जन्मे हुर्केकी दीपाले प्राप्त गरेको सफलतामा अहिले उनका परिवारका सबै सदस्य खुसी छन् । आफ्नो सफलताकै कारण खेल सम्बद्ध विभिन्न संघसंस्थाहरूले सम्मानित गर्ने भएपछि विराटनगर आइपुगेकी दीपाले जिमको सुरुवाती तालिममा फलामका सामग्री उचाल्दा शरिरमा चोटपटक लागेको देख्दा परिवारका सदस्यहरूले शरीरलाई चोट नपुर्‍याउन आग्रह गर्ने गरेको सुनाइन् । बुवा लालबहादुर बिष्ट र आमा दुर्गामाया विष्टकी कान्छी छोरी दीपा घरकी पनि कान्छी छोरी हुन् । बालकुमारी, पार्वति, बन्दना उनका दिदी र दिपक दाजु हुन् ।

दीपा पूर्वसंचारकर्मी पनि हुन् । उनले बेलबारीस्थित रेडियो बेतनामा झण्डै एक वर्ष कार्यक्रम संचालक भएर पनि काम गरेको बताइन् । रेडियोमा कामगर्दाका उनका साथीहरू अनु निरौला र बविता साम्पाङ अहिले नेपाल पत्रकार महासंघ मोरङको कार्यसमिति सदस्य छन्, उनले आइतबार महासंघमा राखिएको आफ्नै साथीहरूको फोटोसहितको नाम फ्लेक्स प्रिन्टमा देखेपछि भनिन् ‘यिनीहरू त सँगै काम गरेका मेरा मिल्ने साथीहरू हुन् ।’

खेलको विकास
नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी)लाई दर्ता भएको आधिकारिक खेलका रूपमा खेलाइएको छैन । यो खेलको संघ पनि गठन भएको छैन । स्थ्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) का प्रशिक्षक कविर प्रधानाङ्गका अनुसार यो खेलमा तीनवटा खण्ड हुन्छन् । स्ट्रेन्थलिफ्टिङ भन्नाले तौललाई खुट्टाको पछाडिबाट बोक्ने र उचाल्ने क्षमता हो । त्यस्तै इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भनेको जिममा छातीको एक्सरसाइज गर्दा प्रयोग गरिने इन्क्लाइन बेन्च प्रेसमै करिब ३५ डिग्रीमा उत्तानो सुतेर तौललाई माथि उचाल्ने क्षमता हो । प्रधानाङ्गका अनुसार दीपाले त्यसैमा गोल्डमेडल जितेकी हुन् ।

विश्वमा यो खेल भारतको कलकत्ताबाट सुरु भएको उनले बताए । सन् २००४ मा सुरु भएको यो खेल भारतमा अति नै लोकप्रिय खेलका रुपमा खेल्न थालिएको जानकारी दिए । अहिलेसम्म करिब १४ देशमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) खेलिँदै आएको छ । भर्खरै क्यानाडाका पनि खेलाडीहरू आबद्ध भएका छन् । प्रशिक्षक प्रधानाङ्गका अनुसार नेपालले भने सन् २०२१ देखिमात्रै सुरु भएको हो । 

पहिलो पटक नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगीता भारतको सिक्किममा हो । सिक्किम गएका २२ जना खेलाडीहरू मध्ये १२ जनाले गोल्डमेडल सहित १७ जनाले मेडल ल्याएको उनले स्मरण गरे ।  ‘त्यतिबेला सिक्किमका खेलाडीहरू निकै राम्रो वेट उठाउँछन् भन्ने कुरा हामीलाई भनिएको थियो, तर हाम्रो नेपालीहरूले वेट उठाएको देख्दाखेरी उहाँहरू नै आश्चर्यचकित हुनुभएको थियो’ प्रधानाङ्गले भने, ‘बलमा नेपालीहरूलाई सकिँदैन भन्ने हामीले देखाएका थियौं ।’

कोभिडकै बेलामा भारतको राजस्थानमा भएको अर्को स्पर्धामा सहभागी भएका नेपाली ७/८ जना खेलाडीहरूले पनि राम्रो प्रदर्शन गरेका थिए । उक्त प्रतियोगीतामा आइबिपीतर्फ दाङका २४ बर्षे मार्सल रोक्काले १६० किलो तौल उठाएर सबैलाई चकित बनाइदिएको बताए । त्यतिबेला पनि आफूसहितका  नेपाली खेलाडीले विभिन्न मेडलहरू ल्याएको उनले जानकारी दिए ।

सबै जिल्लामा यो खेल हुन नसकेको र जिल्लाहरूमा संघ गठन नभएका कारण नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) लाई आधिकारिक खेलका रूपमा दर्ता गर्न नसकिएको उनले बताए । त्यसका लागि प्रक्रिया अघि बढाइरहेको उनले जानकारी दिए ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x