खेलकुद

नागेश्वर र राममायाले जिते ‘फाइभ के’ रनको उपाधि

इकागज |
असोज ८, २०७९ शनिबार १२:३ बजे

काठमाडौँ- प्लस टू ‘फाइभ के’ रनको उपाधि नेपाल पुलिस क्लबका नागेश्वर अहिर र श्री गंगा माबि जुम्लाकी राममाया बुढाले जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जितेका हुन् । पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दुरी १५ मिनेट १५.१ सकेन्डमा पूरा गरे ।


पुलिसकै सन्तोष नाथ योगी १५ मिनेट २४.५ सेकेन्डको समय निकाल्दै दोस्रो भए । श्री रत्नचौडनेश्वर माबिका प्रकाश कठायत १५ मिनेट ३४.८ सेकेन्डमा तेस्रो भए ।

पुरुषतर्फ संजय नेपाली चौंथो, विश्वराम कुँवर पाँचौं र किरण लिम्बु छैटौं भए । मिङमार सिंगी तामाङ सातौं, अर्जुन राई आठौं, आशिष कुवर नवौं र अभिराज राई दशौँ स्थानमा रहे ।

महिलातर्फको उपाधि जित्ने क्रममा राममायाले १९ मिनेट १८.३ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । एनआरएस स्पोर्ट्स फाउन्डेसनकी अन्जु खड्का १९ मिनेट ५८.८ सेकेन्डमा दोस्रो तथा ओहारा कार्कीले २० मिनेट १८.४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।

सरस्वती बोहरा, सोनु घतानी,अनुजा कार्की, सरिता रम्तेल, रेस्टिना सिटीखु, शेर्बी महर्जन र उर्जा मधिकर्मी क्रमशः चौथो देखि दशौँ स्थानमा रहे ।

दुवै विधाको विजेताले ट्रफी, मेडलसहित  ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै चौथोंले १० हजार, पाँचौले ५ हजार र छैटौदेखि दशौंसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालको संचालनमा भएको प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला लगायतले पुरस्कृत गरेका थिए ।

उमेर समूहको एथलेटिक्सका खेलाडीलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगितामा २ सय ५० खेलाडीले सहभागिता जनाएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।


Author

थप समाचार
x