खेलकुद

भलिबल प्रतियाेगिता हेर्न गाउँपालिकाले दियाे सार्वजनिक बिदा

इकागज |
असोज ९, २०७९ आइतबार १३:२२ बजे

फुङ्लिङ - ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयर कप खेल हेर्न सर्वसाधारणलाई आज सार्वजनिक बिदा दिएको छ ।    
    
असोज ८ देखि ११ गतेसम्म अन्तरपालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता महन न्यौपानेले बताए ।    
    
नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ । 
    
संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकुद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले मेयर कप रनिङ दोस्रो संस्करण भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रवक्ता न्यौपानेले बताए ।    
    
प्रतियोगितामा ताप्लेजुङका सबै स्थानीय तहले उत्साहजनक भाग लिएका आयोजकले जनाएको छ । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर नगरपालिकाले प्रतियोगिता आयोजना गरेको नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष एवं खेल संयोजक क्षितिज सुनुवारले बताए ।    
    
प्रतियोगितामा प्रथम हुनेले रु दुई लाख ७५ हजार एक सयका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाउनेछ । दोस्रो हुनेले रु एक लाख ४० हजार एक सय पाउनेछ । सेमीफाइनमा पुग्ने दुई समूहलाई तृतीय पुरस्कारस्वरुप रु ४५ हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।



Author

थप समाचार
x