खेलकुद

टुरिज्म एमेच्योर गल्फ च्याम्पियनसीप मंगलबारबाट

इकागज |
असोज १०, २०७९ सोमबार १७:१ बजे

काठमाडौँ- नेपाल गल्फ संघले मंगलबारबाट नेपाल टुरिज्म एमेच्योर गल्फ च्याम्पियनसीप आयोजना गर्ने भएको छ । काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरी च्याम्पियनसीपबारे आयोजकले जानकारी गराएको हो ।

गोकर्ण फरेस्ट गल्फ रिसोर्ट एन्ड स्पामा बिहीबारसम्म आयोजना हुने च्याम्पियनसीपमा नेपालसँगै बंगलादेश, कतार र मलेसियाका गल्फरहरुको सहभागिता रहने संघका युवा विकास कार्यक्रम निर्देशक दिपक आचार्यले जानकारी गराए ।


५४ होलको च्याम्पियनसीपमा पुरुष र महिला गरी ३६ खेलाडीको सहभागिता रहनेछ । च्याम्पियनसीप अन्तर्गत टिम इभेन्ट समेत हुनेछ ।

पुरुषतर्फ नेपाल ‘ए’ मा सुवास तामाङ र सदभाव आचार्य रहनेछन् भने नेपाल ‘बी’ का लागि टासी छिरिङ र वाङचेन ढोन्दुपले खेल्नेछन् । कतारबाट सेलाह अली अल्काबी र अब्दुलरहमानज अल शाहरानीसँगै बंगलादेशबाट लिटोन मोन्डल तथा मेहेदी हसनको सहभागिता रहनेछ ।

महिलातर्फ भने नेपालको टिममा कश्मिरा शाह तथा सुश्मा सिंग्देल, बंगलादेशबाट सोनिया अख्तर र रिंकी अख्तरको सहभागिता रहनेछ । त्यसका साथै बागमती प्रदेशबाट तारा कार्की र प्रतिभा राई, गण्डकी प्रदेशबाट जुनी गुरुङ र टिका गुरुङ तथा प्रदेश १ बाट सुश्मा सिंग्देश र सुमित्रा लिम्बुको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसैबीच बिहीबार पर्यटन दिवस मनाउनको अवसरमा सोसल गल्फरहरुबीच प्रतिस्पर्धा हुनेछ । यसमा ६० जना भन्दा बढी गल्फरको सहभागिता रहनेछ ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेका अनुसार च्याम्पियनसीप विश्व वरीयताको रुपमा समेत रहनेछ । उनका अनुसार महिलाहरुले पहिलो पटक दक्षिण एसियाली खेलकुद भन्दा बाहिरको प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।

यता संघका कोषाध्यक्ष किशन अग्रवालले च्याम्पियनसीपका लागि करिब साढे ७ लाख खर्च हुने जानकारी गराए ।

विजेता तथा उपविजेताहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने विदेशीहरु मध्येका विजेताले माउन्टेन फ्लाइटको टिकट पाउनेछन् । 


Author

थप समाचार
x