खेलकुद

चार नेपाली खेलाडीले थाइल्यान्डमा आईटीएफ फाइनल्स खेल्ने

इकागज |
असोज १४, २०७९ शुक्रवार ११:५५ बजे

काठमाडौँ- थाइल्यान्डमा हुने आईटीएफ एसिया १४ एन्ड अन्डर डेभलपमेन्ट च्याम्पियनसीपको फाइनल्स (डिभिजन वान) मा नेपालका चार टेनिस खेलाडीले सहभागिता जनाउँदैछन् ।

अक्टोबर ३ देखि १३ तारिखसम्म नन्थाबुरीमा आयोजना हुने च्याम्पियनसीपमा छात्रतर्फ राज वीर प्रधान र दर्शिल श्रेष्ठले सहभागिता जनाउनेछन् । छात्रातर्फ प्रशंसा मोक्तान र आद्या पौडेलको सहभागिता रहनेछ । प्रशिक्षकमा राज कुमार लामा रहेका छन् ।


च्याम्पियनसीपमा १८ देशले सहभागिता जनाउने भएका छन् । दक्षिण एसियाबाट नेपाल, भारत र श्रीलंकाको सहभागिता रहनेछ । त्यसैगरी  पश्चिम एसियाबाट जोर्डन, इरान र लेबनन, मध्य एसियाबाट कजाखस्तान, उज्बेकिस्तान र कीर्गिस्तान, पूर्वी एसियाबाट दक्षिण कोरिया, चाइनिज ताइपेइ, हङकङ, चीन र जापान तथा दक्षिण-पूर्वी एसियाबाट आयोजक थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया र भिएतनामले सहभागिता जनाउँदैछन् ।

नेपाली खेलाडीहरुले ‘डिभिजन टू’बाट छनोट भएर फाइनल्सका लागि छनोट भएको नेपाल टेनिस संघले जनाएको छ ।

नेपाली टिम शुक्रबार थाइल्यान्ड प्रस्थान गर्दैछ । यसैबीच शुक्रबार बिहान नेपाल टेनिस संघका उपाध्यक्ष केशव राज पाण्डेले नेपाली टिमको विदाइ गरे ।


Author

थप समाचार
x