खेलकुद

विगत ४० वर्षमा विभिन्न स्टेडियममा भएका ठूला दुर्घटना र क्षति

इकागज |
असोज १६, २०७९ आइतवार १४:५ बजे

काठमाडौँ- इन्डोनेसियाको इस्ट जाभा प्रान्तमा शनिबार फुटबल खेलका क्रममा भएको भागदौडका क्रममा कम्तिमा १ सय ७४ जनाको मृत्यु भयो भने अन्य १ सय ८० जना भन्दा बढी घाइते भएको रोयटर्सले जनाएको छ । यस्ता खेल मैदान भित्रका घटना भने इन्डोनेसियामा मात्र नभएर विगत ४० वर्षमा अन्य देशमा पनि भएका छन् ।  

अक्टोबर २०२२, इन्डोनेसिया


अरेमा एफसी र पेर्सेबाया सुरावायाबीच भएको फुटबल खेलपछि भागदौडमा पनि १ सय ७४ जना भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य १ सय ८० जना भन्दा बढी घाइते भएका छन् ।

जनवरी २०२२, क्यामेरुन

क्यामेरुनको यायोन्डे ओलेम्बे स्टेडियममा भागदौड हुँदा कम्तिमा ८ जनाको मृत्यु भयो भने ३८ जना घाइते भए । 

फेब्रुअरी २०१२, इजिप्ट

इजिप्टको सिटी अफ पोर्टमा अल-मासरी र अल-अहलीबीचको लिग खेलका क्रममा झडप हुँदा कम्तिमा ७३ जनाको मृत्यु भयो भने १ हजार भन्दा बढी मानिस घाइते भए । 

मार्च २००९, आइभरी कोस्ट

विश्वकप छनोट अघि आइभरी कोस्टको अविजानस्थित फेलिक्स होफेट बोइग्नी स्टेडियममा भागदौड हुँदा कम्तिमा पनि १९ जना मारिए । 

मे २००१, घाना

घानाको अक्रास्थित स्टेडियममा झड्प हुँदा कम्तिमा पनि १ सय २६ जनाको मृत्यु भयो । 

अप्रिल २००१, दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एलिस पार्क स्टेडियममा लिगका खेल चलिरहँदा दर्शकहरु मैदानमा छिर्न खोज्दा भएको झडपमा कम्तिमा पनि ४३ जनाको मृत्यु भयो । 

अक्टोबर १९९६, ग्वाटेमाला

​ग्वाटेमाला सिटीमा ग्वाटेमाला र कोस्टा रिकाबीच विश्वकप छनोट खेल भइरहँदा स्टेडियम भत्किँदा कम्तिमा ८२ जनाको मृत्यु भयो भने १ सय ४७ जना घाइते भए । 

मे १९९२, फ्रान्स

फ्रेन्च कपको सेमिफाइनलका क्रममा फ्रान्सको बास्टियानमा रहेको फुरियानी स्टेडियम भत्किँदा १८ जनाको मृत्यु भयो भने २ हजार ३ सय भन्दा बढी मानिस घाइते भए । 

जनवरी १९९१, दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाको ओपनहेमर स्टेडियममा केजर चिफ्स र ओरलान्डो पाइरेट्सबीचको खेलका क्रममा भएको भागदौडमा पनि ४२ जनाको मृत्यु भयो । 

अप्रिल १९८९, युके

एफए कप अन्तर्गत लिभरपुल र नटिङघम फरेस्टबीचको सेमिफाइनल खेल अघि सेफिल्डमा रहेको हिल्सवर स्टेडियममा झडप हुँदा लिभरपुलका कम्तिमा ९६ जना समर्थकको मृत्यु भयो । 

मार्च १९८८, नेपाल

नेपालको काठमाडौँस्थित दशरथ रंगशालामा हुरीबतासपछि भएको भागदौडमा परी कम्तिमा ९० जनाको मृत्यु भयो । 

मे १९८५, बेल्जियम

बेल्जियमको हेयसेल स्टेडियममा युरोपियन कपको फाइनल अन्तर्गत युभेन्टस र लिभरपुलबीचको खेल अघि भएको दुर्घटनामा ३९ जनाको मृत्यु भयो भने ६ सय भन्दा बढी मानिस घाइते भए । 

मे १९८५, युके 

ब्राडफोर्डको भ्याली प्यारेड स्टेडियममा खेल जारी रहदा स्टेडियममा आगलागी भएपछि कम्तिमा ५६ जनाको मृत्यु भयो भने २ सय भन्दा बढी मानिस घाइते भए । 

अक्टोबर १९८२, रुस

रुसको मस्कोस्थित लुझिनिकी स्टेडियममा स्पार्टक मस्को र नेदरल्यान्ड्सको हार्लेम क्लबबीचको खेलपछि बाहिरिने क्रममा भएको दुर्घटनामा परी कम्तिमा ६६ जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको थियो ।

श्रोतः रोयटर्स
 


Author

थप समाचार
x