खेलकुद

११ महिने बच्चा बोकेर श्रीमान्‌-श्रीमती नै राष्ट्रिय खेलकुदमा

सञ्जीव शाह |
असोज ३०, २०७९ आइतबार १२:२६ बजे

पोखरा- करिब साढे ४ सय किलोमिटरको दूरी तय गरेर सप्तरीकी अन्जली कुमार चौधरी पोखरा आइपुगेकी छन् । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन उनी पोखरा आइपुगेकी हुन् । 

२५ वर्षीया उसु खेलाडी अन्जली भने एक्लै पोखरा आएकी होइनन्, उनको काखमा ११ महिने बच्चा पनि छ । अन्जलीसँग कुराकानी गरिरहँदा बच्चा भने मस्त निदाइरहेको थिए । 


अन्जलीका प्रशिक्षक उनकै श्रीमान् जितेन्द्र प्रसाद मण्डल हुन् । जितेन्द्र मधेश प्रदेश टिमका उसु प्रशिक्षक हुन् । खासमा अन्जलीलाई राष्ट्रिय खेलकुदमा ११ महिने बच्चालाई बोकेर सहभागिता जनाउन त्यसले पनि सजिलो पारेको छ । 

'श्रीमान पनि खेलकुदमै हुनुहुन्छ त्यसैले सहभागिता जनाउन सजिलो भएको छ,' कममात्र बोल्न खोज्ने अन्जली बताउँछिन् । पहिले देखि नै खेलकुदतिर आकर्षित भएकी अन्जलीलाई भने उनका श्रीमान्ले साथ दिइरहेका छन् ।

अन्जली ६५ केजी तौल समूहमा उसु खेल्न आएकी हुन् । उनको लक्ष्य भनेको पदक जित्नु नै हो । 'मेहनत अनुसार खेल्ने हो । तयारी राम्रै छ,' उनी भन्छिन् । 

खासमा बच्चैदेखि खेलकुदमा लगाव भएको कारण पनि उनलाई श्रीमान्‍ले सँगसँगै लिएर हिड्ने गरेका छन् । 'खेलकुदमा थारू महिलाको सहभागिता राम्रो छ । त्यही भएर पनि खेलकुदमा लाग्न उनलाई गाह्रो भएको छैन,' उनका श्रीमान् जितेन्द्र भन्छन् ।

तर बच्चा भएका कारण उनको प्रशिक्षण भने त्यति लामो समय हुन सकेन र प्रशिक्षण प्रभावित समेत बन्यो तर पनि उनी प्रतियोगिताका लागि तयार रहेको बताउँछिन् । 'बच्चा हुनु भन्दा अगाडी र पछाडी पनि तयारी गर्न समस्या भएको थियो,' उनले थपिन् । 

त्यतिमात्र नभएर परिवार नै खेलकुदमा लागेपछि आर्थिक हिसाबले पनि उनीहरु खेलकुदमै भर परेका छन् ।  'अन्य खेलाडीहरुलाई उसु सिकाएर गुजारा चलाउँदै आएका छौँ,' जितेन्द्र थप्छन् । 'अन्जली भने घरकै दालभात खाएर खेल्छिन् ।'


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x