खेलकुद

चोट र घाउलाई चुनौती दिँदै सन्तोषीले जितिन् दोस्रो स्वर्ण

सञ्जीव शाह |
कात्तिक २, २०७९ बुधबार ९:४२ बजे

पोखरा- बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ दोस्रो स्वर्ण पदक हात पारेकी छन् । पोखरा रंगशालाको ट्रयाकमा बुधबार भएको महिलातर्फको ५ हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जितिन् ।

महिलाको १० हजार मिटर दौडमा समेत स्वर्ण जितेकी सन्तोषीले ५ हजार मिटरको दौड १७ मिनेट तथा ०५.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारिन् । १७ मिनेट १२.०५ सेकेन्ड खर्चिएकी नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत जित्दा त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपानेले १८ मिनेट तथा ०३.०० सेकेन्डमा कास्य हात पारिन् ।


तर सन्तोषीलाई दोस्रो स्वर्ण जित्नु भने त्यति सहज भएन । उनले चोट र घाउलाई विर्सेर ५ हजार मिटर दौडनु परेको थियो । अझ एक समयमा त उनले दौड नै बीच्चैमा छाडिदिने मनसाय समेत बनाएकी थिइन् ।

सन्तोषी दौडमात्र पुरा गरिनन्, स्वर्ण पनि जितिन् । स्वर्ण जितेपछि सन्तोषीले जुत्तालाई समेत ढोगिन् ।

'स्पाइक लगाउँदा सुरुमा धेरै दुखेको थियो । घाउ पाकेको कारण खुट्टाको ब्यालेन्स मिलाउन पनि समस्या भएको थियो । तर दौड छाड्नुपरेन्, त्यही भएर जुत्तालाई ढोगेको हो,' उनले प्रतिक्रिया दिइन् ।  

त्यति हुँदा पनि सन्तोषीको लक्ष्य स्वर्णमात्र थिएन, कीर्तिमान पनि कायम गर्नु थियो ।

'स्वास्थ्य समस्याका कारण गर या मरको अवस्थामा दौडिएकी हुँ । १० हजार मिटरको दौडपछि रातभरी सुत्न सकिन । तर ट्रयाकमै लड्नुपरेपनि लड्छु तर दौड छाड्दिन भन्ने सोचे,' उनले थपिन् ।

'खुट्टामा चोटी अनि पैदालामा तीन ठाउँमा घाउ भएको छ । ३ हजार मिटर दौडिएपछि छाड्न दौड नै छाड्ने मन थियो तर पनि जे होला होला भनेर दौडिए । त्यसपछि कीर्तिमानका लागि नजाने निर्णय गरे ।'

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत ५ हजार मिटरमा पनि सन्तोषीले स्वर्ण हात पारेकी थिइन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x