खेलकुद

नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा

इकागज |
माघ १७, २०७९ मगलवार १८:४० बजे

विराटनगर- नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा हुने भएको छ ।

फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । महासंघका अध्यक्ष पशुराम बस्नेतका अनुसार महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


महाधिवेशनको तयारी सुरु भएको जानकारी दिँदै बस्नेतले यो महाधिवेशन समग्र खेल क्षेत्रमा लाग्नेहरूका लागि उत्सवका रूपमा रहने बताए । महाधिवेशन उद्घाटनको दिन कराँँते, उषु, तेक्वान्दोलगायत अन्य खेलहरू प्रदर्शन गरिने र दोस्रो राष्ट्रिय महाधिवेशनको गीतमा सांस्कृतिक कार्यक्रम समेत हुने बताए ।

महाधिवेशन सम्पन्न गर्न हाल कायम रहेको २१६ सदस्यीय केन्द्रीय कमिटी नै मुल व्यवस्थापन समिति रहने तथा प्रदेश न. १ र मधेश प्रदेश महासंंघका जिम्मेवार सदस्यहरूको महाधिवेशन व्यवस्थापनमा विशेष सहभागिता रहने निर्णय गरिएको बताए । यिनै निर्णयहरू सार्वजनिक गर्न पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको महासंघले जनाएकाे छ ।

उक्त कार्यक्रममा १५ वटा उपसमितिका संयोजक तथा सदस्यहरू पनि चयन गरिने बताइएकाे छ । राजनैतिक, सांगठनिक प्रतिवेदन लेखन उपसमितिका संयोजक कृष्ण बस्नेत, प्रतिनिधि व्यवस्थापन उपसमितिका संयोजक दिपेन्द्र दाहाल, विधान मस्यौदा उपसमितिका संयोजक भिम ओलि, आर्थिक व्यवस्थापन उपसमितिका संयोजक रुपेश अधिकारी, सहसंयोजक उज्ज्वल सुवेदी, स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक शिवजी गुप्ता, खाद्यान्न व्यवस्थापन उपसमितिका संयोजक सन्तोष श्रेष्ठ, मञ्च व्यवस्थापन उपसमितिका संयोजक नन्दा बस्याल, जनपरिचालन उपसमितिका संयोजक सन्तोष बान्तवा, खेलखुद प्रदर्शन उपसमितिका संयोजक ओम कृष्ण प्रसाईं, अतिथि सत्कार उपसमितिका संयोजक सम्भु पौडेल, आवास व्यवस्थापन उपसमितिका संयोजक विप्लव घोष, प्रचारप्रसार तथा मिडिया समन्वय उपसमितिका संयोजक तिर्थबहादुर खड्का, स्वास्थ्य उपसमितिका संयोजक दिपक न्यौपाने, यातायात तथा ट्राफिक व्यवस्थापन उपसमितिका संयोजक सलिल प्रधान, जनसम्पर्क समन्वय उपसमितिका संयोजक रोहित कोइराला रहेको छन् ।

बस्नेतले महाधिवेशनको उद्घाटन १० हजारभन्दा बढीको सहभागितामा आमसभाका रूपमा गरिने भन्दै बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेल क्षेत्रका अगुवालगायतका १ हजारभन्दा बढीको सहभागिता हुने जानकारी दिए ।

खेल क्षेत्रलाई महत्त्व दिने पार्टी नेकपा एमाले नै रहेको भन्दै उनले खेलकुद महासंघले खेलकुदको प्रवर्द्धन गर्दै खेलाडीहरूको हितका लागि नीति निर्माणमा पार्टीलाई दबाब दिने र यस क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने मुख्य उद्देश्य रहेको बताए ।


Author

थप समाचार
x