खेलकुद

ह्योल्मो ११ हेलम्बुलाई पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि

इकागज |
चैत ३, २०७९ शुक्रवार १९:४४ बजे

सिन्धुपाल्चाेक । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको उपाधि ह्योल्मो ११ हेलम्बुले जितेको छ । काठमाण्डौको मूलपानी क्रिकेट रङ्गशालामा शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा पाँचपोखरी क्रिकेट क्लबलाई दुई रनले पराजित गर्दै उपाधि उचालेको हो ।

टस जितेर व्याटिङ गरेको ह्योल्मो ११ ले विवेक तामाङको नटआउट ८३ रनको मद्धतमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रनको चुनौतिपूर्ण लक्ष्य खडा गरेको थियो । १७९ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा आएको पाँचपोखरी क्रिकेट क्लबले सार्थक धितालको ७८ रनको मद्धतमा उत्कृष्ट सुरुवात गरेपनि अन्तिम क्षणमा खेल २ रनले गुमाउन पुग्यो ।


ह्योल्मो ११ का विवेक तामाङ फाइनल खेलको म्यान अफ दी म्याच संगै प्रतियोगिताकै सार्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट बलर करन तामाङ र उत्कृष्ट व्याट्सम्यान पाँचपोखरी क्रिकेट क्लबका सार्थक धिताल घोषित भएका छन् ।

प्रतियोगिताको विजेता ह्योल्मो ११ ले रू ८० हजार र उपविजेता बनेको पाँचपोखरी क्रिकेट क्लबले रू ५० हजार प्राप्त गरेको छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहेको थियो ।

प्रातियोगिताको विजेता, उपविजेता लगायत प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी लगायतले ट्रफी तथा प्रमाणपत्र पुरस्कार वितरण गरेकाे खेलकुद विकास समितिका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिए। माउन्ट शेर्पा ट्राभल एण्ड टुरिजम प्रा.लि ले प्रतियोगिताको टाइटल स्पोन्सर गरेको हो भने ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी हुन सफल खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने जनाएको छ ।


Author

थप समाचार
x