खेलकुद

चोटै-चोटबाट ‘चोटिला’ बनेका फुटबलर रविन

प्रविणबिक्रम कट्‍वाल |
बैशाख २५, २०७८ शनिबार ९:४३ बजे

काठमाडौँ : फुटबलरले चोट बोक्नु सामान्य हो । तर, कतिपय चोट यति असामान्य हुन्छन् कि तिनले खेलाडीको करिअरमा नै पूर्णबिराम लगाइदिन्छन् ।  त्यस्तै चोटमध्येको एक हो, एन्टेरियर क्रुसेट लिगामेन्ट (एसीएल) चोट । एसीएल चोटलाई घुँडाको डरलाग्दो चोट मानिन्छ । अन्तर्राष्ट्रिय फुटबलमा धेरै फुटबलस्टार एसीएलको सिकार भएका छन् । राडामा एल फाल्काओ देखि भर्जिल भान डाइकसम्म । पुरानो पुस्तामा रोबर्टो बाजियो देखि रोय किनसम्म । 

नेपाली फुटबलमा पनि एसीएल अन्जान छैन । धेरै खेलाडीले एसीएलको चोट खेपेका छन् । यसको चोट बोक्नेमध्ये लेफ्टब्याक रविन श्रेष्ठ पनि एक हुन् । तर, दुःखको कुरा, उनले यसको पीडा एक पटक मात्र हैन दुई-दुई पटक खेप्‍नु पर्‍यो । नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कप जित्यो । ट्रफीबाहेक नेपालका लागि अर्को पुरस्कार थियो, एएफसी एसियन कप छनौट खेल्ने मौका । छनौट चरणको पहिलो खेल खेल्न नेपाल फिलिपिन्स पुग्यो । निर्धारित ९० मिनेटको खेलसम्म नेपाल ४-१ ले पछाडि परिसकेको थियो । थपिएको ‘एक्स्ट्राटाइम’मा नेपालले कर्नर पायो । फिलिपिन्सले कर्नर क्लियर गर्दै काउन्टरमा बल अगाडि बढायो । आफूतर्फ आएको लङ बल रोकेर फिलिपिन्सको क्षेत्रतर्फ फर्काउने प्रयास गर्दा रविन घाइते बन्‍न पुगे । उनको दाहिने घुँडाले चोट बोक्यो । स्क्यान रिपोर्टमा देखियो, एसीएल ।


एसीएलले रविनलाई नौ महिना मैदानबाहिर राख्यो । यसबीचमा नेपालमै उनको शल्यक्रिया भयोे । आराम र रिह्याब पछि उनी घरेलु फुटबलमा फर्किए । नेपाल पुलिस क्लबको जर्सीमा उनले देखाएको खेलले उस बेलाका राष्ट्रिय टोलीका प्रशिक्षक ग्योटोकु कोजीलाई लोभ्यायो । थाइल्यान्डको भ्रमणमा जाने नेपाली टोलीमा रविन पनि परे । उनले थाइल्यान्ड अन्डर २३ सँगको खेलबाट पुनरागमन पनि गरे । तर उनको पुनरागमन ९० मिनेट टिक्न पाएन । पहिलो हाफको २३ औँ मिनेटमा उनले फेरि चोट बोके । चोट उही थियो, एसीएल । 

यस पटक उनको उपचार भयो कतारको प्रख्यात अस्पताल अस्पटारमा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नै यसका लागि समन्वय गर्‍यो । स्वभाविक रुपमा कयौँ महिना रविन मैदानबाहिर रहे । बल्ल गत सिजनको सहिद स्मारक ए डिभिजन लिगबाट उनी फर्किए । पुलिसका लागि चार खेल खेले । केही नकआउट प्रतियोगिता पनि खेले । त्यसपछि कोभिड-१९ महामारीले फुटबल ठप्प बन्यो ।  अन्य फुटबलर जस्तै रविन पनि मैदानबाहिर नै रहे । यसैबीच नयाँवर्षले काठमाडौँमा नेपाल सुपर लिग (एनएसएल) नामको नयाँ फ्रेन्चाइज लिग ल्यायो । रविन बुटवल लुम्बिनी एफसीसँग आबद्व भए । पोखरा थन्डर्ससँगको खेलबाट बुटवल लुम्बिनी र रविनले एनएसएलको सुरुवात गरे । तर, रविन आफैंले महसुस गरे, उनले अझै लय समात्न सकेका छैनन् । ‘पहिलो खेल भएकाले सजिलो भएन । विशेषगरी सम्हालिने प्रयासमै पहिलो ४५ मिनेट बित्यो । दोस्रो हाफमा चाहिँ मैले राम्रो गरेँ जस्तो लाग्छ,’ रविन भन्छन् । 

एनएसएलमा पछिल्ला दुई खेलमा रविन बेन्चमा छन् । कारण चोट होइन । उनले आराम गर्न चाहे । चोटबाट फर्के पछि जोसुकै खेलाडीको पनि मुख्य लक्ष्य हुन्छ, पुरानो लय देखाउने । यद्यपि त्यसका लागि पर्याप्त ‘टे«निङ सेसन’ र खेल समय चाहिन्छ । रविन त्यही समय ‘कन्जुम’ गर्न खोजिरहेका छन् ।   

रविनसँग लामो समय ए डिभिजन खेलेको गौरवशाली इतिहास छ । गौरवशाली यस अर्थमा कि उनले बलियो पुलिस टिमबाट खेल्दै उनी दुई ए डिभिजन लिग र एक राष्ट्रिय लिग जितेका छन् । आधुनिक नेपाली फुटबलमा दुर्लभ कीर्तिमान राख्ने पुलिस टिमको हिस्सा बनेका रविन एन्फा एकेडेमीका उत्पादन हुन् । डिफेन्डर विराज महर्जन देखि स्ट्राइकर भरत खवाससम्म रविनका ब्याचमेट हुन् । 

रविनको एकेडेमी करियरमा भारतको सुब्रतो कपसँग जोडिएका रोचक स्मरण छन् । तीमध्ये केही उनको पोजिसनसँग सम्बद्ध छन् । महोत्तरीको कप्तानी गरी सभापति कप खेल्न काठमाडौं आउँदा रविन स्ट्राइकर थिए । एन्फाको अन्डर १४ टिममा छनौट हुँदा पनि रविनको पोजिसन स्ट्राइकर नै थियो । तर सुब्रतो कप खेल्न भारत जाँदा उनको पोजिसन परिवर्तन भयो । रक्षापंक्तिमा खेलाडी अभाव भएपछि डिकेन सुवालले रविनलाई लेफ्टब्याक बनाइदिए । यद्यपि त्यो प्रतियोगिता पछि रविन फरवार्डकै भूमिकामा फर्किए । 

सुब्रतो कप खेल्न रविन फेरि भारत गए । यसपटक उनी अन्डर १७ टिममा थिए । एन्फा एकेडेमीको त्यस टिमलाई राजुकाजी शाक्यले हेरिरहेका थिए । राजुकाजीले फेरि उनलाई रक्षापंक्तिबाट खेलाए । रविनको प्रदर्शनबाट राजुकाजी सन्तुष्ट भए । यसपछि भने रविन स्थायी रुपमै लेफ्टब्याक बने । सन् २००६ मा भएको अन्डर १७ विश्वकप छनौट रविनका लागि लेफ्टब्याक बनेर खेलेको पहिलो आधिकारिक प्रतियोगिता थियो । फरवार्ड लाइनमा भरत, चेतन घिमिरे, बुद्व चेम्जोङ जस्ता खेलाडी भएकाले रविनले त्यहाँ मौका पाउने सम्भावना थिएन । त्यसकारण राजुकाजीको इच्छा रविन रक्षापंक्तिमै खेलुन् भन्‍ने थियो । जुन कालान्तरमा सही सावित भयो । 

सानो कदका रविन पारम्परिक रक्षकभन्दा फरक छन् । तर शारीरिक बनोटले आफ्नो खेलमा रत्तिभर असर नगरेको उनको ठम्याइ छ । ‘वास्तवमा मलाई सानो कदको भएकैले फाइदा पुगेको छ । शारीरिक बनावट देखेर विपक्षी खेलाडीले मलाई अन्डर स्टिमेट गरिरहेका हुन्छन् । तर त्यसले मलाई बलियो खेल देखाउन मद्दत गर्छ,’ रविन भन्छन् ।     

रविनले सन् २००८ मा राष्ट्रिय टोलीमा डेब्यु गरे । प्रतियोगिता थियो, एएफसी च्यालेन्जकप । पहिलो खेलमा म्यानमारसँग हारेको नेपालले दोस्रो खेलमा उत्तर कोरियाको सामना गर्‍यो । प्रशिक्षक विराटकृष्ण श्रेष्ठले दोस्रो खेलका लागि सात खेलाडी परिवर्तन गरे । सोही खेलबाट रविनले राष्ट्रिय टोलीको यात्रा सुरु गरे । सन् २००९ देखि २०१६ सम्म नेपालले भाग लिएका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा रविन टिमको हिस्सा रहे ।  

नेपाल प्रहरीमा हाल असई रहेका रविनले आक्रामक लेफ्टब्याकको परिचय बनाएका छन् । हुन त आधुनिक फुटबलमा फुलब्याक ‘ओभेरल्यापमा’ मा जाने शैली नयाँ होइन । त्यही शैलीमा खेल्दा रविनलाई पनि मजा लाग्छ । ‘मलाई ओभरल्यापमा जान मनपर्छ । त्यो मेरो नेचुरल शैली पनि हो । ग्राहम रोबर्टसको पालामा हामीले प्राय ५-३-२ को शैलीमा खेल्यौँ । त्यस संरचनामा म निकै अगाडिसम्म पुगेर खेल्थेँ,’ रविन सम्झिन्छन् । 

वास्तवमा रोबर्टसको पालामा नेपालले आक्रमक फुटबल खेल्ने प्रयास गर्‍यो । त्यसबखत रविन र बिराजको फुलब्याक जोडीको अग्रपंक्तिसँगको तालमेल गज्जबको देखिन्थ्यो । रोबटर्सको आगमनसँगै राष्ट्रिय टिममा रविनको महत्व बढ्दै गयो । राष्ट्रिय टिममा चोटमुक्त रविनको अर्को विकल्प नै थिएन । 

राष्ट्रिय टोलीमा रोबटर्स लगायतले रविनलाई छनौट गरिरहँदा पुलिस टिममा उनको प्रदर्शन खारिँदै गयो । रविनको खेलमा परिपक्वता ल्याउन पुलिस प्रशिक्षक विराटकृष्ण श्रेष्ठको भूमिका पनि कम थिएन । खासमा विराटले नै रविनलाई पुलिस टिममा लगेको थिए । एन्फाबाट पास आउट भएको रविनसहितको एन्फाटिमलाई संकटाले २०६५ को लिगका लागि अनुबन्ध गर्‍यो । त्यस लिग लगत्तै रविन पुलिस लागे । रविनसँगै संकटाबाट खेलेका चेतन घिमिरे र रोशन कार्की पनि पुलिस गए । 

‘पुलिस ड्रिम टिम थियो । सबै पोजिसनमा एक सय एक खेलाडी थिए । त्यहाँ मैले अलिक बढी मेहेनत गर्नुपर्ने भए पनि सिनियर खेलाडीहरूबाट सिकिन्छ भन्‍ने लाग्यो । त्यसबखत लिएको निर्णयले मलाई बाँकी करिअरमा सजिलो भयो,’ रविन भन्छन् । त्यसो त फुटबलमा मात्रै होइन, समग्र खेलकुदमै पुलिस लगायतका विभागीय टिमले खेलाडीहरूलाई आर्थिक सुरक्षा दिएका छन् । रविन यस मामलामा पुलिसप्रति अनुग्रहित नै छन् । ‘फुटबल नै नहुँदा र चोटका कारण खेल्न नपाउँदा पनि मैले तलब पाइरहेँ । उपचारमा पनि विभागको सहयोग महत्वपूर्ण रह्यो । विभागीय क्लब नगएको भए सायद आर्थिक रुपमा गाह्रै हुन्थ्यो होला,’ रविनले थपे ।  

रविन ३० वर्ष पुगे । सामान्यतया फुटबलर यो उमेरमा करियरको ‘पिक’ मा हुन्छन् । तर रविनको कथा बेग्लै छ । दुई पटक एसीएलको चोट भोगेको रविन पुरानो लयमा छैनन् । तर पनि उनले आत्मविश्वास गुमाएका छैनन् । दुई-दुई पटक एसीएल भुलेर फुटबलमा फर्कन सक्नु यसैको प्रमाण हो ।

यस्ता खेलाडी विरलै भेटिन्छन् । त्यसमाथि नेपालमा त उनी एक्ला हुन् । एसीएलले शारीरिक पीडा त दिन्छ नै, मानसिक पीडा पनि उत्तिकै हुन्छ । जसले खेलाडीलाई कमजोर बनाउँछ । सायद खेलबाट टाढिन पनि मन लाग्दो हो कि ? रविन हाम्रो यो अनुमानमा सहमत भएनन् । ‘मेरो आत्मविश्वास बलियो थियो । न त खेलमा फर्कन सक्दिन कि भन्‍ने नै विचारलाई जित्‍न दिएँ ,’ रविनले आत्मविश्वासपूर्ण लवजमा भने । आशा गरौं उनको यो आत्मविश्वास एनएसएलका बाँकी खेलमा पनि प्रतिविम्बित हुनेछ र दर्शकले पुरानो रविनलाई मैदानमा देख्‍न पाउनेछन् ।


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x