खेलकुद

मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश

इकागज |
चैत १३, २०७९ सोमबार २०:४७ बजे

कैलाली- मनाङ मर्स्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

धनगढी रंगशालामा सोमबार भएको खेलमा बागमती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल  गरे । बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए । 


खेलको ३७ औं मिनेटमा तिमाथेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । बागमतीले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्कायो । बागमतीका लागि सृजन गौतमले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्यो । मनाङका लागि खेलको ६६ औं मिनेटमा साइजमोलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए । 

जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ । अब मनाङले चैत १५ गते विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिता अन्तरगत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । 

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।

भोलिको खेल आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब धनगढी र नेपाल पुलिस क्लबका बीच हुने छ ।


Author

थप समाचार
x