खेलकुद

नेपाल फाइनलमा, भारत र पाकिस्तानसँग ओडिआई खेल्न एक कदम टाढा

सञ्जीव शाह |
बैशाख १६, २०८० शनिबार १६:४७ बजे

काठमाडौँ- नेपाल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल फाइनलमा पुगेको हो ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेकै आधारमा नेपाल फाइनलमा प्रवेश गरेको हो । समूह ‘ए’ मा रहेको नेपालले ४ मध्ये ३ खेलमा जित हात पार्दा एक खेलमा अंक बाँडेको थियो । चार खेलमै अपराजित रहेको नेपाल समग्रमा ७ अंकसहित समूह ‘ए’ को विजेता बनेको थियो । जारी प्रतियोगितामा अपराजित रहने नेपाल एक मात्र टोली हो । कुवेत भने समूह ‘बी’ को उपविजेता बन्दा एक खेलमा पराजय भोगेको थियो ।


यससँगै भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्न नेपाल एक कदम मात्र टाढा छ । एसीसी प्रिमियर कप उपाधि विजेता टोलीले पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसीसी प्रिमियर कपको उपाधि विजेता टोली भारत र पाकिस्तानसँगै एउटै समूहमा रहनेछ ।

शनिबारको सेमिफाइनलअन्तर्गत २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभर ३ बलमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षा सुरु भएको थियो । त्यसपछि खेल सुरु हुन सकेन ।

डिएल मेथल अनुसार कुवेतले सो लक्ष्य पाएको थियो । कुवेतका लागि कप्तान मोहम्मद अस्लमले १४ रन बनाए । नेपालका लागि करण केसीले ५ विकेट र सोमपाल कामीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रनको योगफल तयार पार्‍यो । वर्षाका कारण खेल प्रभावित बनेपछि ओभर घटाइएको थियो ।

नेपालका लागि विशाल योगफल तयार पार्दा कप्तान रोहित पौडेलले ९४ रन बनाए । शतक बनाउन ६ रन हुँदा आउट भएका रोहितले ७ चौक र ३ छक्का हिर्काए ।

कुशल मल्लले ४४ बलमा ५७ रन बनाउँदा समान ४ चौका र ४ छक्का हिर्काए । कुशल भुर्तेलले ४३ रन, आशिफ शेखले ३१ रन तथा आरिफ शेखले १९ रन जोडे ।

कुवेतका लागि मोहम्मद अस्लम र अदनान इदरिसले ३-३ विकेट लिए । यासिन पटेल र सयद मोनिवले एक-एक विकेट हात पारे ।  


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x