खेलकुद

कीर्तिमानी डेस्चाम्पसको फ्रेन्च टिमलाई चेतावनी

इकागज |
बैशाख २९, २०७८ बुधवार ६:२८ बजे

काठमाडौँ : खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्नु दुलर्भ कीर्तिमान राख्नु हो । त्यस्तो कीर्तिमान अहिलेसम्म जम्मा तीनजनाको नाममा मात्रै छ । ती भाग्यमानी ब्राजिलका मारियो जागालो, जर्मनीका फ्रान्ज बेकेनबावर र फ्रान्सका डिडिर डेस्चाम्पस हुन् । 

सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा डेस्चाम्पस टिम कप्तान थिए । त्यसको दुई वर्षपछि डेस्चाम्पसले फ्रान्सलाई युरो जित्न मद्दत गरे । अनि प्रशिक्षक बनेर डेस्चाम्पसले फ्रान्सलाई रुसमा सम्पन्न विश्वकप जिताए । अबको उनको लक्ष्य हो, युरो ।  


पछिल्लो समय फ्रान्सले एक सय एक खेलाडी उत्पादन गरेको छ । सिनियर टिममा मात्रै होइन उमेर समूहका टोलीमा पर्न समेत फ्रेन्च खेलाडीहरूबीच तिब्र प्रतिस्पर्धा छ । त्यसकारण पनि आउँदो जुन र जुलाईमा हुने युरो जित्न सक्ने टिमका रुपमा फ्रान्सलाई हेरिएको छ । जुन अस्वभाविक होइन । तर प्रशिक्षक डेस्चाम्पसले आफ्ना खेलाडीहरूलाई चेतावनी दिएका छन् । उनको भनाई छ, ‘युरोमा हुने प्रतिस्पर्धालाई सहजरुपमा लिन सकिदैँन ।’

विश्वकप २०१४ पछि युरोपियन फुटबलमा धेरै परिवर्तन भइसकेको डेस्चाम्पसको भनाइ छ । ‘हामीले विश्वकप जितेको दुई वर्ष भइसक्यो । यसबीचमा अन्य टिममा धेरै परिवर्तन भइसकेको छ । त्यसकारण प्रतिस्पर्धा फरक किसिमको हुनेछ । फेरि हामी प्रति फ्रेन्च फुटबल समर्थकको भरोसा पनि छ । त्यसैले युरो पक्कै पनि सजिलो हुने छैन,’ डेस्चाम्पसले एएफपीसँग कुरा गर्दै भनेका छन् ।  

त्यसो त युरोमा फ्रान्स सजिलो समूहमा छैन । समूह एफमा विश्वकप विजेता फ्रान्सले जर्मनी, पोर्चुगल र हंगेरीको सामना गर्नेछ । फ्रान्सले जर्मनीविरुद्द म्युनिखमा खेल्नेछ भने पोर्चुगल र हंगेरीसँग खेल्न बुडापेस्ट पुग्नेछ । लगातार युरो र विश्कप जित्ने पछिल्लो टिम स्पेन हो । स्पेनले सन् २००८ र २०१२ मा युरो जितेको थियो । त्यसको दुई वर्षपछि स्पेनले विश्वकपमाथि पनि कब्जा जमायो । अलिक अगाडि, पश्चिम जर्मनीले दुवै प्रतियेगिता जितेको थियो । पश्चिम जर्मनीले सन् १९७२ मा युरो उचालेको थियो भने १९७४ मा विश्वकप विजेता बनेको थियो । 

डेस्चाम्पस सन् २०१२ मा फ्रेन्च राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसअघि डेस्चाम्पसले मोनाको, युभेन्टस र मार्सेलाई प्रशिक्षण दिएका थिए । खेलाडीका रुपमा पनि कयौँ महत्वपूर्ण उपाधि जितेका डेस्चाम्पस प्रशिक्षकका रुपमा थप उपाधि जित्न चाहन्छन् । 
‘हामीले पछिल्ला वर्षहरूमा जे जती सफलता प्राप्त गरेका छौँ त्यो पक्कै पनि प्रशंसनिय छ । तर हामी यतिमै रोकिनु हुँदैन । थप प्रतियोगिता जित्ने मानसिकताका साथ अघि बढ्नुपर्छ,’ डेस्चाम्पसले भने । 

फ्रान्सले पहिलो खेललमा जुन १५ मा जर्मनीको सामना गर्नेछ । जर्मनी युरोपियन फुटबलको परम्पारिक शक्ति हो । त्यसकारण स्वभाविकरुपमा जर्मनीलाई युरोको सम्भावित विजेताको सूचीमा राखिएको छ । तर जर्मनी बलियो लयमा देखिएको छैन । गत नोभेम्बरमा जर्मनीले स्पेनसँग ६-० को लज्जासपद पराजय भोगेको थियो । त्यसअघि योकिम लोको टिम नर्थ म्यासिडोनिया जस्तो कमजोर टिमसँग पराजित भएको थियो । 

फ्रान्स भने पछिल्ला २८ खेलमध्ये तीनमा मात्रै पराजित भएको छ । पर्याप्त खेलाडी भएकाले फ्रान्सले मैत्रीपूर्ण खेलहरुमा फरक फरक टिम उर्तादै आएको छ । अनि फरक फरक शैलीको प्रयोग पनि गरिरहेको छ । विश्वकप जित्दा ४-४-२ को संरचनामा खेलेको फ्रान्सले पछिल्लो समय ४-२-३-१ तथा ४-३-३ को प्रयोग पपन गर्दै आएको छ । ‘विपक्षी अनुसारको रणनीति हुन्छ । फेरि धेरै भन्दा धेरै खेलाडीहरुलाई मौका दिनुपर्ने पनि छँदैछ । त्यसकारण पनि बीचबीचमा टिममा टेस्ट गरिएको हो,’ डेस्चाम्पसले भनेका छन् । 


Author

थप समाचार
x