खेलकुद

खेल शैली परिवर्तन गर्दा च्याम्पियन बनेको म्यानचेस्टर सिटी

इकागज |
बैशाख २९, २०७८ बुधवार १५:२५ बजे

काठमाडौँ: इंग्लिस फुटबलमा पहिलो श्रेणीको लिगलाई सन् १९९२ मा प्रिमियर लिगको नाम दिइयो । त्यही प्रिमियर लिग म्यानचेस्टर सिटीले पहिलो पटक २०११-१२ सिजनमा जित्यो । त्यसअघि सिटी दुई पटक इंग्लिस च्याम्पियन बनिसकेको थियो । सन् १९३० र १९६० को दशकमा । 

खाडीको आबुधाबीले सन् २००८ मा सिटीको स्वामित्व लियो । जसका कारण सिटीले प्रत्येक सिजन सरुवा बजारमा ठूलो खर्च गर्नसक्ने हैसियत बनायो । ब्राजिलका रोबिन्हो देखि अर्जेन्टिनाका कार्लोस टेभेजसम्मलाई क्लबमा भित्र्यायो । तर भनेजस्तो सफलता पाउन केही वर्ष लाग्यो । अन्ततः २०११-१२ सिजनमा सिटी इंग्लिस प्रिमियर लिग च्याम्पियन बन्यो । सिटीलाई लिग विजेता बनाउने प्रशिक्षक थिए, रोबर्टो मान्सिनी । 


मान्सिनी पछि म्यानुएल पेलेग्रिनीले २०१३-१४ मा सिटीलाई च्याम्पियन बनाए । तर त्यसपछिका तीन सिजन सिटीले लिग जित्‍न सकेन । पेप ग्वार्डिओलाको आगमनसँगै सिटी स्वभाविक लयमा फर्कियो । २०१७-१८ र २०१८-१९ मा लगातार लिग जित्यो । गत सिजन लिभरपुलसँग पछि परेको सिटी फेरि च्याम्पियन बनेको छ । मंगलबार राती म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग पराजय भोगेसँगै सिटी प्रिमियर लिग विजेता घोषित भयो । चार वर्षमा सिटीले जितेको यो तेस्रो लिग हो । 

यस सिजन सिटीको सुरुवात बलियो रहन सकेको थिएन । सुरुवाती १२ खेलमध्ये आधामा मात्रै विजयी बनेको थियो । त्यसैबीच ग्वार्डिओलाले बैठक डाके । उनका सहायकहरू जुआन्मा लिल्लो, रोडोल्फो बोरेल र मानुएल इस्टियार्टे मात्रै होइन फुटबल निर्देशक टिकी बेगिरिस्टेन पनि सहभागी भए । बैठकमा खेल शैली परिवर्तन गर्नेबारेमा छलफल गरियो । 

त्यसपछि सिटीले तीन सेन्ट्रल मिडफिल्डरको प्रयोग गर्न थाल्यो । निर्णय सही सावित भयो । सिटीले लगातार १३ लिग खेल जित्यो । च्याम्पियन्स लिगसहितका २८ खेलमा अपराजित रह्यो । र, तीन लिग खेलअगाबै लिग च्याम्पियन बन्यो । 

कोभिड-१९ ले प्रिमियर लिग रोक्नु अगाडि लिभरपुल बलियो थियो । लिग फर्केपछि सिटीले आफ्नो ध्यान एफए कप र च्याम्पियन्स लिगतर्फ केन्द्रित गर्‍यो । तर सिटी दुबै प्रतियोगितामा सफल हुन सकेन । आर्सनल र लियोनसँग ब्यहोरेको अप्रत्याशित हारले सिटी घरेलु कप र युरोपियन फुटबलबाट बाहिरियो ।  

अन्य क्लबले जस्तै सिटीले पनि नयाँ सिजनका लागि खासै तयारी गर्न पाएन । सुरुवाती दुई लिग खेलमा विजयी हुन सिटीले मेहनत गर्नु परेन । तेस्रो खेलमा भने सिटी लेस्टर सिटीसँग ५-२ ले पराजित भयो । जितमा लेस्टरले तीन पेनाल्टी पायो । त्यस हारले सिटीलाई दुई वटा सन्देश दियो । पहिलो, भिन्सेन्ट कम्पनीबिना सिटीको रक्षापंक्ति कमजोर छ । दोस्रो, सिटीलाई जेमी भार्डी जस्तै तिब्र गतिमा खेल्न सक्ने स्ट्राइकरको खाँचो छ । 

तर विस्तारै सिटी सम्हालिदै बलियो बन्दै गयो । त्यसमा रुबेन डायसको भूमिका महत्वपूर्ण रह्यो । जो बेनफिकाबाट सिटी पुगेका थिए । सुरुमा डायसलाई एमरिक लापोर्टेसँग खेलाउने योजना थियो । तर लापोर्टे घाइते बनेपछि डायस जोन स्टोन्सको ‘पार्टनर’ बने । दुई रक्षकको साझेदारीले सिटीलाई लिगमै कम गोल खाने टिम बनाएको छ । त्यसकै नतिजा हो, तीन खेल खेल्न बाँकी रहँदा सिटीले २६ गोल खाएको । 

डायसको रक्षात्मक कौशलको सर्वत्र प्रशंसा भएको छ । अनि उनको नेतृत्व गर्ने क्षमताको पनि । डेभिड सिल्भाले छाडेपछि सिटीमा ‘लिडरसिप’ को कमी भएको हो की भन्‍ने शंका थिए । तर डायसले आफूलाई भविष्यको कप्तानका रूपमा उभ्याएका छन् । उसो त फर्नानडिन्हो सिटीमा प्रभावकारी कप्तानका रुपमा देखा परेका छन् ।फर्नानडिन्होले आफू ‘भोकल क्याप्टेन’ रहेको पटक पटक प्रमाणित गरेका छन् ।

अपेक्षाकृत प्रदर्शन नहुँदा फर्नानडिन्होले टिम मिटिङ बोलाएका थिए । मैदानमै पनि उनले साथी खेलाडीहरूलाई निर्देशन दिइरहेको देखिन्छ । ‘मैले टिम मिटिङ बोलाएर ग्वार्डिओलाको सन्देश सुनाए । कप्तानको हैसियतले मैले आफ्ना साथी खेलाडीहरूसँग छलफल गरिरहनु पर्छ । हाम्रो प्रदर्शनमा सुधारको आवश्यकता थियो । हामीले मिटिङमा त्यही कुरा गर्‍यौ,’ फर्नानडिन्होले दी प्लेयर्स ट्रिब्युनसँगको अन्तर्वार्तामा भनेका छन् । 

युरोपियन क्लब फुटबलमा स्थापित भएकै कारण ग्वार्डिओलालाई सिटीमा प्रशिक्षक बनाइएको हो । हुन पनि उनले बार्सिलोना र बायर्न म्युनिखमा आफूलाई प्रमाणित गरेका थिए । सिटीमा उनले आफ्नो लयलाई निरन्तरता राखे । दोस्रो सिजनमै लिग जिते । यद्यपि यस पटकको सफलताको छुट्टै अर्थ छ । 

ग्वार्डिओलाले सिटीसँग गरेको पुरानो सम्झौँता आउँदो जुनमा सकिदैँ थियो । उनले सिटी बसाई लम्ब्याउँछन् वा लम्ब्याउँदैनन्, टुङ्गो थिएन । यसै पनि उनी सिटीमा अन्य क्लबमा भन्दा धेरै सिजन रहिसकेका थिए । अन्ततः उनले सिटीमा थप दुई वर्ष रहने निधो गरे । जसको सन्देश थियो, सिटीको टिमलाई उनी पुनः बलियो बनाउन चाहन्छन् ।  

कोभिड-१९ प्रोटोकलले इंग्लिस क्लबहरूलाई स्वभाविक रुपमा अफठ्यारोमा पार्‍यो । अभ्यास सेसन देखि मिटिङ गर्नसम्ममा नियम निश्‍चित मापदण्ड पालना गर्नुपर्ने अवस्था थियो । यद्यपि ग्वार्डिओलाको सिटीलाई पुनः निर्माण गर्ने लक्ष्य रोकिएन । स्पेन प्रशिक्षकले फेरान टोरेस, नाथन आके लगायतका खेलाडी खरिद गरे । जसले गर्दा सिटीको बेन्च बलियो बन्यो । त्यति मात्रै होइन, सिटीको खेल शैलीमा पनि परिवर्तन गरिएको छ । ग्वार्डिओलाले स्ट्राइकर नखेलाई कयौँ खेल जिते । ती खेलमा ‘फल्स नाइन’ को प्रयोग गरियो । सर्जियो अग्वेरोको चोट र ग्राब्रियल जिजसको सन्तोषजनक लय नभएपछि केभिन डे ब्रुएनाले सिटीको अग्रपंक्ति सम्हाले ।

फरक खेल शैलीले सिटीलाई जित त दिलाएकै छ, कयौँ खेलाडीको लयमा पनि सुधार आएको छ । रियाद माहरेज र बर्नादो सिल्भा जस्ता खेलाडीले गज्जबको खेल देखाइरहेका छन् । त्यस्तै, एल्काई गुन्डोगनले १२ लिग गोल गरेका छन् । २० वर्षीय फिल फोडनको प्रदर्शन पनि लोभलाग्दो छ । उनले जारी सिजनमा सात लिग गोल गरिसकेका छन् भने पाँच अस्सिट दर्ता गरेका छन् । उनै फोडनका कारण रहिम स्टर्लिङले सिटीको पहिलो एघारमा स्थान गुमाएका छन् । 

यी खेलाडीहरूको प्रदर्शनले सिटीले च्याम्पियन्स लिगको फाइनलमा पनि स्थान बनाएको छ । च्याम्पियन्स लिग उपाधि सिटीका लागि लिग भन्दा ठूलो उपलब्धी हुनेछ । किनभने सिटीले अहिलेसम्म च्याम्पियन्स लिग जित्‍न सकेको छैन । यद्यपि सिटीले प्रिमियर लिग उपाधिलाई सहजै प्राप्त गरेको सफलताका रूपमा लिएको छैन । ग्वार्डिओलाले पनि भनेकै छन् नी, ‘मेरा लागि यस पटकको लिग सर्वाधिक कठिन थियो ।’

अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा 


Author

थप समाचार
x