खेलकुद

ललितपुर सिटी एनएसलको दोस्रो क्‍वालिफायरमा

इकागज |
बैशाख २९, २०७८ बुधबार २१:१० बजे

काठमाडौँ : अञ्‍जन विष्टको निर्णायक गोलको मद्दतमा ललितपुर सिटीले राजधानीमा जारी नेपाल सुपर लिग (एनएसल)को दोस्रो क्‍वालिफायरमा स्थान बनाएको छ । त्रिपुरेश‍वरस्थित दशरथ रंगशालमा भएको खेलमा अञ‍जनले ६२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पराजित भएसँगै बुटवल लुम्बिनीको नेपाल सुपर लिगको यात्रा इलिमेनेटरमा समाप्त भएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा  दुवै टोली सुरुआतबाट नै आक्रमक देखिएका थिए । जितले मात्र अघिल्लो चरण प्रवेशको ढोका खुल्ने अवस्थामा दुवै टोली जितको खोजीमा मैदान उत्रिएका थिए । ललितपुरका लागि १२ औं मिनेटमा १५ यार्ड टाढाबाट डोना थापाले प्रहार गरेको बल गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो । त्यसको सात मिनेटपछि अनमार्क रहेका बुटवलका विलियम्सको प्रहार निकै फितलो भयो । 


२५ औं मिनेटमा डोनाको पासमा नुर्लान जाहिदले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । ३३ औं मिनेटमा ललितपुरका अन्जन विष्टले डिबक्स बाहिरबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले पुनः उत्कृष्ट बचाउ गरे । ४० औं मिनेटमा बुटवलका विलियमले वान भर्सेस वानमा गोल गर्न सकेनन ।

त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलमा बुटवल लुम्बिनी आक्रामक देखियो ।  बारम्बार प्रयास गरे पनि बलले पोस्टको दिशा लिन सकेन । काउन्टरकै प्रयास रहेको ललितपुरले ६२औं मिनेटमा अञ्‍जन विष्टको गोलबाट अग्रता पायो । अञ्‍जनले डाइभ हेडिङ मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । उक्त गोल नै टोलीलाई दोस्रो क्‍वालिफायरमा पुग्‍न पर्याप्त भयो । 

पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले दोस्रो क्‍वालिफयामा अब ललितपुरसँग खेल्नेछ । लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका थिए ।

खेलमा ललितपुर सिटीका गोलकिपर अपर्ण कार्की सुपर प्लेयर्स अफ दि म्याच चुनिए । कार्कीले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै इमर्जिङ प्लेयर्सको उपाधि ललितपुर सिटीका मिडफिल्डर मिक्चेन तामाङ चुनिएर नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

 


Author

थप समाचार
x