खेलकुद

काभा महिला भलिबलको तयारी पूरा, नेपालले कहिले कोसँग खेल्दैछ ?

इकागज |
जेठ २, २०८० मगलवार १३:३५ बजे

फाइल तस्बिर

काठमाडौं– जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक नेपाल भलिबल संघले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । प्रतियोगिता जेठ ८ गतेदेखि  १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । प्रतियोगितामा सहभागी हुने टोलीका लागि सबै व्यवस्थपन अन्तिम चरणमा पुगेको र सहभागी देशले नेपाल भ्रमण गर्ने तालिका पठाइसकेको संघको अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । 


आयोजक नेपालले उद्घाटन खेल कीर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ । नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् । कुल २० खेल हुने च्यालेन्ज कपको लागि १४ सदस्यीय नेपाल टोली घोषणा भइसकेको छ । घरेलु भूमिमा आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला टोलीको तयारी अन्तिम चरणमा पुगेको नेपाली टोलीका प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए ।

एक सातासम्म चल्ने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ । २ करोड ७१ लाख अनुमानित बजेट रहेको प्रतियोगिताका लागि आयोजकले विभिन्न समिति बनाएर तयारी गरेको बताइएको छ । प्रतियोगिता आयोजनालाई विभिन्न संस्थाले सहयोग रकम पनि प्रदान गरिरहेका छन् । नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एशियन जोन भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो ।


Author

थप समाचार
x