खेलकुद

एनएसएलमा धनगढीको रणनीति : जितका लागि ‘सिम्पल फुटबल’

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार ७:२७ बजे

काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल) सुरु हुनै लाग्दा सहभागी सबै क्लबको उस्तै गुनासो थियो, ‘तयारी समय पुगेन’ । हुन पनि प्राय क्लबले १० दिन भन्दा बढी तयारी गर्न पाएनन् । विदेशी खेलाडी ढिलो गरी आइपुगे । अनि कयौँ नेपाली खेलाडी घाइते थिए । त्यस्तोमा धनगढी एफसीले पनि करिब एक साता मात्रै अभ्यास गर्न पायो ।

दशरथ रंगशालमा बैशाख ११ बाट सुरु एनएसएलमा सबै क्लबले करिब उस्तै स्तरको टिम उतारे । नेपाली फुटबल विश्लेषकहरूको दाबी यस्तै रह्यो । पहिलो खेलमा काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसी भिडे । विजयी बन्यो काठमाडौँ ।


दोस्रो दिनको पहिलो खेलमा विराटनगर सिटी एफसी र धनगढी एफसी आमनेसामने भए । विराटनगरले धनगढीको पोस्टमा तीन गोल गर्‍यो । पाँच राष्ट्रिय खेलाडी सम्मिलत धनगढीले एक गोल पनि फर्काउन सकेन । पहिलो खेलमा पराजय भोगेपछि धनगढीका मुख्य प्रशिक्षक युगल किशोर राईको प्रतिक्रिया थियो, ‘गोल गर्न र रोक्न, दुवैमा चुक्यौँ ।’

दोस्रो खेलमा भने धनगढी विजयी बन्यो । पहिलो खेलमा चल्न नसकेका विदेशी खेलाडी ओलावाले अफिजले दुई गोल गरे । लिग चरणमा कुल तीन जित निकाल्दै धनगढी एनएसएलको क्वालिफायरमा पुग्यो । जहाँ प्रतिद्वन्द्वी थियो, काठमाडौँ । एनएसएलमा दोस्रो पटक सामना गर्दा धनगढीले काठमाडौँलाई फेरि पन्छायो । र, फाइनलमा स्थान पक्का गर्‍यो ।

पहिलो खेलमा तीन गोल खाएपछि धनगढीले बाँकी खेलमा आफ्नो रक्षापंक्ति सुधार्‍याे । लिग चरणका बाँकी पाँच खेलमा धनगढीले दुई गोल मात्रै खायो । विपक्षीकाे पाेस्‍टमा आठ गोल गर्‍यो । ‘च्याम्पियन बन्‍न गोल कम खानुपर्छ भन्‍ने सामान्य तथ्य छ । हामीले कम गोल खाने प्रयास गरेको हो । पहिलो खेलमा तीन गोल खाए पनि त्यसपछिका खेलमा हामीले सुधार गर्‍यौ । त्यही कारणले हामीले फाइनलमा स्थान बनाउन सकेको हो,’ धनगढीका प्रशिक्षक युगल किशोर राई भन्छन् । 

तयारीका लागि पर्याप्त समय नभएपछि एनएसएलमा अपेक्षाकृत सुरुवात गर्न नसकेको युगलको भनाई थियो । ‘वास्तवमा हामीलाई मात्रै होइन सबै टिमलाई गाह्रो थियो । खेलाडीले एक आपसलाई बुझ्‍न समय लाग्यो । केही खेलपछि भने टिम सेट भयो,’ युगलले भने । 

फुटबलमा सबै टिम र प्रशिक्षकको लक्ष्य हो, सुन्दर खेल शैली र अधिकतम अंक । तर सुन्दर फुटबल खेल्न त्यही अनुसारको रणनीति र शैली चयन गर्नुपर्छ । यो सामान्य तर महत्वपूर्ण नियम हो । रणनीति नै चयन गरे पनि सुन्दर खेल देखाउन सकिन्छ भन्‍ने ग्यारेन्टी हुँदैन । अनि सुन्दर फुटबल खेले पनि अधिकतम अंक बटुल्न सकिन्छ भन्‍ने छैन । यस्तोमा धनगढीको रणनीति के हो त ? 

‘साधारण शैलीमा खेल्ने, जित निकाल्ने र अधिकतम अंक बटुल्ने,’ युगलको जवाफ थियो, ‘सुन्दर फुटबल खेल्न त्यही अनुसारको रणनीति बनाउनु पर्छ । त्यस्तो रणनीति अनुसार खेल्न पर्याप्त अभ्यास गर्नुपर्‍यो । त्यसका लागि हामीसँग पर्याप्त समय भएन । त्यसकारण हामी साधारण शैलीमा खेलेर जित निकाल्ने प्रयासमा लाग्यौँ । त्यही रणनीतिले हामीलाई यहाँसम्म ल्याइपुर्‍यायो ।' 

युगल नाइजेरियन प्रशिक्षक फुजा तोपेसँग मिलेर धनगढीको टिम सम्हालिरहेका छन् । पहिलो एघार छनौट गर्ने देखि खेलाडी परिवर्तन गर्नेसम्ममा दुई प्रशिक्षक सल्लाह गर्छन् । युगल प्रशिक्षण करियरको सुरुवाती चरणमा छन् । त्यसकारण अनुभवी फुजासँग मिलेर काम गर्दा आफूले धेरै कुरा सिक्न पाएको उनको भनाई छ । 

‘प्रशिक्षणमा फुजाको गहिरो अनुभव छ । विभिन्‍न भारतीय क्लबलाई प्रशिक्षण दिएका छन् । उनीसँग खेलाडी र क्लब म्यानेजमेन्टसँग कसरी डिल गर्ने भन्‍ने विषयमा राम्रो अनुभव छ । जुन प्रशिक्षण करियरमा महत्वपूर्ण छ । यस्ता विषयमा म उनीबाट ज्ञान लिइरहेको छु,’ युगलले भने ।   

अब एनएसएलको उपाधि भिडन्तमा धनगढीले काठमाडौँको सामना गर्नेछ । दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई हराएपछि काठमाडौँ फाइनल प्रवेश गर्‍यो । एनएसएलमा धनगढी र काठमाडौँ तेस्रो पटक भिड्न लागेका हुन् । लिग चरण र पहिलो क्वालिफायर दुवै खेलमा धनगढीले काठमाडौँलाई पन्छाएको थियो । 

एनएसएल भरी नै धैर्यता नगुमाई खेलिरहेकाले काठमाडौँ बलियो विपक्षी भएको बताउँछन् युगल । ‘विराटनगरसँगै ललितपुर जारी एनएसएलमा सुन्दर फुटबल खेलिरहेको टिम हो । तर काठमाडौँले परिपक्व खेल देखाइरहेको छ । धैर्यतापूर्वक खेलिरहेको छ । त्यसकारण काठमाडौँसँगको खेल कठिन हुनेछ,’ युगलको भनाई थियो ।


Author

थप समाचार
x