खेलकुद

च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना सकिएको छैनः योर्गन क्लप

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १२:४३ बजे

काठमाडौँ: इंग्लिस प्रिमियर लिगमा बिहीबार राति लिभरपुलले म्यानचेस्टर युनाइडेमाथि ४–२ को जित दर्ता गर्‍यो । त्यो पनि युनाइटेडकै मैदानमा । लिभरपुलका चारै गोल फरवार्डले गरे । साडियो मानेलाई पहिलो एघारमा नराखिएको खेलमा राबर्टो फिरमिन्होले दुई गोल गरे भने डिएगो जोटा र मोहम्मद सलाहले समान एक गोल गरे । 
ओल्ड ट्राफोर्डमा लिभरपुलले सात वर्षयता जित हासिल गर्न सकेको थिएन । यसै जितसँगै लिभरपुलले ३५ खेलबाट ६० अंक बनाएर पाँचौँ स्थानमा छ । चौँथौँ स्थानको चेल्सी र लिभरपुलको दुरी चार अंकमा झरेको छ । चेल्सीले लिभरपुलको भन्दा एक खेल बढी खेलेको छ । 

युनाइटेडलाई पराजित गरेपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लप सन्तुष्ट देखिए । लिभरपुल जितको हकदार रहेको उनको भनाइ थियो । लिभरपुलले लिगमा अब तीन खेल खेल्न बाँकी छ । तीन खेलबाट अधिकतम अंक बटुले लिभरपुल च्याम्पियन्स लिगका लागि छनोट हुने क्लपको विश्वास ब्यक्त गरे । 


‘हामी शीर्ष चारमाको दौडमा छौँ । युनाइटेडविरुद्धको जितले हाम्रो मनोबल उच्च भएको छ । वास्तवमा हामीले राम्रो खेल देखाएको हो । फिरमिन्होको प्रदर्शन बलियो रह्यो,’ लिभरपुलको प्रशिक्षक बनेपछि ओल्ड ट्राफोर्डमा पहिलो पटक जित हासिल गरेपछि क्लपले भने । 

लिभरपुलले अब वेस्टब्रुम, बर्नली र क्रिस्टल प्यालेससँग खेल्न बाँकी छ । तीनै खेल कठिन हुने क्लपको भनाइ थियो । ‘हामी न्यूकासल र लिड्ससँग बराबरीमा रोकियौँ । त्यसकारण, अबका खेलहरुमा हामी चनाखो हुन जरुरी छ । दुई तीन वर्ष अगाडि सम्म च्याम्पियन्स लिगमा छनोट हुनु हाम्रो लागि ठूलो लक्ष्य हुन्थ्यो । अहिले शीर्ष चारमा पर्ने वा नपर्ने हाम्रै हातमा छ,’ क्लपले भने । 

 


Author

थप समाचार
x