खेलकुद

‘अन्तर्राष्ट्रिय पदक ल्याउनेलाई छैन, नल्याउने खेललाई बजेट’

सञ्जीव शाह |
जेठ १६, २०८० मंगलबार १८:२८ बजे

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि युवा तथा खेलकुद मन्त्रालयतर्फ छुट्याएको २ अर्ब ८७ करोड ५९ लाख बजेटमध्ये अधिकांश खेलकुदका लागि विनियोजन गरिएको छ । यो भनेको कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोडको ०.१६ प्रतिशतमात्र हो ।

खेलकुदका लागि छुट्याइएको बजेटमध्ये क्रिकेट खासगरी क्रिकेटका पूर्वाधारलाई बढी प्राथमिकतामा राखेको देखिन्छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, मुलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न गर्नेसँगै विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौँको सुवर्णशमसेर क्रिकेट रंगशाला निर्माण कार्यअघि बढाउनका लागि बजेट छुट्याइएको छ ।


त्यसबाहेक धनगढी, इटहरी, पोखरा र नेपालगंजको प्रदेश रंगशाला र कभर्डहल निर्माणका साथै साहसिक खेलकुद तथा अन्य खेलकुद पूर्वाधार निर्माण, १९ औँ एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई प्रशिक्षण दिन पनि बजेटको छुट्याइएको छ । तर ती शीर्षकमा छुट्याइएको बजेटको रकम भने बजेट भाषणमा तोकिएन ।

यति हुँदाहुँदै यसपटकको बजेट क्रिकेटलाई केन्द्रमा राखेर बनाइएको भन्दै अन्य खेलका पदाधिकारीहरू असन्तुष्ट देखिन्छन् । नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले क्रिकेटको पूर्वाधारलाई अधिकतम बजेट पारेपनि मार्सल आर्टस (खासगरी कराँते र तेक्वान्दो) का लागि बजेट नछुट्याइएकोमा असन्तुष्टि व्यक्त गरे ।

‘समाजले क्रिकेटबाहेक केही देखेको छैन तर क्रिकेटले अन्तर्राष्ट्रिय पदक जस्तै एसियन कपको उपाधि, विश्व स्तरका अन्य कुनै पदक जितेको रेकर्ड छैन । अहिले क्रिकेटको सिजन छ यही सिजनअनुसार क्रिकेटलाई केन्द्रित गरेर बजेट ल्याइएको छ । जनताको माहोल देखेर राज्य पनि क्रिकेटमै लागि राखेको छ,’ लामाले भने ।

तर उनले क्रिकेट पूर्वाधार बनाउनु राम्रै भएपनि नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय पदक ल्याउने कराँते र तेक्वान्दोजस्ता खेलका लागि बजेट चित्त बुझ्दो नरहेको बताए ।

‘यसका लागि पूर्वाधारसँगसँगै खेल आयोजना तथा प्रशिक्षणका लागि कम्तीमा ५-५ करोड छुट्याइनुपर्थ्यो । यसबारे केही बोलेको छैन । पदक आउने खेललाई बजेट छैन, पदक नआउने खेललाई बजेट छ,’ लामाले थपे ।

यता नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशीले पनि विगतका वर्षमा झै ०.१६ प्रतिशतमा मात्र बजेट आउनु तथा आकार नबढ्नु सकारात्मक नभएको बताए ।

उनले नेपाली खेलकुदको बजेट २ प्रतिशतसम्म छुट्याइनुपर्ने माग उठ्दै आएको तथा राजनीतिज्ञहरूमा खेलकुद हेर्ने दृष्टिकोणमा परिवर्तन आएको भए पनि बजेट नबढ्नु सकारात्मक नभएको उल्लेख गरे ।

‘अहिले प्रत्येक प्रतियोगिता तथा खेलमैदानमा राजनीतिज्ञहरू पुगिरहेका हुन्छन् । उनीहरूले खेलकुदको महत्व बुझेका छन् । टिमले समय समयमा जित्दा ठूलो रकमको पुरस्कार पनि पाइरहेका छन् । त्यो हिसाबले बजेट ०.१६ बाट बढ्छ कि भन्ने अपेक्षा थियो । त्यो चाहिँ भएन ।’

तर, राजवंशीले क्रिकेटमा नेपालले पछिल्लो समय गरेको प्रगतिअनुसार बजेट क्रिकेट केन्द्रित हुनु नकारात्मक नभएको बताए ।

‘पछिल्लो समय क्रिकेटले प्रगति गरिरहेको छ साथै नेताहरूमा क्रिकेटको क्रेज पनि छ । नेपालले आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ मा गरेको प्रदर्शन तथा एसिया कपका लागि छनोट भएपछि त्यसको प्रभाव बजेटमा परेको देखिन्छ,’ उनको भनाइ छ ।

तर क्रिकेटको स्टेडियम निर्माणका कुराहरू आइरहँदा त्यसमा छुट्याइएको बजेट फ्रिज हुन नहुने उनको तर्क छ । राजवंशीले बजेटले एसियन खेलकुद, १० औँ राष्ट्रिय खेलकुद तथा दक्षिण एसियाली खेलकुदलाई बजेटमै सम्बोधन गर्नु सकारात्मक कुरा पनि भएको बताए ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x