खेलकुद

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डका दुई विधाको मनोनयन सार्वजनिक

इकागज |
जेठ २०, २०८० शनिबार १९:५२ बजे

कैलाली- धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयनन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदूरपश्चिम आईकन पुरुष र सुदूरपश्चिम आईकन महिला विधाको मनोनयनन सार्वजनिक गरिएको हो । 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरूलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ । 


असार ८ गते धनगढीमा हुने चौथो संस्करणको एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयननमा परेका छन् । शाहीले ९ औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक जिताएका थिए । 

फेन्सिङमा सुदूरपश्चिमलाई उनले पहिलो पटक स्वर्ण पदक जिताएका हुन् । उनले नै पहिलो पटक फेन्सिङ सिकाएका खेलाडीहरूले पहिलो सहभागितामा सुदूरपश्चिमलाई दुई कास्य पदक समेत जिताएका थिए । 

त्यस्तै, आनन्दले पनि ९ औं राष्ट्रिय खेलकुदमा कराँते तर्फ ५० किलो तौल समूहमा स्वर्ण जितेका थिए । सुदूरपश्चिमलाई कराँतेमा स्वर्ण पदक दिलाउने उनी एक्ला खेलाडी हुन । उनले प्रशिक्षण दिएका दुई जना खेलाडीले राष्ट्रपति रनिङ सिल्डमा पनि दुई कास्य पदक जितेका थिए । कामीले भारतमा भएको ईण्डो नेपाल च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए । 

यसैगरी, जियारतले उमेर समूहमा नेपाली पुरुष टीममा सहभागिता जनाउँदै २० वर्ष मुनिको साफ च्याम्पियनसीपमा उपविजेता बनेको टोलीका सदस्य हुन् । उनले खुमलटार युवा क्लबलाई ए डिभिजनमा पुर्याउनका लागि पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । मनाङ मस्याङ्दी क्लबबाट व्यवसायिक ए डिभिजन लिग खेलिरहेका उनी गत वर्ष भएको यस्तै तिलोत्तमा गोल्डकपको उत्कृष्ट गोलरक्षक समेत भएका थिए । उनले एफसी यु २० छनोटमा नेपाली टीमको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । 

न्यु सिटी पोलिक्लिनिक सुदूरपश्चिम आईकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयननमा परेकी छिन् । 

मनिषाले ९ औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई कुस्तीमा ५३ किलो तौल समूहमा स्वर्ण पदक दिलाएकी थिइन । उनले एसियन छनोट प्रतियोगितामा पनि स्वर्ण हात पारेकी थिइन् । 

यस्तै, कविताले सुदूरपश्चिमलाई प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेकी थिइन् । यस्तै मेयर कप र नेपाली महिला क्रिकेट टीमबाट सहभागिता जनाउँदै खेल खेलेकी थिइन् । 

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।


Author

थप समाचार
x