खेलकुद

स्टार बन्‍न नसकेका स्तरीय खेलाडी डिएरा

इकागज |
जेठ २, २०७८ आइतवार ९:३४ बजे

काठमाडौँ : इंग्लिस फुटबलको घरेलु संरचना अनुसार लिग वान तेस्रो श्रेणीको लिग हो । पोर्टसमाउथ हाल त्यही लिगमा खेलिरहेको छ । दुई पटक इंग्लिस च्याम्पियन बनेको पोर्टसमाउथ २००९/१० सिजनसम्म प्रिमियर लिगमै थियो । च्याम्पियनसिपमा घटुवा हुनुअघि पोर्टसमाउथले एफए कप उचाल्यो । जुन त्यस क्लबले जितेको पछिल्लो महत्वपूर्ण उपाधि हो ।
 
एफए कप जित्दा पोर्टसमाउथमा केही नाम चलेका खेलाडी थिए । सोल काम्पबेल, नवान्को कानु र निको क्रान्जकार । काम्पबेल र कानु पोर्टसमाउथ पुग्‍नुअघि ठूला क्लबमा खेलिसकेका थिए । क्रान्जकार चाँहि पोर्टसमाउथबाट टोटनहम लागे । त्यही पोर्टसमाउथको टिममा लासना डिएरा पनि थिए । जो चेल्सी र आर्सनलमा मौका नपाएपछि पोर्टसमाउथ पुगेका थिए ।
 
इंग्लिस फुटबलमा घरेलु कप जित्नु बाहेक डिएराले स्पेनी लिग र फ्रेन्च लिग पनि जिते । त्यो पनि विश्‍व फुटबलमा ठूला मानिने क्लबबाट खेल्दै । यद्यपि उनी कहिले पनि स्टार बनेनन् । डिएराले चेल्सी, आर्सनल बाहेक रियल म्याड्रिड, मार्से र पेरिस सेन्ट जर्मेन (पएिसजी) को जर्सी लगाए । ती क्लबमा कयौँ सिजन खेले । तर पनि उनले आफूलाई नाम चलेको खेलाडीमा परणत गर्न सकेनन् । 

मिडफिल्डमा डिएरा मेहनती देखिन्थे । गज्जबको ट्याकल गर्थे । उनको ‘पासिङ भिजन’ मा शंका गर्ने ठाउँ थिएन । अनि अग्रपंत्तिका खेलाडीसँगको उनको साझेदारीले खेल पनि जिताउँथ्यो । डिफेन्सिभ मिडफिल्डमा मात्रै होइन उनलाई प्लेमेकर देखि एट्याकिङ मिडफिल्डरको भूमिका पनि दिइन्थ्यो । उनले फुलब्याक पनि बनेर खेले । तर उनले सबैभन्दा राम्रो खेल कुन पोजिसनबाट देखाए ? अथवा उनले आफ्नो क्षमता अनुसारको खेल देखाए ? यसको उत्तर सायदै पाइएला ।
 
फ्रान्सका क्लबहरू विश्‍वस्तरीय खेलाडी उत्पादन गर्नमा विख्यात छन् । त्यहीको ला हाभ्रेले उत्पादन गरेका केही खेलाडीहरूले युरोपियन फुटबलमा नाम बनाएका छन् । एनगोलो कान्टे र रियाद माहरेज सोही क्लबका उत्पादन हुन् । डिएराको यात्रा पनि ला हाभ्रोबाटै सुरु भएको थियो ।


डिएराले सानै उमेरमा ला हाभ्रेको सिनियर टिममा मौका पाए । उनको प्रतिभाबारेमा इंगल्यान्डमा समेत चर्चा भयो । डिएरा किशोरै थिए, जब चेल्सीले उनलाई खरिद गर्‍यो । सन् २००५ मा उनका लागि चेल्सीले १० लाख पाउण्ड तिरेको थियो । पहिलो वर्षमा डिएरा चेल्सीको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उमेर समूहका प्रतियोगितामा उनले नाम बनाए । तर सिनियर टिममा कहिले पनि बढुवा भएनन् । चेल्सी मिडफिल्डमा दोस्रो क्लाउडे माकलेले बन्‍ने उनको सपना पूरा भएन । 

सन् २००७ मा डिएरा आर्सनल पुगे । त्यहाँ उनको बसाई पाँच महिनामै सकियो । आर्सनलमा मिडफिल्डमा म्याथ्यु फ्लामिनी थिए । त्यसकारण डिएरा आर्सन वेङ्गरको नजरमा नपर्नु स्वभाविक थियो । उनले फेरि बसाइ सर्नु पर्‍यो । यसपटक उनको स्थान्तरण ठूलो क्लबतर्फ भएन । उनलाई खरिद गर्‍यो, पोर्टसमाउथले । जहाँ डिएराले बलियो सुरुवात गरे । पोर्टसमाउथलाई एफए कप जित्न मद्दत गरे । युइएफए कपमा गोल गरे । जुन पोर्टसमाउथकै इतिहासको पहिलो युरोपियन गोल थियो ।
 
पोर्टसमाउथमा देखाएको प्रदर्शनले डिएरा रियलसँग जोडिए । रियलमा माहामाडौँ डिएरा नाम गरेका खेलाडी थिए । त्यसकारण पोर्टसमाउथबाट गएका डिएराले आफ्नो जर्सी पछाडी लास मात्रै लेखाए । ला लिगामा सुरुवाती तीन सिजन डिएराले लगभग पहिलो रोजाइकै मिडफिल्डर बनेर खेले । रियलमा उनको प्रदर्शन शसक्त भएकै कारण डिएरा २०१० विश्‍वकपका लागि बनाइएको फ्रान्सको टिममा परे । तर विश्‍वकप सुरु हुनु अगाडि डिएरा बिरामी भए । र, दक्षिण अफ्रिका जान पाएनन् । 

डिएरा रियलमा साढे तीन वर्ष रहे । उनी रियलमा जत्तिको लामो समय अर्को क्लबमा बसेनन् । डिएराले स्पेनी राजधानीमा लिग र कोपा डेल रे जिते । जोसे मौउरिन्हो रियलको प्रशिक्षक बनेसँगै डिएराको स्पेन बसाइमा पूर्णबिराम लाग्यो । डिएराको विक्रीले रियललाई ब्राजिलियन स्टर काका खरिद गर्न सजिलो भयो । 

सन् २०१२ मा डिएराको यात्रा अन्जी माखाकालातर्फ सोझियो । त्यसबखत रुसी क्लबले ठूलो खर्च गरिरहेको थियो । नाम चलेका खेलाडीहरू खरिद गरिरहेको थियो । डिएरा पनि छनौटमा परे । तर आन्जी केही समयमै आर्थिक समस्यामा पर्‍यो । जसका कारण धेरै खेलाडी बेचिए । डिएराले पनि क्लब परिवर्तन गरे । उनी रुसकै अर्को क्लब लोकोमाटिभ मस्को गए ।

तर त्यहाँ पनि उनी धेरै समय रहेनन् । प्रशिक्षकसँगको मनमुटाबले डिएरा अभ्यासमै जान छाडे । लोकोमोटिभले फिफामा उजुरी गर्‍यो । विश्‍व फुटबल नियामक निकायले डिएरालाई १५ महिनाका लागि प्रतिबन्ध लगाइदियो । प्रतिबन्ध फुकुवा भएपछि डिएरा केही समय मार्से र अल जजिरासँग रहे । त्यसपछि उनी पीएसजीसँग आबद्व भए । 

डिएरा पेरिसमै जन्मेका थिए । त्यसकारण आफ्नै सहरको क्लबबाट खेल्न पाउँदा आफू दंग भएको डिएराको भनाइ थियो । तर उनको खुशी धेरै टिकेन । पीएसजीमा डिएराले १३ खेल मात्रै खेल्न पाए । अन्ततः डिएरा पीएसजीबाट रिलिज गरिए । पीएसजीसँगको यात्रा टुङ्गिएपछि डिएराले सन्यास लिने निधो गरे । पार्क डेस प्रिन्सेसमा लिग र दुई घरेलु कप जित्दै डिएराले ३३ वर्षको उमेरमा सन्यास लिएको घोषणा गरे । 

डिएरा स्तरिय खेलाडी थिए । तर उनको करियर लामो रहेन । यद्यपि ठूला क्लबबाट खेल्दै नाम चलेका लिग जिते । जुन सामान्यतय कुनै पनि खेलाडीका लागि सपना हुनेगर्छ । र, कतिका लागि पूरा हुन नसक्ने सपना । 
गोल डटकमको ‘दी फर्गटन म्यान’ सिरिजबाट 


Author

थप समाचार
x