खेलकुद

राष्ट्रपति चिनफिङले देखेको चिनियाँ फुटबल सपना

इकागज |
जेठ १५, २०७८ शनिबार ६:३७ बजे

काठमाडौँ : सि चिनफिङ चीनका शक्तिशाली राष्ट्रपति हुन् । उनको नेतृत्वमा चीनको आर्थिक र राजनीतिक हैसियतमा बढोत्तरी भएको तथ्य लुकेको छैन । यस्तोमा चिनफिङले एउटा फरक सपना पनि सँगालेका छन् । विश्व फुटबलमा चीनलाई बलियो शक्ति बनाउने ।

चिनफिङ आफैँ पनि फुटबल समर्थक हुन् । उनी आफ्नो मुलुकले विश्वकप आयोजना गरेको हेर्न चाहेका छन् । अनि उनी नेतृत्वको चिनियाँ सरकारले लक्ष्य पनि राखेको छ, सन् २०५० अगाडि नै विश्वकप जित्ने । चीनले यस किसिमको लक्ष्य सार्वजनिक गरेको करिब पाँच वर्ष भइसक्यो । 


विश्वकप जित्ने योजनका साथ अघि बढिरहेको चीनले त्यही अनुसारको तयारी पनि गरिरहेको छ । यसैबबीच चीनले शुक्रबार नयाँ घोषणा गरेको छ । चिनियाँ सरकारले प्रत्येक मुख्य शहरमा कमसेकम दुई व्यवसायिक क्लब र तालिम केन्द्र स्थापना गर्ने र आवश्यकिय पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ । 

विश्व फुटबलको शक्ति बन्ने लक्ष्य प्राप्त गर्न चीनले विदेशीहरुको अनुभवको अध्ययन गर्ने पनि बताएको छ । घरेलु फुटबलको नियमन र सुधारका लागि थप कदम चालिने पनि चीनको भनाइ छ । प्रत्येक १० हजार नागरिकका लागि एक फुटबल मैदान तयार गर्ने बताएको चिनियाँ खेलकुद नियामक निकायको भनाई छ । 

चिनियाँ घरेलु फुटबलमा पहिलो श्रेणीका लिग हो, चिनियाँ सुपर लिग (सीएसएल) । नाम चलेका विदेशी खेलाडीको उपस्थितिमा पनि सीएसएलको स्तरवृद्धि भएको छैन । सीएसएल भन्दा अझैँ पनि जापानी र दक्षिण कोरियन लिगलाई बलियो मानिन्छ । त्यसकारण चीनले सीएसएललाई आउँदो २०३० सम्म एसियाका उत्कृष्ट लिगहरूको सूचीमा उभ्याउने लक्ष्य राखेको छ । 

लक्ष्य र लगानीका बाबजुद पनि चिनियाँ फुटबल अपेक्षाकृत उचाईमा पुग्न सकेको छैन । चीनको राष्ट्रिय फुटबल टिम एक पटक मात्रै विश्वकपका लागि छनौट भएको छ । फिफा वरियतामा चीन ७७ औँ स्थानमा छ । जुन सन्तोषजनक स्थान होइन । चिनियाँ लिग पनि समस्यारहित छैन । गत वर्षको च्याम्पियन जियाङसु एफसी बन्द भयो भने दोस्रो र तेस्रो श्रेणीका कयौँ क्लबको लाइसेन्स खारेज गरियो । कतिपय विदेशी खेलाडीले चिनियाँ क्लबबाट तलब नपाएको गुनासो पनि गरेका छन् । 

यस विषयमा चिनियाँ फुटबल पछ्याउने क्यामरुन विल्सनको भनाई अर्थपूर्ण छ,‘चिनियाँ लक्ष्य र नीति कागजमा बलिया छन् । तर तीनले ग्राउन्ड लेभलमा रहेका समस्या समाधान गर्दैनन् । चीले फुटबलमा साँच्चैको प्रगति चाहेको हो भने, स्थानिय तहमा रहेका समस्या पहिचान गर्ने र तीनलाई समाधान गर्नतर्फ लाग्‍नुपर्छ । चीन र विश्व फुटबलमा बलिया मानिएका देशहरुको स्थानिय फुटबलमा ठूलो फरक छ ।’ (रोयटर्सको सहयोगमा)


Author

थप समाचार
x